२६ मंसिर, काठमाडौं । गृहमन्त्री शक्तिबहादुर बस्नेतले भूकम्प पीडितको कोटामा नेताका छोरी नातिनीलाई चीन भ्रमणमा पठाउने आफ्नो निर्णयको बचाउ गरेका छन् । चीन जानेहरु भूकम्प प्रभावित र उद्धार तथा राहतमा संलग्नहरु नै भएको उनले बताए ।
भूकम्प पीडितको कोटामा एमाओवादी अध्यक्ष प्रचण्डकी नातिनीदेखि गृहमन्त्री बस्नेतकी पत्नी सत्या पहाडीकी फूपुको छोराकी पत्नी समेत शुक्रबार चीनको अवलोकन भ्रमणमा गएका छन् । जसको एमाओवादीभित्र र बाहिरबाट समेत आलोचना भएको छ ।
शनिबार एक कार्यक्रममा गृहमन्त्री वस्नेतले भूकम्प प्रभावितदेखि उद्धारमा खटिएकाहरु नै चीन गएको बताए । उनले भने-‘भने-सहभगी भएका मान्छेहरु को कनु घरमा जन्मिएका भन्दा पनि भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्दारमा सक्रिय भएकाहरु नै हुन् कि होइनन् हेर्नुपर्छ ।’
साथै उनले चीन भ्रमणमा जाने टोलीको सूची आफूले नभई सचिवालयले बनाएको दाबी गरे । ‘सबै जिल्ला र क्षेत्रको प्रतिनिधित्व हुने गरी सूची बनाउन सचिवालयलाई जिम्मा दिइएको थियो’ गृहमन्त्री बस्नेतले भने-व्यक्तिगत रुपमा को कहाँ परे त्यति चासो छैन ।’
पार्टीको स्थायी समितिको बैठकमा नेताहरुले नै राजीनामा मागेकोबारे सोधिएको प्रश्नमा उनले पार्टीले निर्णय नगरेको बताए । ‘पार्टीले निर्णय गरेर मन्त्री पठाउँछ र निर्णय गरेर नै फिर्ता बोलाउँछ । व्यक्तिहरुको चाहना प्रधान हुँदैन’ गृहमन्त्री बस्नेतले भनेका छन् ।
प्रतिक्रिया 4