Comments Add Comment

बंगलादेशसित जित्दाजित्दै हार्‍यो नेपाल

Nepal-Cricket-team

चिरञ्जीवी पौडेल

२२ माघ, काठमाडौं । आयोजक बंगलादेशसित क्वार्टरफाइनलमा पराजित भएर नेपाली यु-१९ क्रिकेट टोली विश्वकपबाट बाहिरिएको छ । यद्यपि, नेपाली युवाले यस विश्वकपमा साहसिक प्रदर्शनका साथ आफ्नो छाप छोड्न सफल भएका छन् । फलस्वरुप नेपाली क्रिकेटले फेरि एकपटक विश्वको ध्यानाकर्षण गरेको छ ।

क्वार्टरफाइनलमा बंगलादेशलाई उसकै होमग्राउन्डमा घुँडा टेकाउने सम्भावना नेपालले देखाएको थियो । ब्याटिङ र बलिङ दुवैमा नेपाली खेलाडीले निकै मिहिनेत गरे, तर अन्तिम नतिजा आफ्नो पक्षमा पार्न सकेनन् । क्रिकेटमा स-साना गल्तीले नतिजालाई प्रभावित बनाइदिन्छन् । नेपालको हारलाई केलाउँदा यस्तै गल्तीहरू बढी जिम्मेवार देखिएका छन् ।

बंगलादेशसितको म्याचमा कहाँ-कहाँ चुक्यो त नेपाल ?

१) चार खेलाडी रनआउट

ब्याटिङ र बलिङमा निकै मिहिनेत गरेको नेपालको पराजय सबैभन्दा ठूलो कारण रह्यो नेपालको दयनीय ‘रनिङ बिट्विन द विकेट’ ।

विकेटमा दौडिने क्रममा दुई ब्याट्सम्यानबीच तालमेल नमिल्दा नेपालका चार महत्त्वपूर्ण विकेट गुमे । जसमा कप्तान राजु रिजालको विकेट पनि सामेल थियो । नेपालको इनिङलाई ‘एंकर’ गरिरहेका ओपनर सुनिल धमला पनि रनआउटको सिकार भए । यसैगरी राम्रो लयमा देखिएका तल्लो क्रममा कुशल भुर्तेलले पनि रन आउट भए ।

२) फिल्डिङमा छुटपुट

सामान्यतः नेपाली क्रिकेट टिमको फिल्डिङ चुस्त हुने गर्छ । यद्यपि महत्त्वपूर्ण म्याचमा नेपालको फिल्डिङ धर्मरायो । थुप्रै मिसफिल्डिङ र ड्रप क्याचका दृश्य टेलिभिजनमा देखिए । जब कि बंगलादेशको फिल्डिङ अत्यन्तै धारिलो थियो । फिल्डिङबाट बंगलादेशी खेलाडीले कम्तीमा २०-२५ रन रोकेको ठान्न सकिन्छ ।

३) फास्ट बलिङको संकट

यस विश्वकपमा नेपालको बलिङ लगभग पूर्णरूपमा स्पिनरहरूमा निर्भर रह्यो । नेपालसित स्तरीय फास्ट बलर नहुनुको अभाव पूरै प्रतियोगितामा खट्कियो भने बंगलादेशविरुद्धको म्याचमा झन् टड्कारो देखियो ।

Nepal-Cricket-team-2

बंगलादेशविरुद्ध उत्रेको नेपालको ११ सदस्यीय टोलीमा एकजना पनि विशेषज्ञ फास्ट बलर थिएनन् । फलस्वरुप कप्तान राजु रिजालले सुरुमै स्पिनरलाई बलिङ गराउन बाध्य भए । सामान्यतः इनिङको सुरुवातमा पिचमा रहने ताजापनले फास्ट बलरलाई सहयोग गर्ने विश्वास गरिन्छ । तर, नेपालले यसको लाभ लिन सकेन ।

नेपाले बलिङ गरेका ४८ ओभरमध्ये ३६ ओभर स्पिनरले फ्याँकेका थिए । लगातार स्पिनरले गरेको बलिङ एकतमासको हुन गयो र बंगलादेशी ब्याट्सम्यान अभ्यस्त भए । मध्यम गतिका बलर आरिफ सेखले किफायती बलिङ गरेका थिए ।
तर, उनलाई पाँच ओभर मात्र बलिङ गराएर अर्का मिडियम पेसर दीपेन्द्र ऐरीलाई कप्तानले सात ओभर दिए । दीपेन्द्र महँगा साबित भए ।

४) बंगलादेशको होम ग्राउन्ड

कुनै पनि खेलमा गृह मैदानको ठूलो असर हुन्छ । आफूले लगातार खेल्दै आएको पिचमा खेलाडी पहिल्यैदेखि अभ्यस्त हुन्छन् । गृह मैदानमा आफूभन्दा कमजोर टोलीविरुद्धको खेलका लागि बंगलादेशको मनोबल उच्च थियो । त्यही मनोबलले गर्दा बलिङ र ब्याटिङ दुवैमा उनीहरूले कठिन अवस्थाबाट ‘कम ब्याक’ गर्न सफल भए ।

आफ्नो गृहमैदानमा कुन शैलीको बलिङ र ब्याटिङ प्रभावकारी हुन्छ, कतिसम्मको लक्ष्य पछ्याउन सकिन्छ भन्ने पूर्वानुमान बंगलादेशी टोलीले राम्ररी गरेको थियो । त्यसैले ब्याटिङका क्रममा रन बनाउन संघर्षरत रहँदा पनि उनीहरूले धैर्यता गुमाएनन् । विकेट जोगाउन सके पछिल्ला ओभरमा छिटो रन बटुल्न सकिन्छ भन्नेमा उनीहरू ढुक्क थिए । यसमा नेपालको अनुभव कमीले पनि बंगलादेशलाई फाइदा पुग्यो ।

दुई टर्निङ प्वाइन्ट

आज (शुक्रबार) को खेलमा दुई महत्त्वपूर्ण टर्निङ प्वाइन्ट थिए, नेपालको ब्याटिङ र अर्को बलिङमा । यी दुवै मोडमा कप्तान राजु रिजाल संलग्न छन् ।

१. कप्तान राजुको विकेट

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालको सुरुवात राम्रो भएन । दुई विकेट छिटै गुमाएको अवस्थामा ओनर सुनिल धमला र कप्तान राजु रिजालले इनिङ सम्हाले ।

सानदार ब्याटिङ गरिरहेका राजु क्रिजमा हुँदासम्म नेपाल दुई सय ५० रनको हाराहारीमा पुग्न सक्ने सम्भावना देखाएको थियो, जुन म्याच जित्न पर्याप्त हुन सक्थ्यो । उनी रनआउट भएपछि नेपालको लय भंग भयो । आक्रमणको अवस्थामा रहेको नेपाल बचाउमा केन्दि्रत भयो ।

२. बंगलादेशी कप्तानलाई जीवनदान

पहिले ब्याटिङ गरेर मध्यम योगफल तयार गरे पनि नेपाली बलरले त्यसलाई रक्षा गर्न सक्ने संकेत देखाएका थिए । बलरहरूको कसिलो बलिङमा बंगलादेश घसि्रँदै ब्याटिङ गरिरहेको थियो । २८ ओभरको खेल समाप्त हुँदा बंगलादेशले ४ विकेटको क्षतिमा ९८ रन मात्र बनाएको थियो र नेपालको पकडमा मानिएको थियो म्याच ।

तर, बंगलादेशी कप्तान मेहदी हसन मिराजले ब्याटिङ सम्हाले । बंगलादेशलाई जिताउन उनको विकेट अत्यन्त महत्त्वपूर्ण थियो । बंगलादेश १३४ रनको स्थितिमा हुँदा कप्तान मिराजलाई पेभिलिएन फर्काउने मौका पाएको थियो नेपालले । तर, नेपाली कप्तान तथा विकेटकिपर राजुले स्टम्पिङ चान्स मिस गरे ।

आखिरमा उनै मिराजले अविजित अर्धसतक बनाएर बंगलादेशलाई जितसम्म डोर्‍याए । उनको विकेट खसेको भए खेल जता पनि मोडिन सक्थ्यो ।

विश्वकपबाट नेपालले के पायो ?

विश्व क्रिकेटको ध्यानाकर्षण

Nepal-Cricket-Fan

यो विश्वकपबाट नेपाली क्रिकेट पुनः एकपटक विश्वस्तरमा चर्चित भएको छ । त्यसो त यसअगाडि पनि नेपाल एकपटक क्वार्टरफाइनलमा पुगेको थियो । तर, त्यतिबेला भाग्यको ठूलो हात थियो । यसपटक भिडेर पुगेको हो ।

समूह चरणको म्याचमा न्युजिल्यान्डविरुद्ध सनसनीपूर्ण नतिजा निकालेको नेपालले आयरल्यान्डलाई सजिलैसित हराएर क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको थियो । क्वार्टरफाइनलमा आयोजकलाई कडा टक्कर दिएर नेपालले आफू यो स्तरका लागि योग्य रहेको प्रमाणित गर्न सफल भयो ।

भविष्यका राष्ट्रिय खेलाडी उत्पादन

नेपाली राष्ट्रिय टोलीको कमजोर ‘बेन्च स्टे्रन्थ’ चिन्ताको विषय रहँदै आएको छ । युवा टोलीले विश्वकपमा देखाएको प्रदर्शनले सम्भवतः यो चिन्ता दूर गर्नेछ ।

ब्याटिङमा राजु रिजालले तत्कालै राष्ट्रिय टोलीमा स्थान बनाउन सक्ने क्षमता पुष्टि गरे भने आरिफ सेख, सन्दीप सुनार, सुनिल धमलाजस्ता ब्याट्सम्यानले पनि भविष्यका लागि राम्रो सम्भावना देखाए । यसै प्रतियोगिताबाट नेपालले सन्दीप लामिछानेजस्ता प्रतिभावान स्पिनर जन्माएको छ । जारी विश्वकपमा अहिलेसम्मको एक मात्र ह्याटि्रक उनको नाममा रहेको छ । अरु खेलाडीले पनि भविष्यको राष्ट्रिय टोली कमजोर बन्ने छैन भन्ने सन्देश दिएका छन् ।

भविष्य उज्ज्वल

नेपालको सिनियर टोलीले विश्वकप टि-२० खेलेपछि क्रिकेटलाई सरकार र निजी क्षेत्रले गम्भीरतापूर्वक लिन थालेको हो । यद्यपि अझै पनि क्रिकेटमा पूर्वाधारको अवस्था दयनीय नै छ भने खेलाडीको सेवा-सुविधा पनि सन्तोषजनक छैन ।

यो प्रतियोगिताले फेरि एकपटक क्रिकेटमा लगानी बढाउन र पूर्वाधार खडा गर्न राष्ट्रलाई घचघच्याएको छ । यसैगरी खेलाडीलाई राम्रो वातावरण दिएर पूर्णरूपमा क्रिकेटमा समर्पित हुनका निम्ति प्रेरित गर्न माहोल तयार भएको छ ।

नेपाली क्रिकेट यहाँसम्म आएको खेलाडीको मिहिनेत र प्रतिभाले नै हो । यहाँभन्दा माथि जानका निम्ति खेलाडीको प्रयासले मात्रै पुग्दैन, उनीहरूलाई बढीभन्दा बढी म्याच एक्सपोजरको खाँचो छ । जिम्मेवार निकायले आफ्नो जिम्मेवारी निभाउने हो भने क्रिकेटमा नेपालको भविष्य उज्ज्वल छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment