Comments Add Comment

कथा : आदर्श नायक !

ऊ गाउँको एउटा आदर्श नायक थियो । उसका कुराहरूलाई गाउँलेले अकाट्य तर्कको रूपमा प्रस्तुत गर्दथे र उसँग नजिक हुने सौभाग्य प्राप्त गर्न कतिपय मानिसहरूको ठूलो आकाङ्क्षा रहन्थ्यो । उसको व्यवहार र क्रियाकलापलाई नक्कल गर्ने प्रवृत्ति एकदमै बढेर गएको थियो । ऊ अत्यधिक लोकप्रिय हुनाको साथै एउटा नेतामा हुनुपर्ने वर्तमान समय सुहाउँदो गुणहरू पनि प्रशस्त मात्रामा फेला पार्न सकिन्थ्यो । यी सब कारणहरूले गर्दा नै ऊ एउटा आदर्श नायक भएको थियो र यसमा ऊ गौरवान्वित थियो पनि ।

एकदिन एकाबिहानै ऊ गाउँको चोकमा आयो । अनायासै भएको उसको प्रवेशले त्यहाँ उपस्थित मान्छेहरूमाझ चलिरहेको प्रसङ्गको अन्त्य मात्र भएन बरु उसलाई देख्नासाथ उसको चर्चाले आफ्नै प्रकारको ठाउँ बनाइसकेको थियो । यो कुनै अस्वाभाविक कुरा थिएन त्यो त गाउँको प्रकृतिसँग पूर्णरूपमा मेल खान्थ्यो । हातहरू सहज रूपमा उठे नमस्कारका निम्ति, उसले पनि हार्दिक रूपमा अभिवादन गर्‍यो । त्यस चोकमा उपस्थित मान्छेहरूको समूहभित्रबाट एउटा प्रष्ट स्वरले वातावरणलाई केही खुकुलो पार्‍यो ।

‘ए, तपाई ! हामीलाई खबर गर्नुभएको भए हुन्थ्यो नि ! हामी आइहाल्थ्यौं, किन कष्ट गर्नुभएको ?’

उसले देख्यो, आफ्नो त्यस भक्तको मुखमा सलबलाएको मुस्कानको रेखाले मानौं निकास पाएको थियो । केही समयको मौनतापछि उसले चारैतिर आँखा नचायो र हठात् ऊ आफ्नो मूल कुरा सुनायो ।

‘मैले विवाह गर्ने निश्चय गरें ।’

कुनै शान्त तलाउमा ढुंगा खस्दा तरङ्ग उठेझैं गाउँको त्यो व्यस्त चोकमा पनि हलचल शुरु भयो । सब आश्चर्यचकित थिए । कोही यो कुरालाई पत्याउन तयार थिएनन् । यस्तो महसुुस भयो कि मानौं उसको विवाह गर्ने कुरा बिजुलीको शक्तिशाली झट्का हो । उसले फेरि त्यही कुरा दोहोर्‍यायो ।

‘मैले विवाह गर्ने निश्चय गरें ।’

आँखा ठूल्ठूला भएको कालो वर्णको एउटा मान्छे अघि सरेर भन्यो, ‘तपाई त विवाह कहिल्यै नगर्ने भनेर बस्नुभएको थियो । त्यस्तो के कुराले यहाँलाई विवाह गर्न प्रेरित गर्‍यो ? समाजप्रतिको समर्पणमा त्यस्तो केही विशेष व्यवधान पो आइलाग्यो कि ?’

उसले आफ्नो पहिलाको निर्णयलाई काट्दै बौद्धिक मन्तव्य दियो, ‘मेरो विवाह नगर्ने निर्णय समाज सापेक्ष थिएन । विवाह गरेर झन् समाजप्रति बढी समर्पित हुन सकिन्छ भन्ने मलाई लाग्छ । समयको मागअनुसार विवाह गर्नु झन् ठूलो प्रगतिशीलता हो ।’

यो अकाट्य तर्कजस्तै थियो । कसैले पनि उसको कुरालाई काट्ने हिम्मत गरेनन् । बरु सहमतिमा केही मुख खोल्दै थियो, ‘विवाह गर्नु उहाँको अधिकार हो तर विवाह उहाँको पृथक व्यक्तित्व र समाजलाई प्रभावित पारेको अलग अस्तित्व अनुरूप कै हुनपर्दछ ।’

ऊ पढेलेखेको थियो । राजनीतिमा उसको रुचि थियो तर एकदमै सक्रिय भएर ऊ कहिल्यै पनि हिंडेन । कला साहित्यप्रतिको उसको लगावको कारणले नै समाजमा उसलाई चर्चाको शिखरमा पुर्‍याएको थियो । विशेष गरेर कला साहित्यमार्फत नै ऊ बौद्धिक व्यक्तिमा रातारात रूपान्तररित भएको थियो । उसले बेलाबेलामा गर्ने संवाद र परिचर्चाको कारणबाट उभित्र घमण्डले पनि छलाङ मार्ने गर्दथ्यो ।

उसले सार्वजनिक रूपमै भनेको थियो– नोकरी नगरेका र नपाएकाहरूलाई ऊ मान्छेको श्रेणीमा राख्न रुचाउँदैन । एउटा कुरामा भने एकदमै अचम्म लाग्छ कि उसँग न विशिष्ट प्रकारको व्यक्तित्व थियो न त समाजमा उसको कुनै योगदान नै थियो । र पनि समाज उबाट अत्यन्तै प्रभावित थियो । समाजले उसलाई आदर्श नायकभन्दा तल हेर्न नै जान्दैनथ्यो ।

उसलाई पहिला बारम्बार केटी दिन नआएका होइनन् तर उसले कहिल्यै विवाह गर्न मानेन । विवाह गर्ने उमेर भने क्रमशः भाग्दै थियो । कुनै उद्देश्यका निम्ति भनेर उसले आफ्नो जीवनलाई आफ्नै प्रकारको यात्रामा ढाल्दै गयो । उसले आपूmलाई चर्चित व्यक्तित्वहरूसँग तुलना गथ्र्याे र विवाह नगर्ने सङ्कल्पमा दोहोराई रहन्थ्यो । कहिले लता मङ्गेशकर र वाजपेयीलाई अगाडि सारेर विवाह गरेर के हुन्छ भन्थ्यो भने कहिले पारिजात र कृष्णप्रसाद भट्टराईको उदाहरण दिएर विवाह नगरेर पनि ठूलो मान्छे भइन्छ भन्थ्यो ।

परिवारका सदस्यहरूको सधंै एउटै चाहना हुन्थ्यो कि उसले विवाह गरोस्, घर बसाओस् तर ऊ आफ्नो मर्जीको मालिक थियो । परिवार केही सीप नलागेर सम्पूर्ण कुरा उसमा नै छोड्न बाध्य भएको थियो ।

परिवारका सदस्यले विवाहको कुरा उसमा छोडे पनि अप्रत्यक्ष रूपबाट उनीहरू सक्रिय थिएनन् भन्न सक्ने आधार भने थिएन । उसलाई केही थाहा नै नदिइकन उनीहरू नातागोता, इष्टमित्रकहाँ पुग्दथे र उसलाई मनाउन हरप्रकारका बिन्ती गर्दथे तर सब प्रयत्न निष्फल हुन्थ्यो । उसले इष्टमित्रहरूसँग यो कुरालाई लिएर कहिल्यै पनि भेट्न रुचाएन ।

हुन त उसलाई विवाहको रमाइलोमा हराउन मन नलागेको भने होइन । विवाहको लगत्तै आउने सुहागरातको सम्झनाले मात्र पनि उसका कतिपय रातहरू बिनानिद्रा समाप्त भएर गएका थिए । उसलाई कुनै पश्चाताप थिएन यी खेर गएका रातहरूदेखि । बरु कुनै मीठो स्पर्शले प्रायः मध्यरातमा स्पर्शित भैरहन्थ्यो ।

ऊ वैंशको नजानिंदो काउकुतीसँगै र देख्दैगरेका सपनाहरू बीच विवाहको रोमाञ्चक स्थितिभित्र पाउँथ्यो आफूलाई । तर सैद्धान्तिक आलोकमा आपूmभित्र जमेर रहेको व्यक्तित्व मइनझैं पग्लदैं गएको देखेपछि विवाह नगर्ने विचारसँग नजिकको सम्बन्ध फेरि स्थापित भने गरिहाल्दथ्यो ।

एकदिन ऊ घरभन्दा धेरै पर पुग्यो । मनोरम वातावरणमा मङ्सिरको धान मस्त झुलिरहेका थिए । ढकमक्क पूलहरूको सुगन्धमा कुनै अज्ञात उज्यालोको आँगनमा प्रवेश गरेजस्तै ऊ आपूm मदहोश भएर नाच्न थाल्यो । चिसो हावाको झोंकाले प्रकृतिका हातहरू निरन्तर हल्लाइरहेको थियो । यी सबै कारणहरू उसलाई नयाँ अनुभूतिभित्र आरोहण गर्न पर्याप्त नै थिए । सफा मौसम र शान्त परिवेशको आनन्दमा जीवनमा पहिलोपल्ट उसले विवाह गर्ने कुरालाई गम्भीर रूपमा लियो । उसले तत्कालै सम्झियो कुनै अज्ञात मायालुको न्यानो अँगालोलाई र तातो स्पर्शलाई । उसलाई कताकता लाज पनि लाग्न थाल्यो आफूदेखि नै । सायद ऊ तन्द्रामा थियो, उसले आपूmभित्र मुर्झाएको वैंशालु नायकलाई प्रयोगस्वरूप सक्रिय पार्नुपर्छ भन्ने ठान्यो र ऊ जीवनमा पहिलोपल्ट विवाह गर्ने निश्चयमा पुग्यो ।

‘मैले विवाह गर्ने निश्चय गरें ।’

आँगनमा उसका पाइला पुग्दानपुग्दै निश्चयात्मक अभिव्यक्तिले घरभित्र आफ्नो प्रतिध्वनि छरिसकेको थियो । परिवारका सदस्यहरूले एक अर्कालाई एक अर्काले हेर्ने प्रक्रियाको आरम्भ हुन थाल्यो । सबै आश्चर्यचकित थिए उसको विवाह गर्ने कुराले । विवाह गर्ने कुरालाई कसैले पनि पत्याइरहेका थिएनन् । यो कुरा कसरी सम्भव भयो, सबैसँग प्रश्न मात्र थियो ।

वास्तवमा परिवारका सबै सदस्य रमाए, खुशी भए । तुरुन्तै एउटा पारिवारिक भोजको आयोजना गरियो । उसको विवाह र भोजको कुरा नातागोताभन्दा बाहिर भने जान पाएन । यस्तो किसिमको निर्णय घरका वरिष्ठ सदस्यहरूबाट भएको थियो । भोजकै क्रममा उसको अङ्कलले विवाहको प्रकृतिबारे चासो राखे जुन कुरा स्वभाविक नै थियो ।

‘विवाह त हुने भयो । तर कस्तो प्रकारले विवाह गर्न खोज्दछौ बाबु ?’

उसले आपूmलाई एउटा बौद्धिक व्यक्तिको रूपमा प्रमाणित गर्न यो अवसरलाई गुमाउन चाहेन र अरूले पनि सुन्न सकून् भनेर ठूलो ठूलो स्वरमा बोल्न थाल्यो । वास्तवमा उसको योजनाअनुरूप नै अरू सदस्यहरू पनि उसको नजिकमा आए ।

‘हेर्नुहोस् अङ्कल, म त्यसबारेमा स्पष्ट नै छु । समाजमा मेरो इज्जत छ, प्रतिष्ठा छ । मैले जुन अध्ययन र चिन्तनबाट आफ्नो पृथक बाटो निर्धारण गरेको छु, त्यसबाट म विचलित हुने प्रश्नै आउँदैन ।’

‘तर तिम्रो विवाह कस्तो प्रकृतिको हो ?’ यो प्रश्न उसको भिनाजुको थियो ।

‘विवाह एकदमै सामान्य तरिकाले हुन्छ, साधारण प्रकारको । म चाहन्छु, यो विवाहले समाजलाई परिवर्तनको दिशातिर उन्मुख गराओस् । नयाँ सोच प्राप्त गरोस् समाजले यो विवाहको कारणबाट । दाइजो ल्याउने कामको म घोर विरोध गर्छु, मेरो व्यक्तित्व र प्रतिष्ठाको विरुध्दमा छ यो कुरा ।’ उसले एकै श्वासमा आफ्ना कुराहरू भन्यो ।

उसको उद्घोष सुनेर पारिवारिक सदस्यहरूमाझ उदासीको गाढा रङ्ग लत्पतियो । उनीहरूलाई थाहा नभएको भने होइन उसले भनेका कुराहरूमा अब कुनै परिवर्तन हुन सक्दैन । तर, पनि उसलाई प्रभावित पार्न सकिन्छ कि भनेर केही सदस्यहरूले कसरत गर्न भने छोडेनन् । ऊ झन् अघिभन्दा कठोर भयो, उसले कुनै पनि छुट कसैलाई दिन चाहेन ।

उसलाई चारैतिरबाट विवाहका प्रस्तावहरू आए । तस्बिरहरु हेर्ने क्रममा एउटामा ऊ निकै बेर घोरियो र त्यस केटीका बारेमा सम्पूर्ण कुराहरू जान्न चाह्यो । केटी शिक्षित परिवारकी थिई । साधारण जीवनपद्दतिमा हुर्केबढेकी थिई, कुनै त्यस्तो सम्पन्न घरानाकी भने थिइन । केटीका प्रमुख दुई गुणहरूबाट ऊ अत्यधिक प्रभावित भयो । केटी पढाइमा अत्यन्त तेज र प्रतिभामा पनि विलक्षण । उसलाई यही केटी नै मनपर्‍यो । समाजमा रहेको आफ्नो चर्चाअनुरूप कै उसले केटी फेला पारेको थियो ।

कुरा अघि बढ्यो । केटीका परिवार आफूले खोजेभन्दा माथिको ज्वाई पाउँदा निकै हर्षित थिए । एक त उनीहरूलाई केटाको उच्च खानदानले आकर्षित गरेको थियो भने अर्को समाजमा रहेको उसको आदर्श नायकको छविका कारण प्रभावित भए ।

उसलाई ठीक एक बजे केटी हेर्न जानु थियो । ऊ समयमै आफ्ना मान्छेहरूसँगै केटीको घरमा पुग्यो । केटा र केटीले एक अर्कोलाई हेरे, भेटे र मनपराए । टिकोटालो भयो र विवाहको मिति तय गरियो ।

केटाले हठात् एउटा अस्वाभाविक र अनपेक्षित प्रश्न गर्‍यो केटीका परिवारसँग, ‘यो विवाहमा तपाईहरूले कति खर्च गर्न सक्नुहुन्छ ?’

सब झसङ्ग भए । यो प्रश्न समाजमा रहेको केटोको छवि अनुसारको थिएन ।

‘हेर्नुहोस्, यो मेरो प्रतिष्ठाको प्रश्न हो । मेरोजस्तो नाम र पहिचान भएको व्यक्तिले सामान्य तरिकाले विवाह गर्न मिल्दैन । तपाईहरूलाई थाहा नै छ, समाजमा मेरो कत्रो इज्जत छ ! चर्चाको शिखरमा रहेको व्यक्तित्वले सामान्य तरिकाले विवाह गर्दा समाजले भोलि के सोच्ला ? यो विवाह मेरो मात्र होइन, समाजको पनि हो ।’

घटना दुर्घटनामा परिणत भैसकेको थियो । पारिवारिक सदस्यहरू उसको कुराबाट एकदमै खुशी भए पनि यस्तो कुराको आशा भने कत्ति पनि गरेका थिएनन् । झन् केटाका साथीहरू त आक्रोशित नै थिए यस्तो प्रकारको उसको व्यवहार देखेर । टिकोटालो भएर विवाह तय भैसकेको थियो, अब फिर्ता गर्न सकिने ठाउँ थिएन ।

विवाह भव्य रूपमा सम्पन्न भयो । केटाले खोजे अनुसार नै विवाह शानदार थियो । उसले यो विवाहबाट मूल्यवान विदेशी सामानहरूका सम्पूर्ण सेटसहित भर्खरै बजारमा आएको मोटरसाइकल पनि प्राप्त गरेको थियो । यस विवाहको खर्च धान्न केटीका परिवारका तर्फबाट पुख्र्यौली सम्पत्तिको रूपमा रहेको घर जग्गा समर्पित गरिएको थियो ।

केटीका परिवार अब सडकमा आएको थियो । उसको आदर्श नायकको छवि भने समाजमा यथावत नै थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment