Comments Add Comment

बलपूर्वक ‘पोर्नस्टार’ बनाइएकी विन्दु परियारले जितिन मुद्दा, ७२ करोड क्षतिपूर्ती पाउने

Bindu-Pariyar
९ पुस, काठमाडौं । नेपाली पोर्नस्टारका रुपमा चर्चित बिन्दु परियारले आफ्नो श्रीमानमाथि हालेको मुद्दा जितेपछि ७२ लाख डलर (७२ करोड रुपैयाँ) क्षतिपूर्ति पाएकी छिन् । उनलाई जबरजस्ती पोर्नस्टार बनाएको ठहर गर्दै अमेरिकी अदालतले श्रीमान् टम रान्डेल सेवेललाई उक्त रकम क्षतिपूर्ति दिन आदेश दिएको हो ।

यस्तो छ दर्दनाक कथा

बिन्दूलाई टमले झुक्याएर ब्रेस्ट इम्प्लान्ट (स्तन ठूलो बनाउने शल्यक्रिया) गराउनुका साथै उनको पासपोर्ट लुकाइदिएको र एउटा नग्न क्लवमा काम गर्न आदेश दिएको, अन्य पुरुषहरुसित यौन सम्बन्ध राख्न गर्न वाध्य पारेको र त्यसलाई भिडियोमा कैद गरेको डलासन्यूज डट कममा प्रकाशित समाचारमा उल्लेख छ ।

२७ वर्षीया बिन्दु र श्रीमान टम सन् २०१२ मा अलग भएका थिए, जब टमले उनको केलेजको वेबसाइटमा बिन्दुलाई वेश्या भनेर लेखिदिएका थिए । त्यसपछि उनलाई थुप्रै अपरिचित व्यक्ति तथा रेस्टुरेन्टहरुबाट ‘अफर’ आए । उनीहरुले भन्थे, ‘मैले तिम्रो भिडियो हेरेँ । तिम्रो शुल्क कति हो ?’

अलग भएपछि टमले बिन्दुका नाममा सामाजिक सञ्जालमा थुप्रै नक्कली पेजहरु खुले, जसमा उनका अर्धनग्न र नग्न तस्बिरहरु हुन्थे । बिस्तारै उनका सेक्स सिनहरु पनि विभिन्न अनलाइनहरुमा देखिन थाले । ती सबै तस्वीर तथा भिडियोहरु बिन्दुले स्वेच्छाले खिचेको नभई टमले धम्क्याएर बाध्य पारेको अदालतको ठहर छ । हाल बिन्दुका अश्लील तस्वीर र भिडियोहरु करिब २ हजार वेव पेजहरुमा छरिएका छन् । तीमध्ये कुनै पनि आफ्नो स्वीकृति वा छनोटमा प्रकाशित नभएको बिन्दुले डलास टाइम्सलाई दिएको अन्तरवार्तामा बताएकी छिन् ।

‘मैले उनलाई पटक-पटक ती सामाग्रीहरु हटाउन अनुरोध गरें, तर उनले मानेनन्,’ बिन्दु भन्छिन् । उनले कतिपय वेबसाइटहरुमा उजुरी गरेर हटाउन लगाए पनि साध्य नै भएन । टमले उनलाई फेसबुकमा म्यासेज पठाएर लेखे, ‘तिमी जति रिपोर्ट गर, म एकपछि अर्को थप्दै जान्छु ।’

बिन्दुले ५८ वर्षीय टमविरुद्ध अघिल्लो वर्ष मुद्दा दायर गरिन् । आफ्नो मुद्दामा उनले आर्थिक क्षतिपूर्तिका साथमा टमले इन्टरनेटमा प्रयोग गरेका आफ्ना सबै तस्वीर र भिडियोहरु हटाउनुपर्ने माग गरेकी थिइन् ।

‘म सामान्य जीवन बाँच्न चाहन्छु,’ बिन्दुले भनिन्, ‘मलाई नांगिएर पैसा कमाउनु छैन ।’ डलास काउन्टीमा दायर गरिएको मुद्दामा टमले रेस्टुरेन्ट, अटो सप र कलेजका वेबसाइटहरुमा पनि आफ्नोबारे जथाभावी टिप्पणीहरु लेखेको बिन्दूले उल्लेख गरेकी थिइन् ।

‘पोर्नस्टार/स्ट्रिपर बन्नुभन्दा अगाडि बिन्दु परियार यसरसी नर्स स्कुल जान्थिन्,’ बिन्दुको कलेजको वेवसाइटमा टमले लेखेका थिए । यसै महिना अदालतका न्यायाधीस मार्टिन जे हफम्यानले बिन्दुका अनलाइनमा प्रेसित सबै तस्वीर र भिडियोहरु हटाउन आदेश दिएका छन् ।

साथै उनलाई क्षतिपूर्ति वापत ७२ लाख डलर टमले दिनुपर्ने फैसला पनि गरेको छ । यसअघि सम्वन्धविच्छेदको मुद्दामा पनि टमलाई बिन्दुका तस्वीर र भिडियोहरु अनलाइबाट हटाउन अदालतले आदेश दिएको थियो । तर, उनले अटेर गरेर आफ्नो काम जारी राखे ।

फैसला हुँदा टम अदालतमा उपस्थित थिएनन् । उनलाई अदालतको पत्र थमाउने पटक पटकको प्रयास पनि असफल बनिरहेको छ । टमको पक्षबाट लडिरहेका ब्रायन श पनि महिनौंदेखि गायब छन् । यद्यपि, उनले यस अगाडिको बयानमा बिन्दु वेश्या नै भएको आरोप लगाएका थिए ।

‘उनी एक स्थापित वेश्या र स्ट्रिपर हुन्, उनले अमेरिकी नागरिकता लिनका लागि मलाई प्रयोग गरेकी थिइन्,’ टमले अदालतलाई भनेका थिए । बिन्दुले आफ्नो चरित्रहीन विगतलाई सच्याउनका लागि मुद्दाको नाटक रचेको आरोप पनि टमले लगाएका छन् ।

कसरी भयो बिहे ?

टमले यसअघि बिन्दुकै एक नातेदारसित बिहे गरेका थिए, जब बिन्दु सानै थिइन् । केही समयमा टमले बिन्दूकी नातेदारसित डिभोर्स गरे र उनकै परिवारकी एक सदस्यसित बिहे गरे । त्यो बिहे पनि सन् २००८ मा ब्रेक भएपछि उनले बिन्दुलाई ताक्न थाले ।

Bindu-Pariyarउनले बिन्दुलाई चिठी पठाएर अमेरिकामा क्याम्पस पढाइदिने प्रलोभन दिए । बिन्दू एक विपन्न परिवारकी छोरी थिइन् । त्यसैले सहजै लोभिइन् । अमेरिका आएर नर्सिङ पढ्नका लागि उनले अंग्रेजी सिकिन् । कथित तल्लो जातकी उनी अमेरिकामा पैसा कमाएर आफ्नो विपन्न परिवारलाई सहयोग गर्न चाहन्थिन् ।

अमेरिका आइसकेपछि उनले टमलाई सोचेको भन्दा विपरीत रुपमा पाइन् । मोन्टानमा रहेको घरभित्र टमले आफ्नो दराजमा महिलाले लगाउने भित्री वस्त्रहरु र छोटा स्कर्टहरु भण्डार गरेका थिए । उनले बिन्दुलाई कहिल्यै जिन्स वा लामो स्कर्ट लगाउने अनुमति दिएनन् । केही समयपछि एउटा स्थानीय स्ट्रिप क्लवमा काम गर्ने आदेश दिए ।

एउटा अनलाइन भिडियो अदातमा देखाइएको थियो जसमा बिन्दुले नाम मात्रैको स्कर्ट र लगाएकी छिन् । एउटा पार्किङ लटभित्र उनलाई कसैले नेपाली भाषामा आदेश दिइरहेको सुनिन्छ, जसलाई उनी पालन गरिरहेकी हुन्छिन् । त्यसरी नेपाली बोलेर आदेश दिने व्यक्ति टम नै भएको बिन्दुको भनाइ छ । आफ्नो आवाज अरुले नचिनुन् भनेर उनले नेपालीमा बोलेका थिए ।

अदालतका अनुसार टमले उनलाई अन्य मानिसहरुसित यौनसम्वन्ध राख्न वाध्य पारेका थिए । अरुले आफ्नी श्रीमतीसित संसर्ग गरिरहँदा उनी भिडियो खिच्न व्यस्त रहन्थे । कहिलेकाहीँ त्यस्ता क्रियाकलापमा आफू पनि सहभागी हुन्थे । त्यतिबेला उनले ती भिडियोहरु आफ्नो निजी प्रयोजनका लागि खिचेको बिन्दुलाई बताउने गरेका थिए ।

बिन्दुलाई सँधै यही चिन्ता लागिरह्यो कि उनको अश्लील भिडियो हेर्नेहरुले उनले आफ्नो राजीखुशीमा ती दृष्यहरु खिचाएको नठानुन् । बिन्दुका अध्यागमन कागजात तथा पासपोर्ट उनले कब्जामा लिएका थिए । सुरुमा प्रहरीबाट पक्राउ गराउने र पछि उनका तस्वीर तथा भिडियोहरु परिवारसम्म पुर्‍याइदिने धम्की दिएर आफूलाई प्रयोग गर्दै आएको बिन्दुले बताएकी छिन् । फोटो र भिडियो सुट गर्दा आफूलाई मदिरा र ड्रग्सले मताउने गरेको पनि उनको भनाइ छ ।

टमले पुरुष मात्रै नभएर कहिलेकाहीँ महिलाहरु पनि लिएर आउँथे र उनीहरुसित अश्लील क्रियाकलाप गर्न लगाउँथे ।
यो जोडी सन् २०१२ मा मोन्टानाबाट डलासामा सरेको थियो । त्यहाँ उनी बेबी डल्स नामक क्लवमा नाच्न थालिन् । त्यहाँ उनले ग्राहकको माग अनुसार सन्तुष्टी दिन नसकेको गुनासो आएपछि टमले चक्कु निकालेर उनको लुगा तथा ब्यागहरु धरधरी च्यातिदिएका थिए । त्यसपछि उनको स्कर्ट काटेर मिल्काउनुका साथै जमीनमा लडाएर पिटेको बिन्दुले बताएकी छिन् । डलासको प्रहरीले यस मामलामा अनुसन्धान गरेर टममाथि मानव बेचविखनको आरोपमा वारेन्ट जारी गरेको थियो ।

अपि्रल, २०१२ मा टममाथि आफ्नो परिवारका सदस्यलाई सांघातिक हमला गरेको अभियोगमा मुद्दा चल्यो । दुई वर्षको तारेखपछि टममाथिको यो मुद्दा यस वर्ष खारेज भएको छ ।

नेपाली पहिरनको माया

बिन्दु अहिले पनि बाहिर कतै निस्कँदा जिउ ढाक्ने मात्र होइन, नेपाली परम्परागत पहिरन लगाउन रुचाउँछिन् । अहिले उनको अर्कै पुरुषसित सम्वन्ध जोडिइसकेको छ, जो उनलाई मेकअप र छोटा लुगाबिना नै सुन्दर देख्छन् ।

‘म सधैं असल व्यक्ति हुन चाहन्थेँ र अहिले भएकी छु,’ बिन्दु भन्छिन्, ‘तर आफ्नो विगतलाई फर्केर हेर्दा दिक्दार लाग्छ ।’

यद्यपि अनलाइनहरुबाट उनका अश्लील तस्वीर र भिडियोहरु पूर्णतया हट्ने गुञ्जायस छैन । साथै अदालतको आदेशबमोजिम क्षतिपूर्ति टमले देलान् भन्नेमा पनि उनी विश्वस्त छैनन् ।

बिन्दू अमेरिकामा पोर्नस्टार बनेको खबर नेपालमा छ्याप्छ्याप्ती बनिसकेको छ । जसवापत उनको परिवारले अवहेलना र तिरस्कार सहनुपरेको छ । उनका दुई भाइहरु स्कुलमा साथीभाइबाट मजाकका पात्र बन्छन् । उनलाई अहिले अर्को काम खोज्न धौधौ परिरहेको छ ।

यद्यपि अदालतको फैसलाले उनको जीवनमा आशाको दीयो बालिदिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment