Comments Add Comment

पर्यटकीय गन्तव्य भेडेटारमा प्याराग्लाइडिङ सुरु हुँदै

गोपाल दाहाल
२२ असोज, धरान । नेपालको पूर्वी क्षेत्रमा पनि व्यावसायिक प्याराग्लाइडिङ सुरु हुने भएको छ । यहि असोज २४ गते आइतबारदेखि धनकुटाको भेडेटारमा प्याराग्लाइडिङ सुरु हुन लागेको हो ।

भेडेटारको छोटी मोरङबाट धरानको नौलो वस्तिसम्म व्यावसायिक प्याराग्लाइडिङ उडान हुन लागेको हो । स्थानीय युवा रोशन अधिकारी र निर्मल आचार्यले पर्यटन मन्त्रालयबाट स्विकृति लिएर व्यवसायीक रुपमा प्याराग्लाइडिङ सुरु गर्न लागेका हुन् ।

Dhankuta Paraglading

उनीहरुले धरान-४ लक्ष्मीसडकमा ‘धरान स्काई एड्भेन्चर प्रालि’ नामक कम्पनी खोलेर प्याराग्लाइडिङ व्यवसाय सुरु गर्न लागेका छन् । ६ वटा टेन्डम उडाउने अनुमति लिएको कम्पनिले तत्काल ५ वटा टेन्डम उडाउने सञ्चालक आचार्यले बताए ।

अहिले ५ हजार रुपैयाँमा धरानबाट भेडेटारसम्म बसमा लैजाने र प्यारग्लाइडमा उडाउने प्याकेज तयार पारिएको छ । भेडेटारको छोटीमोरङ डाँडाबाट उडाएर धरानको नौलोवस्तिमा अवतरण गर्ने गरी कम्पनी आफैंले जग्गा खरिद गरेको आचार्यले बताए ।

३० देखि ४५ मिनेट आकाशमा ४ हजार २ सय फिटको उचाईमा उडेर रमाउन सकिने छ । त्यसकालागि कम्पनिले पोखराबाट तालिम प्राप्त पाईलटहरु ल्याएको छ ।

सञ्चालक रोसन अधिकारी सुनाउँछन्- ‘तीन वर्षअघि साथीले धरानमाथिको आकाशमा उडाउँदा मैले व्यवसायिक रुपमा प्याराग्लाईडिङ सुरु गर्ने सपना देखेको थिएँ अहिले पुरा हुँदैछ । पूर्वमा प्याराग्लाईडिङको अनुमति लिने हामी मात्र छौं ।’

कम्पनिले भेडेटारस्थित उडान गर्ने ठाउँमा धरान स्काई रिसोर्ट समेत सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

धरानको ७० प्रतिशत भागसँगै इटहरी र तराईको समथर फाँटको दृष्यावलोकन गर्न सकिने भएकाले रिसोर्टमापनि पर्यटकको भिड लाग्ने उनीहरुको अपेक्षा छ ।

सञ्चालकहरुले चाँडै बञ्जीजम्प पनि सञ्चालन गर्ने योजना बनाएका छन् । कम्पनिलेे प्याराग्लाईडिङसँगै छोटी मोरङमा घोडचडीपनि सुरु गरेको छ । एक सय रुपैयाँमा करिब २० मिनेट घोडा चढेर घुम्न पाइने सञ्चालक अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment