Comments Add Comment

नेकपाका विद्यार्थीको माग- बारा र पर्साका मृतक परिवारलाई १० लाख देऊ

डाक्टरसहित प्रभावित क्षेत्रमा परिचालित हुने

१८ चैत, काठमाडौं । सत्तारुढ नेकपाका विद्यार्थीहरु डाक्टर र स्वास्थ्यकर्मीसहित आँधी प्रभावित बारा-पर्सा जिल्लामा परिचालित हुने भएका छन् । अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी)को सोमबार बसेको संयुक्त बैठकले दुवै संगठनका अध्यक्षद्वय नविना लामा र रञ्जित तामाङ नेतृत्वको टोली बारा र पर्सामा परिचालित हुने निर्णय गरेको हो ।

‘यस विस्मयकारी घटनाको सन्दर्भमा आजै अनेरास्ववियु अध्यक्ष नविना लामा र अनेरास्ववियू (क्रान्तिकारी) का रञ्जित तामाङको नेतृत्वमा डाक्टरहरु सहितको स्वास्थ्य टोली लाने निर्णय गरियो । साथै दुवै अध्यक्षको नेतृत्वमा दुई नं.प्रदेश र आसपासका दुवै संगठनको सिङ्गो कार्यकर्ता पंक्ति राहत र उद्धारमा परिचालन गर्ने निर्णय गरियो,’ बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।

नेकपा सम्बद्ध विद्यार्थी तथा युवा संगठनका कतिपय नेता-कार्यकर्ताहरु भने प्रभावित क्षेत्रमा खटिएर उद्धार र राहतको काममा सक्रिय भइसकेका छन् ।

आँधीमा ज्यान गुमाउनेहरुका परिवारलाई जनही १० लाख राहत तथा परिपुरण रकम उपलब्ध गराउन पनि दुवै संगठनले सरकार समक्ष माग गरेका छन् । साथै घाइतेको निःशुल्क उपचार र घरबास पुनःस्थापनाका लागि तत्काल कदम चाल्न संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारसँग मागसमेत गरिएको छ ।

प्रदेश २ सरकारले भने मृतकका परिवारलाई जनही ३ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी)ले प्राकृतिक प्रकोप प्रभावित क्षेत्रमा अभिभावक गुमाएका र घरवारविहीन भएका बालबालिकाहरुको पठनपाठन प्रभावित हुन नदिन आवश्यक सबै कदम चाल्न पनि माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment