
१ भदौ, काठमाडौं । प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा आक्रमण गरी नियन्त्रणमा लिएर बेपत्ता बनाएका कञ्चनपुरका विपिन जोशी रिहाइका लागि नेपाली समुदायले शनिबार साँझ तेलअभिभमा प्रदर्शन गरेका छन् । आमा पद्मा र बहिनी पुष्पा पनि रिहाइका लागि दबाब दिन उक्त प्रदर्शनमा सहभागी भएका थिए ।
इजरायलमा रहेका नेपालीहरू झण्डासहित त्यहाँ पुगेका थिए । त्यस क्रममा विपिनकी बहिनी पुष्पा र आमा पद्मा प्लेकार्डसहित सहभागी भएका थिए ।
इजरायली अधिकारकारकर्मी र मानवअधिकारकर्मीसमेत रहेको प्रदर्शनमा विपिनकी बहिनी पुष्पाले रुँदै सम्बोधन गरेकी थिइन् । उनले भनिन्, ‘दादा आई मिस यू सो मच । म तेरो न्यानो अँगालो, आवाज सबैलाई धेरै मिस गर्छु ।’
उनले आफ्नो दाजु पढ्नका लागि आएको र कसैसँग दुस्मनी नरहेको बताएकी थिइन् । दाजुको अवस्थाका कारण बुवाआमासहित आफ्नो परिवार विक्षिप्त बनेको उनले उल्लेख गरिन् ।
विपिन जोशीको रिहाइका लागि पहल गर्ने नेपालीहरूमध्येकी एक सुनिता गुरुङले अहिलेसम्म जोशीको अवस्था अज्ञात रहेको र रिहाइको लागि दबाब दिन नेपालीहरूले आवाज उठाइरहेको सामाजिक सञ्जालमा पोस्ट गरेकी छन् । उनले धेरै टाढाबाट नेपालीहरू विपिनको रिहाइका लागि तेलअभिभ आएको उल्लेख गरेकी छन् ।
विपिनको रिहाइका लागि अन्तर्राष्ट्रियस्तरमा दबाब बढाउन संयुक्त राष्ट्रसंघसम्म लैजाने गरी इजरायल सरकारले बोलाएपछि आमा र बहिनी गत सोमबार त्यसतर्फ प्रस्थान गरेका थिए ।
उनीहरूलाई गत साता इजरायलको तेलअभिभस्थित वेनगुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा इजरायली विदेश मन्त्रालयका अधिकारी, इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित, नेपालका लागि पूर्वराजदूत हानन गोदार लगायतले स्वागत गरेका थिए ।
त्यहाँ अन्तर्राष्ट्रिय सञ्चार माध्यमका पत्रकारहरूलाई प्रतिक्रिया दिँदै विपिनकी आमा पद्माले आफूहरू विपिनलाई लिन आएको भन्दै सहयोगको अपिल गरेकी थिइन् ।
विपिनकी आमाले इजरायल पुग्ने बित्तिकै भनेकी थिइन्, ‘म मेरो छोरो विपिनलाई लिन आएकी हुँ । मेरो छोरालाई मुक्त गराएर हामीसँगै घर पठाइदिनुस्, सबैमा विनम्र अनुरोध छ ।’
कञ्चनपुरको भीमदत्त नगरपालिका-३ भासी घर भएका विपिन जोशी कृषि विषयमा ‘पढ्दै कमाउँदै कार्यक्रम’का लागि इजरायल गएका थिए । हमासले ७ अक्टोबर २०२३ मा इजरायलको किबुजमा आक्रमण गरेदेखि विपिन सम्पर्कमा छैनन् ।
सोही घटनामा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने हमास लडाकुले विपिनसहित २५१ जनालाई बन्धक बनाएका थिए । युद्धविरामको क्रममा कतिपयलाई हमासले मुक्त गरे पनि विपिन मुक्त भएका छैनन् । नेपाल सरकारले विपिनको रिहाइका लागि कूटनीतिक पहल बढाए पनि अवस्था अज्ञात नै छ ।
प्रतिक्रिया 4