राजेन्द्र आचार्य
२१ माघ, काठमाडौं । आज विश्व क्यान्सर दिवस । नेपालमा क्यान्सरका बिरामीहरु बढिरहेको अनुमानका आधारमा हामीले क्यान्सर रोगको नेपालमा अवस्था के छ भनेर अन्वेषण गर्ने प्रयास गर्यौं । जसमा तथ्यहरु निकै कहालीलाग्दा देखिएका छन् । जिल्लागत हिसाबले काठमाडौंबासीमा बढी क्यान्सर देखिने गरेको र एक वर्षमा सरदर ८७२९ नेपालीलाई क्यान्सर लाग्ने गरेकोमा महिलाको संख्या ५४ प्रतिशत छ ।
क्यान्सर रोकथाम नियन्त्रण तथा अनुसन्धान विभागले अनलाइनखबरलाई उपलब्ध गराएको तथ्यांकअनुसार सन् २०१३ मा ४ हजार ११ जना पुरुष र ४ हजार ७ सय २९ जना पुरुषलाई क्यान्सरले सताएको छ ।
कुन उमेरमा कति क्यान्सर पीडित ?
तथ्यांक हेर्दा ३५ वर्षदेखि ७४ वर्ष उमेर समूहका मानिसहरुमा बढी क्यान्सरको समस्या देखिएको छ । त्यसो त क्यान्सर ४ महिनाका शिशुहरु र ८० वर्षमाथिका वयोवृद्धहरुमा पनि देखिएको छ । तर, सबैभन्दा बढी जोखिम ३५ वर्षदेखि ७४ वर्षको वीचमा पाइएको छ ।
विभागको वार्षिक तथ्यांकअनुसार ८ हजार ७ सय २९ क्यान्सर पीडितमध्ये ७०-७४ उमेर समूहका बिरामीहरु १२.६ प्रतिशत अर्थात १ हजार ९७ जना रहेका छन् ।
दोस्रोमा उमेर समूहमा ६०-६४ उमेर समूहका बिरामीहरु १२ प्रतिशत अर्थात ९ सय ४१ जना देखिएका छन् । तेस्रोमा ५०-५४ वर्ष उमेर समूहका १०.२ प्रतिशत अर्थात ८ सय ९१ जना छन् ।
उमेरका आधारका क्यान्सरको जोखिमको विश्लेषण गर्दा ४५-४९ वर्ष उमेर समूहका मानिसहरुमा ९.२ प्रतिशत देखिएको छ । एक वर्षमा यो उमेर समूहका ८ सय बिरामी देखिएका छन् । ३५-३९ वर्ष उमेर समूहमा एक वर्षमा ४८७ अर्थात ५.६ प्रतिशत मानिसहरुमा क्यान्सर देखिएको छ ।
त्यसैगरी ३० देखि ३४ वर्ष उमेर समूहका मानिसहरुमा एक वर्षमा ३.९ अर्थात ३ सय ३९० जनामा क्यान्सर पाइएको छ ।
८७ शिशु र २ सय बढी वालवालिका पीडित
एक वर्षको अवधिमा ४ वर्षभन्दा मुनिका ८७ शिशुहरुमा क्यान्सर देखिएको छ । ५ देखि ९ वर्षका ९६ वालवालिकामा क्यान्सर देखा परेको छ भने १० देखि १४ वर्ष उमेर समूहमा १३७ जनामा एक वर्षको अवधिमा क्यान्सर देखिएको तथ्यांकमा उल्लेख छ । १५ वर्षदेखि २९ वर्षसम्मका ५७२ जना अर्थात् ६.६ प्रतिशत नेपालीहरुमा क्यान्सर देखिएको छ ।
एक वर्षमा ८० वर्षभन्दा माथिका ३ सय २७ जनामा क्यान्सर देखिएको छ भने ७५देखि ७९ वर्ष उमेर समूहमा ३ सय ९६ जनामा क्यान्सर देखिएको छ ।
कुन अस्पतालमा कति बिरामी ?
क्यान्सरका बिरामीहरुले नेपालका विभिन्न स्थानमा रहेका १२ वटा स्वास्थ्य संस्थाहरुमा उपचार गर्ने गरेको पाइन्छ । विदेशमा उपचार गर्न जानेहरुको तथ्यांक यसमा थप हुन सक्छ ।
एक वर्षका कुल ८ हजार ७ सय २९ क्यान्सरका विरामीमध्ये ४७.५ प्रतिशत अर्थात ४ हजार १ सय ४८ जनाले चितवनस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गराएका छन् ।
त्यस्तै उपत्यकामा अवस्थित भक्तपुर क्यान्सर अस्पतालमा १५.५ प्रतिशत १३ सय ५४ जनाले उपचार गराएका छन् । एक वर्षको अवधिमा काठमाडौंको वीर अस्पतालमा ९ सय ६८ जना र टिचिङ अस्पतालमा ७ सय ५९ जनाले क्यान्सरको उपचार गरेको तथ्यांकमा देखिन्छ । काठमाडौंका कान्ति वाल अस्पतालमा एक वर्षमा ८० जना वालवालिकाले क्यान्सरको उपचार गरेका छन् ।
त्यसैगरी वीरेन्द्र आर्मी अस्पतालमा २ सय ८६ जना, पोखराको मणिपाल अस्पतालमा ३ सय १७ जना र धरानस्थित वीपी कोइराला मेमोररियल अस्पतालमा ४ सय ९४ जना क्यान्सरका विरामीले एक वर्षमा उपचार गराएको विभागको तथ्यांक छ ।
नयाँ बानेश्वरको सिभिल अस्पतालमा १ सय २२ जना, पाटन अस्पतालमा १ सय २३ जना, सैनिक अस्पतालमा ३० जना र नेपाचल मेडिकल कलेजमा ४८ जना क्यान्सरका बिरामीले एक वर्षमा उपचार गरेको तथ्यांकमा देखिन्छ ।
वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा सेवा लिने बिरामीको संख्या बर्षेनी बढ्दै गएको छ । बर्ष २०११ मा ९० हजार २ सय विरामीले क्यान्सर अस्पतालबाट सेवा लिएकोमा बर्ष २०१२ मा यो संख्या बढेर ९४ हजार ७ सय ८८ पुगेको अस्पतालले जनाएको छ । यसमा क्यान्सरका भने ६ हजार बिरामी उपचारका लागि अस्पताल आएको कार्यकारी निर्देशक सीवी पुनले जानकारी दिए ।
सन् २००३ मा उपचार गर्न ३ हजार २ सय ५१ बिरामीहरु अस्पताल आएकोमा सन् २०१२ सम्म आउँदा ५६ हजार १३ जनामा क्यान्सर भएको तथ्याङ्कमा उल्लेख छ ।
भरतपुरको क्यान्सर अस्पतालबाट मात्रै वर्षेनी ४ हजार ५ सयको हाराहारीमा क्यान्सर रोगी पत्ता लाग्ने गरेका छन् । क्यान्सर रोगीबारे विशेष तथ्यांक नभए पनि नेपालमा करिब एक लाख क्यान्सर रोगी रहेको अनुमान गरिएको विज्ञहरु बताउँछन् ।
पुरुषभन्दा महिलामा बढी समस्या
लैङ्गिक हिसाबले विश्लेषण गर्दा पुरुषमा भन्दा महिलामा क्यान्सरको समस्या बढी देखिएको छ । कुल ८७२९ संख्यामध्ये महिला/ पुरुषको अनुपात ५४/४६ प्रतिशत छ । महिलाहरुमा स्तन क्यान्सर १५.४ प्रतिशत देखिएको छ ।
काठमाडौंबासीलाई बढी जोखिम
जिल्लागत आधारमा १० जिल्लाका क्यान्सर पीडितहरुको तथ्यांक हेर्दा काठमाडौंमा एक वर्षमा सबैभन्दा बढ्ता १०९८ जना पीडितहरु देखिएका छन् । यो भनेको १२.६ प्रतिशत हो ।
काठमाडौंपछि दोस्रोमा सुनसरी, तेस्रोमा मोरङ, चौथोमा कास्की, पाँचौंमा झापा, छैठौंमा रुपन्देही, सातौंमा चितवन, आठौंमा नवलपरासी, नवौंमा ललितपुर र दशौंमा भक्तपुर जिल्ला छन् । (हेर्नुहोस् चार्टमा)
दश वर्षमा क्यान्सरका बिरामी १९ गुणा बढे
क्यान्सर उपचारका लागि मुलुकका विभिन्न ७ वटा अस्पतालमा आएका बिरामीमध्ये सन् २००३ देखि २०१२ सम्मको तथ्याङ्गक गर्दा १९ गुणा बढी बिरामीहरु फेला परेका देखाएको छ ।
नेपालमा वर्षेनी ४० हजार क्यान्सर रोगी थपिने गरेको भए पनि करिब ८ हजारको मात्रै रोग पहिचान हुने गरेको क्यान्सर रोकथाम नियन्त्रण अनुसन्धान विभागका प्रमुख किशोरकुमार प्रधानाङ्गले अनलाइनखबरलाई जानकारी दिए ।
भरतपुरको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा वर्षेनी एक लाख बिरामीहरु क्यान्सर रोगको पहिचानका लागि अन्तरंग विभाग (ओपीडी)मा आउने गरेको समेत प्रधानांगले बताएका छन् ।
विशेष गरी महिलाको पाठेघरको क्यान्सर, स्तन क्यान्सर र पुरुषमा मुखको क्यान्सर बढी देखिने गरेको समेत प्रधानाङ्गले जानकारी दिए ।
क्यान्सर निको हुन्छ तर रोगै लाग्न नदिनु राम्रो
सुरुको अवस्थामा नै क्यान्सर रोगको पहिचान गर्न सकेको अवस्थामा रोग निको हुने गरेको छ । क्यान्सर रोग रोकथाम गर्न सकिने भन्दै वीपी कोइराला क्यान्सर अस्पतालले अस्पताल र समुदायमा समेत विभिन्न समयमा क्यान्सर सम्बन्धी परीक्षण तथा रोकथामका लागि सचेतनामूलक कार्यक्रम गर्दै आएको प्रधानाङ्गले जानकारी दिए ।
चुरोट, सुर्ती लगायतका धुमपानको सेवन नगर्ने, नियमित शारीरिक व्यायाम गर्ने, खानपानमा विशेष सतर्कता अपानाउने हो भने क्यान्सर रोगबाट बाँच्न सकिने प्रधानाङ्गले बताए ।
चाँडो रोग पत्ता लागे निको हुने यो रोगको उपचारका लागि बिरामीहरु भने निकै ढीलो मात्रै अस्पताल पुग्ने गरेको अस्पतालका निर्देशक सिवि पुनले बताए ।
क्यान्सर रोग लाग्ने कारणहरुमा ९० प्रतिशत बाहिरी कारणले लाग्ने चिकित्सकहरु बताउँछन् । हामीले अस्वस्थ्यकर खाना, सुर्तीजन्य पदार्थको प्रयोग, वातावरणनीय प्रदुषण आदिका कारण क्यान्सरको जोखिम बढ्ने उनीहरुको भनाइ छ ।
काठमाडौंलगायत देशका विभिन्न शहरमा प्रदुषण एवं अस्वस्थकर खानाको प्रयोग बढ्दै गएको छ । जंक फुडहरुको प्रयोगले पनि शहरवासीको जनजीवन अस्वस्थकर बनेको छ । स्वच्छ हावाको अभाव र व्यायाम गर्ने बानीको अभावले मानिसहरुको स्वास्थ्यमा जोखिम बढ्दै गएको छ ।
विज्ञहरुका अनुसार नेपालमा मात्रै होइन, विश्वमै क्यान्सरको प्रकोप बढिरहेको छ ।
नेपालमा बिरामीलाई के सहुलियत छ ?
वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनका कार्यकारी निर्देशक डा. सीबी पुनले क्यान्सर रोग लागेका बिरामीहरुको अस्पतालले विशेष सुविधा दिँदै आएको बताएका छन् ।
अस्पतालले १५ वर्ष मुनिका बालबालिका र ७५ वर्षभन्दा बृद्धहरुका लागि निशुल्क उपचारको व्यवस्था गरेको कार्यकारी निर्देशक पुनले बताए ।
त्यसैगरी, क्यान्सर रोग लागेर अस्पतालमा उपचाररत सबै बिरामीको लागि अस्पतालबाट निशुल्करुपमा खानाको व्यवस्था गरिएको समेत पुनले बताएका छन् । अन्य सेवा र सुविधाका लागि स्वास्थ्य मन्त्रालयसँग पहल भइरहेको पुनले जानकारी गराए ।
सरकारी राहतमा झन्झट
सरकारले क्यान्सरको उपचारका लागि एक लाख रूपैयाँसम्म औषधि उपचार नि:शुल्क दिने भने पनि प्रक्रिया झन्झटिलो भएकाले उचित सेवा पाउन नसकेको विरामीहरुले गुनासो गरेका छन् । क्यान्सर लागेर उपचारलाई आएकी मोरङकी ललितमाया खड्काले भनिन्- आर्थिक अभावले गर्दा छुट पाइने आशाले यो बुढेसकालमा पनि उपचार गर्न आएँ, तर क्यान्सर प्रमाणित गर्न नै मलाई ग्राहो भो, छुटको त कुरै नगरौं ।
क्यान्सर अस्पतालको गुनासो
अस्पतालको गुणस्तरीय सेवामा चौतर्फी आलोचना भैरहेका बेला उपचारका लागि अस्पताल आउने विरामीको संख्या भने बढ्दै गएको छ । अस्पतालको आम्दानीभन्दा पनि खर्च बढी भएकाले अपेक्षा कृति सेवा दिन नसकिएको चितवन स्थित क्यान्सर अस्पतालका अधिकारीहरु बताउँछन् ।
भरतपुर क्यान्सर अस्पतालको कुल आम्दानी ४३ करोड ५४ लाख रहेको र खर्च ७२ करोड ६६ लाख २८ हजार रहेको अस्पतालको भनाइ छ ।
तर, क्यान्सरका धेरै विरामी रोग अन्तिम चरणमा पुगेपछि मात्रै अस्पताल पुग्ने गरेको डाक्टरहरु बताउँछन् । साथै अस्पतालमा आउने विरामीको चापको तुलनामा पुरानै संचरना हुँदा स्रोत साधन अभावले उल्लेख्य सेवा दिन नसकेको चिकित्सकहरु बताउँछन् ।
नेपालमा सबैभन्दा बढी मानिसमा फोक्सोको क्यान्सर देखिएको छ । त्यसपछि पेट घाँटी र पिसाबथैलीमा देखिएको पाइएको छ । महिलाहरुमा मात्रै हेर्ने हो भने पछिल्लो समय पाठेघर र स्तनको क्यान्सरमा बृद्धि भएको छ ।
कतिपय अन्य अस्पताल र नर्सिङ होमहरुमा क्यान्सरको उपचार हुने भए पनि उपलब्ध स्रोत साधनमा विश्वास गर्न नसकी धेरै बिरामीहरु उपचारका निम्ति भारत लगायतका मुलुक जाने गरेको छन् ।
क्यान्सर अस्पताललाई आर्थिक अभाव
एशियाको नमूना अस्पतालका रुपमा चिनिएको भरतपुरको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई आर्थिक अभाव भएको छ । वर्षेनी खर्च बढ्दै जाने र बजेट घट्दै गएपछि सामान्य खर्च बाहेक अन्य कुनै काम अस्पतालमा हुन सकेको छैन ।
आर्थिक अभावका कारण उपकरण मर्मत सम्भार हुन नसक्दा बिरामी निजी अस्पतालमा महंगो शुल्क तिर्न बाध्य भएका छन् ।
स्वास्थ्य कर कोष नियमावली २०५१ अन्तर्गत रकम संकलन गरी त्यही रकमबाट अन्य अस्पतालसँगै यस अस्पताल सञ्चालन गर्ने सरकारी योजना भए पनि पर्याप्त बजेट बिनियोजन हुन नसक्दा अस्पताल आर्थिक संकटमा फसेको अधिकारीहरु बताउँछन् ।
क्यान्सर रोगको उपचार, रोकथाम, सतर्कता र अनुसन्धान गर्ने उद्देश्यका साथ स्थापित अस्पतालमा आर्थिक अभावकै कारण अहिले उपचार बाहेकका काम हुन सकेको छैन ।
गत वर्ष खरिद गरिएका विभिन्न सामग्रीको १४ करोड रुपैयाँ यस आर्थिक वर्षमा भुक्तानी गरिएको अस्पतालले जनाएको छ । नियमित रुपमा भुक्तानी दिन नसकेपछि सामाग्री खरिद गर्न समेत नसकिएको अस्पतालका कार्यकारी निर्देशक डा. चीनबहादुर पुनले अनलाइनखबरलाई बताए ।
भरतपुर क्यान्सर अस्पतालमा बजेट अभावका कारण चैत महिनादेखि बिगि्रएको सिटीस्क्यान मेसिन बनाइएको छैन । स्तन क्यान्सर पत्ता लगाउने मेमोग्राम पनि पाँच वर्षदेखि बिगि्रएर थन्किँदा बिरामीहरु निजी अस्पताल धाउन बाध्य छन् ।
अस्पतालका ल्याब परीक्षणका उपकरणहरु, रेडियो थेरापीका उपकरणहरु, शल्यक्रिया टेबलहरु पुराना भएर थन्किने अवस्थामा पुगेको कार्यकारी निर्देशक पुनले बताए । सबै उपकरण १०/१२ वर्षभन्दा पुराना भैसकेकाले मर्मत गरेर सञ्चालन गर्न पनि कठिन हुँदै गएको उनले बताए ।
उपकरण उपलब्ध नहुँदा अस्पतालको शुल्कभन्दा चार गुणाभन्दा बढी शुल्क तिरेर बिरामी निजी अस्पतालमा उपचार गर्न जानुपर्ने अवस्था सिर्जना भएको अस्पताल सञ्चालक समितिका सदस्य राम न्यौपानेले बताए ।
गरिब जनतालाई सस्तोमा क्यान्सरको उपचार गर्न स्थापित अस्पतालमा उपकरण अभावमा उपचार हुन नसक्नु राज्यका लागि लाजमर्दाे विषय भएको न्यौपानेले बताए ।
भरतपुर अस्पतालमा नेपाल र भारतका गरी वार्षिक एक लाख बिरामी उपचारका लागि आउने गर्दछन् । जसमध्ये २६ हजार क्यान्सरका बिरामी हुने अस्पतालले दाबी गरेको छ । वर्षेनी ६ हजार नयाँ क्यान्सरका रोगी थपिने गरेको बताउँदै डा. पुनले शल्यक्रियामात्रै झण्डै तीन हजारको गरिँदै आएको बताए ।
बि. सं. २०५२ सालमा चीन सरकारको सहयोगमा वीपी कोइरालाको नामबाट भरतपुरमा क्यान्सर अस्पतालको स्थापना गरिएको हो ।
प्रतिक्रिया 4