Comments Add Comment

कांग्रेस-एमाले-एमाओवादीभित्र अन्तरकलह चुलियो

Top-Leader

२२ साउन, काठमाडौं । संविधानका विवादित विषयमा प्रमुख दलहरुवीच सहमति जुट्न नसकिरहेका बेला तीनवटा प्रमुख दलहरुभित्र असन्तुष्टि चुलिन थालेको छ । शुक्रबार कांग्रेसका मधेसी सभासदले पार्टीमा ज्ञापनपत्र बुझाएका छन् । एमालेभित्र अखण्ड अञ्चलहरु माग्दै विरोध जनाउने क्रम जारी छ ।

एमालेभित्रका जनजाति सभासद र नेताहरुले पार्टीलाई ज्ञापनपत्र बुझाइसकेका छन् । लुम्बिनी र राप्तीलाई अखण्ड राख्नुपर्ने र सप्तरी सिरहालाई मधेस-प्रदेशमा मिसाउन नहुने एमालेभित्र आवाज उठेको छ ।

एमाओवादीका मधेसवादी नेताहरुले पनि पार्टीको मूल नेतृत्वसँग असन्तुष्टि जनाइसकेका छन् । सप्तरीलाई पूर्वी प्रदेशमा राख्न नहुने एमाओवादीका मधेसवादी नेताहरुको माग छ ।

एमाले नेता शत्रुघ्न महतोलगायतले चाँहि सप्तरी, सिराहा, महोत्तरी, धनुषा, सर्लाही, उदयपुर, सिन्धुली र मकवानपुरलाई मिलाएर बेग्लै प्रदेश बनाउन माग गरेका छन् ।

ठूला पार्टीहरुमा पार्टी लाइन एकातिर हुँदाहुँदै पनि सभासद र केन्द्रीय नेताहरुले जथाभावी मागहरु तेस्र्याउन थालेका छन् । लुम्बिनी अखण्ड राख्नुपर्ने मागमा एमालेसहित कांग्रेस र एमाओवादीका पनि स्थानीय सभासदको साथ छ ।

उता सप्तरी, सिरहालाई पूर्वी प्रदेशमा राख्न नहुने एमाओवादी र मधेसवादीको माग मिलेको छ ।

एमाले अध्यक्ष केपी ओली दोहोरो दबावमा परेका छन् । सप्तरीलाई मधेस प्रदेशमा राख्नै नहुने आफ्नै कार्यकर्ताको दबाव उनीमासथ छ भने सप्तरीलाई मधेसबाट टुक्राउन नपाइने मधेसवादी र एमाओवादीको दबाव छ ।

कांग्रेसका मधेसी सभासदले समेत सप्तरीदेखि पर्सासम्मको भूभाग टुक्र्याउन नदिने दबाव दिइसकेका छन् ।

आवाज नसुनिए पार्टी चोइटिने खतरा

पार्टीभित्र चरम असन्तुष्ट बनेका मधेसवादी र जनजाति नेताहरुले आफूलाई भनेजस्तो नभएको अवस्थामा संविधान जारी भइसकेपछि मातृपार्टी छाड्ने र क्षेत्रीय पार्टी बनाउने विश्लेषण पनि कतिपयले गर्न थालेका छन् ।

संघीय प्रदेशहरु बनिसकेपछि अब क्षेत्रीय पार्टीहरु जन्मने र बलियो बन्ने संघीय लिम्बुवान पार्टीका अध्यक्ष कुमार लिङदेन बताउँछन् । त्यो अवस्थामा क्षेत्रीय पार्टीले केन्द्रीय नेताहरुको निर्वाचन क्षेत्रमा असर पार्ने र राष्ट्रिय पार्टीहरुसमेत सानो साइजमा खुम्चने उनको विश्लेषण छ ।

लिङदेनको विश्लेषणजस्तै कांग्रेस, एमाले र एमाओवादी तीनै दलका मधेसी नेताहरु यतिबेला आ-आफ्नै नेतत्वविरुद्ध धम्की दिने तहमा उत्रिएका छन् ।

संविधान निर्माण अन्यौलमा परेको अवस्थामा प्रमुख तीन पार्टीको विवादको अस्थायी समाधान होला, तर सीमांकनमा सहमति भयो भने ठूला दलभित्र भूइँचालो जान सक्ने धेरैको विश्लेषण छ ।

यो पनि पढ्नुहोस् 

मधेसमा पहाड नमिसाई तीन प्रदेश बनाउन कांग्रेसका २९ सभासदको हस्ताक्षर

‘दौपदी’लाई मधेसमै राख्न माओवादीका मधेसी नेताको माग

राप्ती अञ्चल नटुक्राउने एमालेको निष्कर्ष

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment