१२ फागुन, काठमाडौं । तारा एयरको हराइरहेको विमान खोज्न हवाई र स्थलमार्गबाट नेपाली सेनाको टोली परिचालन गरिएको छ । बेपत्ता विमान खोज्न पोखराबाट गएको एयर डाइनेष्टिको हेलिकोप्टर विमान नभेटिएपछि पोखरा फर्केको छ ।
जोमसोम र म्याग्दीको नास्याङ ब्यारेकबाट नेपाली सेनाको टोली स्थलमार्गबाट खटाइएको छ । हवाइ मार्गबाट पनि टोली परिचालन गरिएको छ । नेपाली सेनाको हेलिकोप्टर र डाइनेष्टी एयरको विमान हवाइमार्गबाट तारा एयरको वेपत्ता विमानको खोजीमा छन् । पोखरालाई बेस बनाएर पनि हेलिकप्टरबाट टोली परिचालन भैरहेको छ ।
जोमसोम र म्याग्दीको सीमा क्षेत्रमा दुर्घटना भएको हनसक्ने भन्दै सेनाले दुबै तिरबाट सेना पठाएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
नेपाली सेनाका प्रवक्ता ताराबहादुर कार्कीले अनलाइनखबरलाई दिएको जानकारीअनुसार स्थानीयले दुर्घटना भएको भनेर खबर गरेको रुप्से भिरतर्फ हवाइमार्गबाट सेना पुगे पनि दुर्घटना पुष्टि नभएको बताए ।
‘हाम्रो एउटा टोली सम्भावित क्षेत्र पुगेर फर्कियो तर, दुर्घटनास्थल पत्ता लागेन, भिजिबिलिटी एकदमै कम छ,’ सेनाका प्रवक्ता कार्कीले अनलाइनखबरसँग भने ।
(यो पनि पढ्नुस् : म्याग्दीका बासिन्दा भन्छन्- निलगिरी हिमालतर्फ विमान देख्यौं )
यता जोमसोम ब्यारेक र म्याग्दीको नास्याङ ब्यारेकबाट पैदल मार्गबाट सेना परिचालन गरिएको नेपाली सेनाले बताएको छ । अनुमानित दुर्घटनास्थलमा जान नास्याङ र जोमसोम ब्यारेकबाट केही नजिक पर्ने भएकाले पैदलमार्गबाट सेना परिचालन गरिएको निर्देशनालयले जनाएको हो ।
मुस्ताङका सीडियो लेतेमा
वेपत्ता विमान खोज्न मुस्ताङबाट पनि टोली परिचालन गरिएको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारी लेते भन्ने स्थानमा पुगेका छन् । लेते म्याग्दी र मुस्ताङको सीमानामा पर्छ ।
अधिकारीले अनलाइनखबरसँग टेलिफोनमा भने, ‘विमान मुस्ताङ प्रवेश नगरे पनि सूचना आदान प्रदानमा सहज होस् भनेर लेतेमा आएर बसेको छु ।’
विमान खोज्न हवाइ र पैदल मार्गबाट सम्भावित क्षेत्रमा टोली पठाइएको उनले बताए । तर, प्रतिकूल मौसमका कारण विमान खोज्न कठिनाइ भइरहेको उनले बताए ।
म्याग्दीको दाना गाविसको रुप्से भिरमा विमान दुर्घटना भएको स्थानीयको सूचनाअनुसार त्यसतर्फ सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ । नेपाली सेना, सशस्त्र, जनपद प्रहरी र स्थानीय विमानको खोजीमा लागेका छन् ।
वेपत्ता विमानमा चालक दलका सदस्य ३, विदेशी पर्यटक २ र २ बच्चासहित २३ जना छन् ।
तारा एयरको विमान विहान ८ बजेर ५ मिनेटमा पोखराबाट जोमसोमका लागि उडेको थियो । ८ बजेर १० मिनेटमा घोरेपानी टावरसँग सम्पर्क भएको र त्यसपछि मुस्ताङको टावरसँग सम्पर्क हुनुपर्नेमा नभएपछि वेपत्ता भएको भन्दै खोजी थालिएको थियो ।
पोखराबाट उडेको विमान १६ मिनेटमा जोमसोम विमानस्थल अवतरण हुनुपर्नेमा म्याग्दीको घोरेपानीबाटै सम्पर्क बिच्छेद भएको पोखरा विमानस्थलले जनाएको छ ।
यो पनि पढ्नुस्
तारा एयरको विमान म्याग्दीको दानामा दुर्घटना भएको भन्दै स्थानीयले खबर गरे
खराब मौसमले विमानको खोजी प्रभावित, पोखरामा पानी पर्यो
वेपत्ता विमानमा सिडियो कार्यालयका कर्मचारीदेखि सैनिकसम्म
विमान नभेटिँदा पोखरा र जोमसोम विमानस्थलमा चिन्ता
हराएको नयाँ विमानः क्यानडामा बनेको अत्याधुनिक !

प्रतिक्रिया 4