Comments Add Comment

ब्रह्माण्डको अध्ययन टोलीमा नेपाली युवा छानिए

विनोद घिमिरे

२१ साउन, काठमाडौं । ब्रह्माण्डको उत्पत्तिबारे अध्ययन गर्ने बैज्ञानिकहरुको टोलीमा नेपाली युवा किरण अधिकारी पनि छनोट भएका छन् । ब्रह्माण्डको अध्ययन गर्न उनी शनिबार अमेरिका उड्दैछन् ।

Kiran-Adhikariअमेरिकाको अनुसन्धान केन्द्र नेश्नल एक्सलेरेटर ल्याब्रोटरीले अधिकारीलाई अमेरिका बोलाएको हो । त्यहाँ अमेरिकी र युरोपियन देशहरुका वैज्ञानिकहरुसँग बसेर अधिकारीले ब्रह्माण्डको अध्ययन अनुसन्धान गर्नेछन् ।

काभ्रेको बिर्ता देउराली गाविस ९ स्थायी घर भएका अधिकारी हाल २६ वर्षका छन् । उनी भौतिक विज्ञानका विद्यार्थी हुन् । उनी गोल्डेनगेट कलेजमा अध्ययनरत छन् ।

अधिकारीले अनलाइनखबरसँग भने, ‘मैले अमेरिका पुगेर ब्रह्माण्डको उत्पत्तिबारे बरिष्ठ बैज्ञानिकहरुसँग बसेर अध्ययन गर्ने अवसर पाउनु पूरै नेपालीका लागि गर्वको विषय हो । यति ठूलो अवसर पाएकोमा एकदमै उत्साहित र खुसी छु ।’

किरणले यसअघि जर्मन सरकारको राष्ट्रिय अनुसन्धान केन्द्रमा बसेर भूउपग्रह प्रविधि सम्वन्धी काम गरेका थिए । त्यहाँ उनी उत्कृष्ट पाँच युवा वैज्ञानिकको सूचीमा परेका थिए । त्यसपछि उनलाई स्वीटजरल्याण्डस्थित विश्वकै ठूलो र उत्कृष्ट रिसर्च सेन्टर ‘सेन्टर फर यूरोपियन न्यूक्लीयर रिसर्च’ (सीईआरएन)मा बसेर अध्ययन गर्ने अवसर मिलेको थियो । सन् २०१२ मा सीईआरएनले विश्वभरका ६० जना अनुसन्धानकर्ताहरु छनोट गर्दा अधिकारी पनि परेका थिए ।

सीईआरएनले अहिले अमेरिकाको नेश्नल एक्सलेरेटर ल्याब्रोटरीलाई सिफारिस गरेपछि आफूलाई अमेरिका बोलाइएको अधिकारीले जानकारी दिए । उनलाई अमेरिकाको पाँच बर्षको भिसा लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment