Comments Add Comment

आँधीबाट भएको मानवीय क्षतिप्रति राष्ट्रपति र उपराष्ट्रपतिद्वारा दु:ख व्यक्त

१८ चैत, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भीषण हावाहुरीका कारण बारा र पर्सामा भएको मानवीय क्षतिप्रति दु:ख व्यक्त गरेकी छन् ।

ठूलो संख्यामा सर्वसाधारण घाइते भएकोमा सहानुभूति प्रकट गर्दै उनले घाइतेको यथाशीघ्र उपचारको प्रबन्ध मिलाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराइसकेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति भण्डारीले आँधीले घर, सवारी साधन, अन्नबाली, फलफूल खेती र भौतिक संरचनामा पुर्‍याएको क्षतिप्रति दु:ख व्यक्त गर्दै राहतको व्यवस्था मिलाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएकी छन् ।

‘हावाहुरी, बाढी, पहिरो, डढेलो, आगलागी जस्ता प्राकृतिक प्रकोपबाट जोगिन र जोगाउन सम्बद्ध सबै पक्षले समयमा नै पूर्वसावधानी अपनाउनसमेत ध्यानाकर्षण गराउनु भएको छु राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

राष्ट्रपति भण्डारीले भौतिक पूर्वाधार विकास गर्दा जोखिम न्युनीकरणको उपाय अवलम्बन गर्न सरोकारवालालाई सचेत गराएकी छन् ।

आइतबार राति चलेकाे भीषण आँधी, हावाहुरी र असिनाका कारण बारा र पर्सामा गरी २७ जनाको मृत्यु भएको छ ।

प्रभावकारी उपचारका लागि उपराष्ट्रपतिद्वारा ध्यानाकर्षण

उपराष्ट्रपति नन्दबहादुर पुनले पनि बारा र पर्सामा भएको घटनाप्रति दु:ख व्यक्त गरेका छन् । अकल्पनीय प्राकृतिक प्रकोपमा परी ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजन प्रति समवेदना व्यक्त गरेका छन् ।

‘प्राकृतिक प्रकोपमा परी धेरै जना घाइते हुनु भएको छ । म घाइतेहरुको पूर्ण स्वाथ्य लाभको कामना गर्दछु । घाइतेहरुको प्रभावकारी उपचारका लागि सरकार र सबै पक्षको ध्यानाकर्षण गराउन चाहन्छु’ उपराष्ट्रपति पुनले भनेका छन् ।

उनले घाइतेहरुको उद्धार, उपचार र पीडितहरुका लागि राहत, पुनर्स्थापना र घर पुनर्निर्माणमा सरकारले विशेष ध्यान दिने आशा व्यक्त गरेका छन् । सुरक्षित आवास, सुरक्षित भौतिक पूर्वाधार नहुँदा धेरै जनधनको क्षति भएको देखिएको भन्द उनले यसलाई विशेष ध्यानमा राख्न संघीय, प्रदेश र स्थानीय सरकारलाई अनुरोध गरेक छन् ।

‘एकलाई दुःख पर्दा अर्कोले सहयोग गर्ने हामी नेपालीको संस्कार हो । हावाहुरीबाट पीडितहरुलाई स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दिदी–बहिनी तथा दाजुभाईहरुले सकेको सहयोग गर्ने अपेक्षा लिएको छु’ उपराष्ट्रपतिको तर्फबाट प्रेस संयोजक मनोज घर्तीमगरले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment