Comments Add Comment

लोडसेडिङसँगै सहरमा आगलागीको समस्या बढ्यो

Lamahi-Aaglagi
२२ माघ, काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यका र इटहरीलगायत स्थानमा आगलागीका घटना बढेका छन् । आगलागी बढ्नुमा लोडसेडिङ पनि एउटा महत्त्वपूर्ण कारक बनेको छ । बिजुलीको भोल्टेजमा उतारचढाव हुँदा आगलागीको खतरा बढेको हो ।

गत सोमबार राति काठामाडौंको डल्लुमा स्टेसनरी पसलमा आगलागी भयो । त्यसै दिन दिउँसो न्यौखास्थित श्रीराम तिमल्सिनाको घरमा पनि आगो लागेको थियो ।फेरि त्यसको भोलिपल्टै मैतिदेवी चोकको घरमा आगो लाग्यो भने, त्यसैदिन नेपाली सेनाको विपत् व्यवस्थापन निर्देशनालयमा आगो सल्कियो ।

बुधबार पनि आगलागीका घटना रोकिएन । सुन्धारास्थित लुम्बिनी गेस्ट हाउस, टोखामा एक फर्निचर उद्योग र तीनकुनेस्थित सुपि्रम डेभलपमेन्ट बैंकको भूमिगत तलामा बुधबार आगो लाग्यो ।

यसरी तीन दिनकाे बीचमा काठमाडौंमा मात्रै आठ स्थानमा आगलागी भएको जुद्ध बारुणयन्त्र कार्यालयले जनाएको छ ।

बारुणयन्त्र कार्यालयका अनुसार प्रायः सबै आगलागीका घटना विद्युत् सर्ट भएर नै भएका छन् भने असुरक्षित पेट्रोल सञ्चयका कारण पनि काठमाडौंमा पछिल्ला दिनमा आगलागीका घटनामा वृद्धि भएका छन् ।

महानगरपालिकाका अनुसार काठमाडौंमा एक वर्षमा झन्डै चार सय आगलागीका घटना हुने गरेका छन् । चालू आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म २० स्थानमा मात्रै आगलागी भएको थियो ।

तर, मंसिरदेखि आगलागीका घटनामा वृद्धि भएको महानगरपालिकाले जनाएको छ । मंसिरदेखि २० माघसम्म एक सय ठाउँमा आगलागी भए । यसै वर्ष एक सय २० वटा आगलागीका घटना भइसके ।

‘एक सय २० दिनमा २० घटना भएका थिए । तर, पछिल्ला सय दिनमै सय घटना भए,’ बारुणयन्त्र कार्यालय प्रमुख किशोरकुमार भट्टराईले भने, ‘मानवीय त्रुटिबिना कुनै आगलागीका घटना हुँदैनन् । लापरबाहीका कारण यसरी आगलागी बढेका हुन् ।’

उनले लोडसेडिङ भएपछि पनि विद्युतीय उपकरणहरू खुला राख्ने र एकैपटक लाइन आउँदा बढी भोल्टेज प्रवाह भएर आगलागी हुने क्रम बढेको बताए ।

‘हिउँद याममा लोडसेडिङ बढेपछि यस्ता घटना बढ्थे । तर, यो वर्ष नाकाबन्दीले विद्युतीय सामग्रीमा बढी निर्भरता बढाएकाले उच्च दरमा आगलागी भएका छन्,’ भट्टराईले भने, ‘यो वर्ष ग्यासका कारण हुने आगलागीका घटना कम छन् । अहिले त घरमा लगेर राख्ने पेट्रोलका कारण धेरै घर जलेका छन् ।’

नाकाबन्दीपछि काठमाडौंका घर-घरमा पेट्रोलको भण्डार बढ्दा पनि अग्निजन्य घटनामा वृद्धि भएको जुद्ध बारुणयन्त्रको ठहर छ । विशेषगरी साँघुरा कोठामा पेट्रोल भण्डार गरेर राख्ने अनि लोडसेडिङका बेला मैनबत्ती बाल्ने गर्दा जोखिम र घटना दुवै बढेको भट्टराईले बताए ।

२४ मंसिरमा असनमा पेट्रोल सञ्चय गरेको कोठामा आगो लाग्दा एक युवकले ज्यान गुमाएका थिए । साउनपछि ७४ वटा आगलागीका घटना विद्युत् सर्ट भएर घटेका छन् भने झन्डै २८ घटना पेट्रोल सञ्चय लगायत कारण भएको महानगरपालिकाले जनाएको छ ।

यो अवधिमा पेट्रोल सञ्चयका कारण भएको आगलागीमा परेर दुईजनाको मुत्यु भइसकेको छ भने, चार घाइते भएका छन् ।

दमकलको हालत दयनीय

काठमाडौंमा आगलागीका घटना बढिरहँदा जुद्ध बारुणयन्त्र भने विभिन्न समस्यामा फसेको छ । लोडसेडिङका बेला आगलागी भएको सूचना आउँदा बारुणयन्त्रका कर्मचारी अध्यारोमै छामछुम गर्दै नियन्त्रणको तयारी गर्न जानुपरेको गुनासो गर्छन् ।

‘राति-राति आगलागीको खबर आउँछ । दुई मिनेट भित्र उठेर दौडनुपर्छ । तर, लाइन नहुँदा छामछुम गर्दै आवश्यक तयारी गर्नुपर्छ,’ ती अग्नि नियन्त्रकले भने ।

बारुणयन्त्रका लागि नेपाल विद्युत् प्राधिकरणले ‘डेडिकेटेड’ लाइन दिनुपर्ने महानगरपालिकाको माग छ । दमकलमा सहज रूपमा पानी पनि भर्न नपाइएको बारुणयन्त्रका अधिकारी गुनासो गर्छन् । बारुणयन्त्रलाई पानी दिन काठमाडौं उपत्यका खानेपानी लिमिटेड -केयुकेएल) ले कुनै चासो नदेखाएको उनीहरू बताउँछन् ।

‘महिनैपिच्छे बिल आउँछ । तर, दमकलमा पानी भर्न जहिले पनि ट्यांकरमै पानी किनेर ल्याउनुपर्छ,’ जुद्ध बारुणयन्त्रका प्रमुख भट्टराईले भने, ‘यो अत्यावश्यक र संवेदनशील सेवालाई जुनसुकै पक्षले बेवास्ता गरेको छ ।’

बारुणयन्त्रमा रहेको २० हजार लिटरको अन्डरग्राउन्ड ट्यांकीमा ट्यांकरबाट पानी किनेर भर्ने गरिएको छ ।

याे पनि पढ्नुस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment