Comments Add Comment

राजेश हमालको गेटअपः कपाल काट्दादेखि तेस्रो लिङ्गीसम्म !

rajesh-hamal-ko-feriyako-rup

विजय आवाज
एउटा हात क्यामेरातर्फ देखाउँदै लामो कपाल पालेका पुरुष पात्रले जव सम्वाद बोल्छन्, दर्शक परर ताली बजाउँछन् । दर्शकले परर बजाएको तालीमा ती पुरुष पात्र मख्ख पर्छन् अनि एकैपटक एक दर्जन खलपात्रलाई खत्तम गर्छन् ।

नारी हुन् वा गरिब जनता, दाजु हुन् वा प्रेमिका, तिनै पुरुष पात्रको एक्सनले पर्दाभित्र आफू बचेको महसुस गर्छन् । करिब साढे २ दशकदेखि पर्दामा यसरी नै राजेश हमालले चर्चा कमाइरहेका छन् ।

चलचित्र ‘युगदेखि युगसम्म’मा काम गर्दा धनाढ्य परिवारको छोरा राजेश हमाललाई लागेको थिएन कि उनी लामो समयसम्म यो क्षेत्रमा रहन्छन् । त्यतिबेला त एउटा चलचित्रमा खेलेेपछि दोस्रोमा अफर आउँछ या आउँदैन भन्ने पनि पक्का थिएन ।

वर्ष बित्दै गयो, हमाल क्रेज चलचित्रको पर्दामा मात्र नभएर बाहिर दुनियाँमा पनि बढ्दै गयो । पर्दामा न त उनले गतिलो नृत्य गर्न सके न त कुनै भूमिका नै परिवर्तन गर्न खोजे । तर, पनि हमालको दुनियाँ दर्शकका लागि निकटको बन्यो । उनी चले, बस चले अनि अझै पनि चलिरहेका छन् ।

अब, नेपाली चलचित्रले कोल्टो फेरिसकेको छ । हमालले सुरुवात गरेको चलचित्र क्षेत्रजस्तो छैन, यो रंगीन दुनियाँ । नायिकासँग डाँडामा पुगेर रोमान्स गरेर अनि चलचित्रको पर्दामा २-४ डाइलग बोलेर अहिलेका नायकलाई सुख छैन । फरक भूमिका र कथावस्तु नरोज्ने हो भने, स्टारडम प्रवृत्ति चाँडै नै हराउने पक्का छ ।

कति भूमिका परिवर्तन गरे हमालले ?

rajesh-in-sakuntalaचलचित्र ‘फर्की आउ’मा जतिबेला निर्माता बाबुराम दाहालले नायक राजेश हमाललाई लामो कपाल कटाएर प्रहरी बनाए, मिडियामा ठूलै हंगामा भयो । राजेश हमालले कपाल काट्नुलाई मिडियामा यति ठूलो प्रचारबाजी गरिएको थियो कि, मानौं उनले कुनै नौलो काम गरेका छन् । तर, मिडियामा राजेश हमालले कपाल काट्नुको समाचारले स्थान त्यसै पाएको थिएन । कारण, हमालले चलचित्रको पर्दामा प्रहरी हुँदा पनि कपाल काटेनन्, निर्माताले लामै कपालमा उनलाई प्रहरी बनाइरहे, दर्शकले ताली बजाइरहे ।

हमाललाई अहिले पनि तपाईले याद गर्ने चलचित्र कति छन् भनेर सोध्ने हो भने, मुश्किलले ४ वटाको नाम लिन्छन् । ‘देउता, अल्लारे, बसन्ती’ जस्ता चलचित्र मात्र हमालको मुखमा झुण्डिएका छन् । अल्लारेको ‘अब चोटहरुले’ बोलको गीतमा हमाल विना गिलसिरिन नै रोएका थिए ।

‘बसन्ती’मा उनले निर्वाह गरेको भूमिका विशेष थियो । तर, नेपालका चर्चित यी नायकले आफ्नो भूमिका परिवर्तन गरेर चलचित्र खेल्ने कोशिश भने कहिल्यै गरेनन् ।

चलचित्र ‘द युगदेखि युगसम्म’मा हमाललाई निर्देशक दीपेन्द्र के खनालले युवा बनाए । हमालको यो युवा रुपले पनि चर्चा पायो । कारण, सधैं एउटै भूमिकामा नै हराउने हमालले थोरै केही गर्दा पनि हंगामा हुने गथ्र्यो ।

राजेश हमाल चलचित्र क्षेत्रका लागि यस्तो एउटा पात्र हुन्, जसले चलचित्र खेल्दा पनि चर्चा हुन्छ, नखेल्दा पनि चर्चा हुन्छ । उनी विभिन्न कारणले सधैं नै मिडियाको वरिपरि घुमिरहन्छन्, सायद चलचित्रमा अभिनयभन्दा पनि ठूलो खुबी राजेशको यही नै छ ।

एउटा चर्चित पात्रको सामान्य कुरा मिडियामा स्थान पाउनु र त्यसलाई दर्शकले नजिकबाट नियाल्नु स्वभाविक हो । सायद, यसैले पनि होला हमालले लामो कपाल काट्दा पनि चर्चा हुने गर्दछ ।

किन गर्न सकेनन् फरक भूमिका ?

राजेश हमालले फरक भूमिका गर्न नसक्नुको पछाडि उनको मात्र होइन, चलचित्र बनाउनेको पनि दोष छ । हमाल भन्छन्-‘मैले चलचित्र नगरेको भए कतिपय चलचित्र त बन्दै बन्दैनथ्यो ।’ उनले चलचित्र क्षेत्रलाई अगाडि बढाउनका लागि भूमिका परिवर्तन नगरी काम गरे, निर्माताले पनि ढुक्कले लगानी गरे । हमालले भूमिका परिवर्तन नगरेका कारणले पनि यहाँ गतिला चलचित्र नबनेका हुन् भन्ने आरोप एकथरिका चलचित्रकर्मी लगाउँछन् । तर, हमाल भने आफ्नो समयमा कथावस्तुमा विविधता खोज्नुभन्दा पनि चलचित्र बनाउनु नै ठूलो कुरा थियो भन्दै बचाउ गर्छन् । यो आरोप र बचाउको खेल हमालको करिअरमा सधैं रहने पक्का छ ।

तेस्रोलिङ्गी बन्नु रहर कि वाध्यता ?

हालै मात्र नायक हमालको एक तस्वीर सार्वजनिक भयो, जसमा उनी सारी लगाएर कोरीबाटी चिटिक्क परेका छन् । चलचित्र ‘शकुन्तला’मा नायक हमालको यो गेटअपलाई लिएर अहिले मिडियामा ठूलै हंगामा भएको छ ।

कुनै समय मेकअप गरेर एउटा सेटबाट अर्को सेटमा पुगेर सम्वाद बोल्ने नेपाली चलचित्रका चर्चित नायक अहिले एउटै चलचित्रको लागि ३ घण्टासम्म मेकअपमा ध्यान दिइरहेका छन् । नायक हमालको यो भूमिका परिवर्तनको सोच उनको रहर होइन वाध्यता हो ।

चलचित्र क्षेत्रमा स्टारडम भन्दा कथावस्तु बिक्न थालेको हमालले राम्रैसँग बुझेका छन् । कमब्याक गरेका केही कलाकार पनि अहिले यो क्षेत्रमा राम्रैसँग जमिरहेका छन् । यसैले पनि यो क्षेत्रमा लामो समयसम्म रहनका लागि भूमिका परिवर्तन र फरक कथाको खोजी गर्नुपर्छ भन्ने बुझेका हमाल अहिले एउटा चलचित्रका लागि घन्टौं लगाएर मेकअप गर्छन् र सेटमा देखिन्छन् ।

करिअरका लागि पनि आवश्यक

भलै अरुका लागि नहोस्, नायक राजेश हमाल आफूले सम्झँदा पनि उनीसँगै त्यस्ता चलचित्र छैनन्, जसले उनलाई कुनै कालखण्डमा छुट्टै आनन्दको अनुभूति दियोस् ।

सबै चलचित्र बक्स अफिसमा सफल हुन्छन् भन्ने पनि छैनन्, कतिपय चलचित्र कलाकारलाई सन्तुष्टि दिनेखालका पनि हुन्छन् । ‘शंकर हुँ म शंकर’ सम्वाद र ‘रातो टीका निधारमा’ मात्र यस्ता हतियार छन्, जसले हमालको ३ सय बढी चलचित्रको यात्रालाई सम्झाउने प्रयास गर्छन् । सायद, यसैले पनि होला, अब राजेश हमालले ५० बर्षबाट उकालो लाग्दै गरेको उमेरमा सम्झनाका केही पलहरु छाड्न चाहन्छन् ।

बलिउड नायक साहरुख खानले आफ्नो जीवनमा ५ यस्ता चलचित्र खेल्ने बताएका छन्, जुन कुनै समय उनका छोराछोरी वा नातिनातिनाले हेर्दा गर्व गरुन् ।

नेपाली चलचित्र क्षेत्रमा दुई दशकदेखि नाम, दाम कमाएका हमालका लागि पनि अब, त्यस्तै केही चलचित्रको आवश्यक छ, जसलाई उनका भावी सन्ततिले पनि हेरेर गर्व महसुस गरुन् । आशा गरौं, हमाल यसमा सफल बन्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment