Comments Add Comment

एक शैक्षिक क्षेत्र नै गुम्ने खतरा : शिक्षामन्त्री पोख्रेल

Giriraj-Mani-Pokhrel१५ कात्तिक, काठमाडौं । शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले लामो समयदेखिको बन्द हड्ताल र भूकम्पले एक शैक्षिक क्षेत्र नै गुम्ने खतरा औंल्याएका छन् । उनले शिक्षा क्षेत्रका सबैखाले समस्या समाधानको योजना सरकारले बनाइरहेको जानकारी पनि गराए ।

प्रमुख विद्यार्थी संघ-संगठनका नेताहरुसँग आइतबार मन्त्रालयमा भएको भेटमा मन्त्री पोख्रेलले उक्त जानकारी दिएका हुन् । भेटमा सहभागी अखिल क्रान्तिकारीका अध्यक्ष रमेश मल्लका अनुसार विद्यार्थी नेताहरुसँग मन्त्री पोख्रेलले सरोकारवाला सबै पक्षसँग छलफल गरी अघि बढ्ने बताए ।

‘हामीले शिक्षा क्षेत्र सुधारको शुभकामना दिऔं । विगतमा विद्यार्थीहरुसँग सरकारले गरेका सहमति पल्टाएर हेर्न र कार्यान्वयन गर्न भन्यौं,’ मल्लले अनलाइनखबरसँग भने, ‘मन्त्री ज्यूले सबै सरोकारवालासँग छलफल गरी शिक्षा क्षेत्रका समस्या समाधान गर्छु भन्नु भएको छ ।’

मन्त्री पोख्रेलले भूकम्प, मधेस आन्दोलन र भारतीय नाकाबन्दीका कारण एक शैक्षिक क्षेत्र नै कोल्याप्स हुने खतरा रहेको भन्दै त्यसको समस्या समाधान गर्न सरकारले प्राथमिकताका साथ काम गर्ने बताएका थिए । शिक्षा क्षेत्र सुधारको रोडम्याप तयार पार्ने काम अन्तिम चरणमा पुगेको उनले जानकारी पनि गराए ।

यस्तै सामुदायीक शिक्षालाई सबैको आकर्षणको केन्द्र बनाउन क्रियाशील रहने मन्त्री पोख्रेलले बताएको भेटमा सहभागी नेविसंघ प्रवक्ता यूपी लामिछानेले जानकारी दिए ।

‘निजी क्षेत्रको विकृति हटाउँदै सर्बसुलभ बनाउने र सामुदायीक शिक्षालाई सबैको आकर्षणको केन्द्र बनाउने कुरा गर्नुभयो,’ नेविसंघ प्रवक्ता लामिछानेले भने ।

शिक्षा मन्त्रीसँगको भेटमा अनेरास्ववियू अध्यक्ष किशोर विक्रम मल्ललगायतका विद्यार्थी नेताहरु पनि सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment