Comments Add Comment

संविधानलाई भोजपुरीमा व्याख्या गर्दै माधव नेपाल मधेस झरे

madhave-napl

१५ असोज, रौतहट । मधेसी मोर्चाले प्रवेश निषेध भने पनि एमाले बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल संविधानको किताब बोकेर मधेस झरेका छन् ।

विहीवार गृहजिल्ला रौतहटमा कार्यकर्ता भेला गरेर संविधानले मधेसी र थारुलाई दिएका अधिकारबारे बुझाएका नेपाल अब मधेसका अन्य जिल्लामा कार्यक्रम बनाएर जादैछन् ।

मधेसी र थारु नेताहरु डा.बंशीधर मिश्र, लालबाबु यादव, बलदेव चौधरी र सरला यादवलाई वरीपरि राखेर नेपालले रौतहटको चन्द्रपुरमा स्थानीय भोजपुरी भाषामा प्रशिक्षण दिएका थिए ।

माधव नेपाल रौतहट आएको जानकारी पाएपछि मधेस आन्दोलनमा लागेका एमालेका तल्लो तहका मधेसी कार्यकर्ता समेत भेलामा आएको जिल्ला अध्यक्ष कमल राय यादवले बताए ।

नेपालले संविधानमा मधेसी र थारुका बारेमा उल्लेखित धारा र उपधाराहरु पढेर भोजपुरी भाषामा उल्था गर्दै कार्यकर्तालाई भ्रमित नहुन र जनतामा रहेको भ्रम चिर्न निर्देशन दिएका दिए ।

उनले कसैको भूलभुलैयामा नलाग्न र संविधानका बारेमा बुझ्न आग्रह गरेको नेपालसँगै रौतहट गएका चौधरीले बताए । ‘हल्लाको भरमा आन्दोलनमा गएका रहेछन्,उहाँले प्रष्ट पार्नुभयो’ चौधरीले भने ।

रौतहटपछि अन्य मधेसका जिल्लामा संविधानको किताब बोकेर जान लागेका पूर्व प्रधानमन्त्री नेपालले मधेसका जनता र कार्यकर्तामा रहेको भ्रम बिस्तारै चिर्न लागिएको बताए ।Madhav-Nepal1

नेपालले भने-संविधानले मधेसीलाई केही दिएन, नागरिकता पनि दिएन, अब सांसद मन्त्री पनि हुन नपाउने भए भन्ने अत्यन्तै गलत हल्ला चलाइएको रहेछ, त्यो बिस्तारै चिरिँदैछ । हामीले हाम्रा कार्यकर्तालाई प्रशिक्षित गर्छौं, कार्यकर्ताले जनतालाई बुझाउँछन् ।

रौतहटको भेलामा मधेसी समुदायका कार्यकर्ता र स्थानीय जनताको ठूलो संख्यामा उपस्थिति रहेको यादवले बताए । नेपालले भोजपुरी भाषामै उनीहरुलाई सम्बोधन गरेकाले धेरैले आफूहरुलाई गलत ढंगले बुझाइएको रहेछ भन्ने प्रतिक्रिया दिएको उनले बताए ।

नेता नेपालले अब गाउँ गाउँमा संविधानसँगै कार्यकर्ता पठाइने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment