५ असोज, काठमाडौं । शुक्रबार हमासले गाजामा रहेका बन्धकहरूको ‘बिदाइ सूची’सार्वजनिक गर्यो । यसक्रममा इजरायल र विश्वलाई हमासले विभिन्न सन्देश दिन खोजेको देखिन्छ।
अन्तर्राष्ट्रिय सञ्चार संस्थाहरूले हमासको यो कदमलाई ‘मनोवैज्ञानिक युद्धको एउटा महत्वपूर्ण हिस्सा’ भनेका छन् ।
बेपत्ता इजरायली विमान चालक रोन अरादलाई किन जोडियो ?
हमासले गाजामा रहेका बन्धकहरूको ‘बिदाई सूचि’सार्वजनिक गर्दा सन् १९८६ मा लेबनानमा हराएका इजरायली विमान चालक रोन अरादको नाम जोड्नुका पछाडि मनोवैज्ञानिक र राजनीतिक कारणहरू रहेका अन्तर्राष्ट्रिय सञ्चार संस्थाहरूले विश्लेषण गरेका छन् ।
यसलाई एउटा सांकेतिक चेतावनी र मानसिक दबाब बढाउने रणनीतिका रूपमा व्याख्या गरिएको छ ।
इजरायलमा हराएका वा दुश्मनको कब्जामा रहेका सैनिकलाई जसरी पनि फिर्ता ल्याउनुलाई ‘राष्ट्रिय कर्तव्य’मानिन्छ। रोन अरादको घटना इजरायलका लागि एउटा दुःखद र लामो समयदेखिको पीडादायी घाउ हो, किनभने उनको अवशेष कहिल्यै भेटिएन र उनको वास्तविक नियति अझै पनि अनिश्चित छ।
हमासले बन्धकहरूलाई ‘रोन अराद’को उपनाम दिएर इजरायली सरकारलाई यो राष्ट्रिय कर्तव्य पूरा गर्नमा असफल हुन सक्ने चेतावनी दिएको छ। यसले इजरायली सरकार र जनतामाथि गम्भीर मनोवैज्ञानिक दबाब सिर्जना गर्छ।
यदि इजरायलले आफ्नो सैन्य कारबाही रोकेन भने गाजामा रहेका बन्धकहरूको भविष्य पनि रोन अरादको जस्तै अन्धकार र अनिश्चित हुने चेतावनी हमासले दिएको हुनसक्छ ।
यसले बन्धकका परिवारहरूमा निराशा र डर फैलाएको छ र उनीहरूलाई सरकारविरुद्ध थप आक्रामक हुन प्रोत्साहित गर्छ। इजरायलयमा सरकारविरुद्ध प्रदर्शनको तयारी भइरहेको पृष्ठभूमिमा हमासले उक्त कदम चालेको हो ।
इजरायलभित्रै युद्ध रोक्न र वार्ताबाट बन्दीहरूको जीवन जोगाउन चौतर्फी दबाब बढिरहेको छ ।
हमासले प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र सैन्य प्रमुखहरूलाई लक्षित गर्दै उनीहरूको जिद्दी र सैन्य कारबाहीका कारण बन्धकहरूको जीवन जोखिममा परेको आरोप लगाएको छ। रोन अरादको नाम प्रयोग गरेर हमासले नेतान्याहूको सरकारलाई पनि अरादको घटनामा जस्तै आफ्ना नागरिकलाई गुमाउने असफलताको बाटोमा रहेको देखाउन खोजेको छ। यसमा युद्ध अन्त्य गरी बन्धकहरूलाई फिर्ता ल्याउनुपर्ने दबाब बढाउने हमास रणनीति लुकेको छैन ।
हमासको यो कदमले रोन अरादको ऐतिहासिक संवेदनशीलतालाई प्रयोग गरेर इजरायलमा मात्र नभई विश्वभरका मानिसहरूमा समेत गाजामा रहेका बन्धकहरूको अवस्थाप्रति चिन्ता बढाएको छ र अन्तर्राष्ट्रिय ध्यानाकर्षण गराएको छ ।
हमासको यो रणनीतिले इजरायली सरकार, जनता र बन्धकका परिवारहरूलाई एकै पटक लक्षित गरेको छ । हमासले इजरायलको सबैभन्दा संवेदनशील राष्ट्रिय घाउमा नुन छर्कने प्रयास गरेको देखिन्छ।
यसको मुख्य लक्ष्य भनेको गाजामा जारी सैन्य कारबाहीलाई रोक्न र बन्धकहरूलाई मुक्त गर्ने सम्झौताका लागि इजरायललाई झुकाउनु हो।
हमासले ‘बिदाई सूचि’ जारी गर्नुको मुख्य उद्देश्य इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको सरकारमाथि दबाब सिर्जना गर्नु पनि हो। यसले बन्धकहरूलाई बचाउनका लागि कुनै पनि मूल्यमा सम्झौता गर्न तयार नभएको इजरायली सरकारको अडानलाई चुनौती दिएको छ ।
यो सूची सार्वजनिक गरेर हमासले बन्धकहरूको जीवनको जिम्मेवारी इजरायली सरकारको सैन्य कारबाहीमा निर्भर रहेको र उनीहरूको जीवन खतरामा रहेको सन्देश दिन खोजेको छ। यसले इजरायली जनता र बन्धकका परिवारहरूलाई सरकारविरुद्ध प्रदर्शन गर्न थप उक्साएको छ।
इजरायलमै हजारौं मानिसहरू बन्दीहरूको जीवन रक्षा गर्न युद्ध रोकेर वार्तामा बस्न सरकारलाई दबाब सिर्जना गर्दै प्रदर्शनमा उत्रिएका छन् ।
यो ‘बिदाई सूचि’ ले इजरायलको निरन्तरको हवाई तथा स्थल आक्रमणले गाजामा ठूलो मानवीय क्षति गरिरहेको र यसले बन्धकहरूको जीवनमा समेत खतरा उत्पन्न गरेको सन्देश दिन खोजेको छ। इजरायलको कारबाहीले बन्धकहरूलाई नै पनि मारिरहेको हमासको दाबीले अन्तर्राष्ट्रिय समुदायको ध्यान तान्न खोजेको छ ।
अझै अनिश्चित विपिन जोशीको अवस्था
यस सूचीमा नेपाली नागरिक विपिन जोशीको तस्वीर पनि समावेश गरेर हमासले उनको जीवन पनि गाजामा जारी युद्धका कारण जोखिममा रहेको सन्देश दिन खोजेको छ।
यसले नेपाल सरकार र अन्तर्राष्ट्रिय समुदायलाई पनि उनको अवस्थाबारे चिन्ता व्यक्त गर्न र हमास तथा इजरायल दुवैमाथि दबाब बढाउन प्रेरित गर्न सक्छ।
लामो समयदेखि विपिनको अवस्था सार्वजनिक गर्न नेपालले बढाइरहेको दबाबले भने अझै काम गर्न सकेको छैन ।
गाजामा इजरायलले सैन्य कारबाही आक्रामक बनाइरहेको बेला हमासको यो कदमले विपिनको जीवन थप जोखिममा परेको छ ।
हमासले बन्दीहरूलाई गाजाको विभिन्न भागमा छिरलेर राखेको बताउँदै आएको छ ।
इजरायली सेनाले शनिबार पनि गाजा सिटीमा शक्तिशाली हमलाहरूलाई निरन्तरता दिएको छ । उक्त हमलामा परी एकैदिन कम्तीमा ९१ जनाको ज्यान गएको हमास सञ्चालित अस्पतालले जनाएको छ ।
अल जजिराका अनुसार, इजरायली सेनाले गत दुई सातामा गाजा सिटी क्षेत्रका करिब २० वटा टावर ब्लक भत्काएको अनुमान गरिएको छ।
गाजा सिभिल डिफेन्सका अनुसार करिब ४.५ लाख मानिस, अर्थात् शहरी केन्द्रको करिब आधा जनसंख्या यसबीचमा त्यहाँबाट पलायन भइसकेका छन् ।
शनिबार संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले पनि इजरायलको धम्कीबाट विश्व समुदायलाई नआत्तिन आग्रह गरेका छन् ।
संयुक्त राष्ट्र मुख्यालयमा आयोजित एक अन्तर्वार्तामा महासचिव गुटेरेसले पछिल्लो समय इजरायलले कब्जा गरिरहेको प्यालेस्टाइनको पश्चिमी किनारको विषयमा गम्भीर चिन्ता व्यक्त गर्दै उनले भने, ‘यो क्षेत्रको विस्तार अवैध हो र त्यसविरुद्ध अन्तर्राष्ट्रिय स्तरमा स्पष्ट आवाज उठ्नुपर्छ ।’
उनले थपे, ‘हामीले इजरायलको सम्भावित प्रतिशोधको डर मानेर चुप लाग्नु हुँदैन । यस्ता कार्यहरू रोक्न अन्तर्राष्ट्रिय दबाब आवश्यक छ ।’
गुटेरेसले गाजा क्षेत्रमा भइरहेको मानवीय सङ्कटबारे समेत गहिरो चिन्ता व्यक्त गरेका छन् । उनका अनुसार, गाजामा हाल देखिएको मृत्यु, भोकमरी, औषधिको अभाव र आश्रयको अभाव अत्यन्तै दुःखद र असह्य छ ।
‘यो मेरो महासचिवको कार्यकालमा मात्र होइन, जीवनभर देखिएको सबैभन्दा भयावह मानवीय अवस्था हो,’ उनले भने ।
गाजामा मानवीय संकट चुलिएको बेला त्यहाँ रहेका बन्दीहरू पनि असुरक्षित रहेकोमा सर्वत्र चिन्ता व्यक्त गरिएको छ ।
प्रतिक्रिया 4