Comments Add Comment

चितवनका चेपाङलाई जस्तापाता वितरण

११ साउन, सौराहा । चितवनको सौराहास्थित सपना भिलेजले सिद्धि गाविस ८ का भूकम्प पीडित चेपाङ समुदायलाई घर बनाउन जस्तापाता वितरण गरेको छ । पाईमाराङ र नान्दरका १६ घर परिवारलाई प्रतिपरिवार १८ वटाको दरले १० फुटे जस्तापाता वितरण गरिएको हो ।

Sapana-Village-help

‘भूकम्पले घर पूर्णरुपमा क्षति भएका चेपाङ परिवारलाई गाविस र जिल्ला दैवी प्रकोप उद्धार समितिको सिफारिसका आधारमा जस्तापाता वितरण गरेका हौं,’ सपना भिलेजका अध्यक्ष ध्रुव गिरीले भने, ‘भूकम्प आएदेखि नै राहत र पुनर्निर्माणको काम जारी राखेका छौं ।’

जस्तापाता पाएपछि चेपाङ समुदाय खुसी छन् । ‘सरकारले दिएको १५ हजारले जस्ता किन्ने कि काठ किन्ने चिन्ता थियो,’ ४० बर्षीया रिममाया चेपाङले भनिन्, ‘सपना भिलेजबाट जस्ता पाइयो अब काठ किनेर सुरक्षित घर बनाइन्छ ।’

चेपाङ समुदायको उत्थानका लागि ५ बर्षे कार्ययोजनाका साथ काम गर्दै आएको सपना भिलेजका म्यानेजर सुजन बस्नेतले बताए ।

सपना भिलेजले गरेको सहयोग यो तेस्रो चरणको हो । यसअघि पहिलो र दोस्रो चरणका काम सम्पन्न भैसकेका छन् ।

सिद्धि गाविसमा शिक्षा, स्वास्थ्य, आयआर्जन एवम् सामाजिक रुपान्तरणको काम गर्दै आएको सपना भिलेजले जिल्ला दैवी प्रकोप उद्धार समितिकै सिफारिसमा चण्डिभन्जाङका ४ घरपरिवारलाई समेत जस्तापाता वितरणको योजना बनाएको छ ।

– राजेन्द्र आचार्यबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment