News Summary
Generated by OK AI. Editorially reviewed.- राणा शासनकालमा दरबारभित्रका नेवारी मालीहरूले ज्याकाराण्डालाई ‘चखुँचा स्वाँ’ भन्ने नेवारी नाम दिएका थिए ।
- ज्याकाराण्डा नेपालको रैथाने वनस्पति होइन। मिचाहा प्रजाति पनि होइन ज्याकाराण्डा ।
- ज्याकाराण्डाको सुन्दरतासँगै यसको सही नाम, इतिहास र वानस्पतिक पहिचानलाई पनि बुझ्नु उत्तिकै आवश्यक छ।
वसन्त ऋतुको आगमनसँगै थरी–थरीका फूलहरूले हाम्रो वरपर थरी–थरीका रङ भरेका छन्। रातो, पहेंलो, सेतो, गुलाबी लगायत विभिन्न रङका फूलले हाम्रो वातावरणलाई सजाएका छन्। काठमाडौं उपत्यका अहिले बैजनी रङले रङ्गिएको छ। यहाँका सडककिनार र पार्कमा बैजनी रङका फूल ढकमक्क फुलेका छन्। उपत्यका अहिले बैजनीमय भएको छ। यो बैजनी रङ भर्ने काम गरेको छ, ज्याकाराण्डा फूलले।
यस फूलको पूरा वैज्ञानिक नाम ज्याकाराण्डा मिमोसिफोलिया (Jacaranda mimosifolia) हो। तर, नेपाली भाषामा यसलाई प्राय:ले ‘नीलो शिरीष’ भनेर चिन्छन्। कतिपयले ‘निर फूल’ पनि भन्छन्। कसैले भने यसको नाम ‘वीरेन्द्र फूल’ राखिदिएका छन्। शहरको सुन्दरता बढाउने यस फूलका अनेकन् नाम भए पनि यसको सही नामबारे मानिसहरूमा चाहिं अझै अन्योल छ।
ज्याकाराण्डा नेपालको रैथाने वनस्पति होइन। यसलाई बाहिरबाट ल्याएर रोपिएको हो। त्यसैले यो नेपालका लागि बाह्य अथवा आगन्तुक प्रजाति हो। वनस्पति जगतको बिग्नोनिएसी (Bignoniaceae) परिवारमा पर्ने यो फूल दक्षिण अमेरिकाको रैथाने प्रजाति हो। अर्जेन्टिनाको उत्तरपश्चिम क्षेत्र, बोलिभिया र पाराग्वेमा यसको प्राकृतिक वासस्थान छ।
वनस्पतिविद्हरूका अनुसार ज्याकाराण्डा नेपालमा सन् १९२० तिर राणा शासनकालमा भित्रिएको हो। यसलाई भारतको दार्जीलिङबाट ल्याइएको मानिन्छ। भनिन्छ, बेलायत र युरोप भ्रमणबाट फर्किएका राणा शासकहरू त्यहाँका व्यवस्थित सडक र उद्यानहरूबाट निकै प्रभावित थिए। राणाकालीन काठमाडौंलाई सुन्दर र आधुनिक देखाउन उनीहरूले यहाँका सडक र दरबारहरूमा त्यही युरोपेली शैलीको भव्यता दिने प्रयास गरे। त्यसका लागि उनीहरूले भारतका दार्जीलिङ, शिमला, देहरादून जस्ता पहाडी भेगबाट विभिन्न फूल र बिरुवाहरू मगाउने गर्थे। त्यही पश्चिमा शैलीको भव्यता पछ्याउने क्रममा ज्याकाराण्डाले नेपाली माटोमा आफ्नो जरा गाड्ने अवसर पाएको हो।
शुरुका दिनमा यो फूल सर्वसाधारणका लागि सुलभ थिएन। यो बैजनी फूल त दरबारका पर्खालभित्रसम्म मात्र सीमित थियो। यसको बैजनी रङले नारायणहिटी दरबारको राजसी ठाँटलाई अझ भव्य बनाउने गर्थ्यो। विस्तारै, यो बिरुवा दरबारमार्ग र टुँडिखेलका सडककिनारमा पनि रोपेर शहरलाई एउटा नयाँ रङ दिने प्रयास गरियो। हिजोआज काठमाडौं उपत्यकाका धेरै स्थानमा ज्याकाराण्डा देख्न सकिन्छ।
शहरमा ‘नीलो शिरीष’
ज्याकाराण्डाको नेपाली नामकरण ‘नीलो शिरीष’लाई पछ्याउदै जाँदा साहित्यकार पारिजातको प्रसिद्ध उपन्यास ‘शिरीषको फूल’ सम्म पुगिन्छ। उपन्यासमा वर्णन गरे अनुसारको नीलो फूल वास्तवमा ज्याकाराण्डा नै हो भन्ने अनुमान गर्न सकिन्छ। नेपालका वरिष्ठ वनस्पतिविद् डा. तीर्थबहादुर श्रेष्ठले पारिजातले काठमाडौंमा देखेको ज्याकाराण्डालाई नै शिरीष ठानेर उपन्यासमा प्रयोग गरेको तर्क प्रस्तुत गरेका छन्।
ज्याकाराण्डाको वैज्ञानिक नाम ज्याकाराण्डा मिमोसिफोलियाको अर्थ हुन्छ, मिमोसा (Mimosa) जातिका वनस्पतिको जस्तै पात भएको। मिमोसा जातिको एउटा प्रजाति मिमोसा पुडिका (Mimosa pudica) अर्थात् लज्जावती झार हो। लज्जावती झारमा पाइने असंख्य स-साना संयुक्त पात र ज्याकाराण्डाका पात एकनासका देखिन्छन्।

मिमोसा सिरिसालाई नै आधार मानेर पारिजातको उपन्यास ‘शिरीषको फूल’ लाई अंग्रेजीमा ‘ब्लु मिमोसा’ नामकरण गरिएको हो। थप वैज्ञानिक अध्ययन र अनुसन्धानपश्चात् फूलको बनावट र आनुवंशिक भिन्नताका आधारमा अल्बिजिया र मिमोसालाई छुट्टाछुट्टै जातिमा विभाजन गरियो। जसले गर्दा मिमोसा सिरिसालाई अल्बिजिया लेबेक नामकरण गरियो। नेपालका रैथाने शिरीषका फूल सामान्यतया गुलाबी, सेता वा हल्का पहेंला हुन्छन्। गाढा बैजनी वा नीलो रङको शिरीष नेपालमा पाइँदैन। तर, ज्याकाराण्डाको पात भने शिरीषसँग धेरै मिल्दोजुल्दो हुन्छ। यही समानताले नेपाली समाजमा ज्याकाराण्डा ‘नीलो शिरीष’ का रूपमा लोकप्रिय भएको हुन सक्छ।
‘चखुँचा स्वाँ’ अर्थात् ‘भँगेरी फूल’
राणा शासनकालमा काठमाडौंका दरबारहरूमा प्राय: नेवार समुदायका मालीहरू हुने गर्दथे। जसले दरबारभित्रका बगैंचाको हेरविचार गर्थे। तिनै नेवारी मालीहरूले ज्याकाराण्डालाई ‘चखुँचा स्वाँ’ भन्ने नेवारी नाम दिएका थिए। नेवारी भाषामा चखुँचाको अर्थ ‘भँगेरो चरा’ र स्वाँको अर्थ ‘फूल’ हुन्छ।
यसरी जमिनमा खसेको ज्याकाराण्डाको फूल हातमा राख्दा भँगेरो चराको जस्तै आकृति देखिने भएकाले यसलाई नेवारी भाषामा ‘चखुँचा स्वाँ’ भनिन्छ। त्यस्तै, पूर्वराजा वीरेन्द्र शाहको सम्झनामा यो फूललाई ‘वीरेन्द्र फूल’ पनि भन्ने गरेको पाइन्छ। तर, पछिल्लो समय यसलाई धेरैले ज्याकाराण्डा भनेरै चिन्न थालेका छन्, जुन वैज्ञानिक रूपमा यसको उपयुक्त नाम हो।
मिचाहा होइन ज्याकाराण्डा
ज्याकाराण्डा नेपालको रैथाने वनस्पति होइन। बाहिरबाट ल्याएर रोपिएकाले यो नेपालका लागि आगन्तुक प्रजाति हो। केही बाह्य प्रजातिहरूले नेपालका रैथाने प्रजातिलाई विस्थापन गर्नुका साथै पारिस्थितिक प्रणालीमा गहिरो असर पुर्याएका छन्। यस्ता प्रजातिहरूलाई बाह्य मिचाहा प्रजाति (Invasive species) भनिन्छ। नेपालमा हालसम्म २९ बाह्य मिचाहा वनस्पति प्रजातिहरूको पहिचान भएको छ। जसमा फेवाताललगायत अन्य जलाशयमा फैलिएको जलकुम्भी (Pontederia crassipes), काँडे वनमारा (Lantana camara), कालो वनमारा (Ageratina adenophora) आदि पर्छन्।
तर, बाह्य प्रजाति हुँदैमा हरेक वनस्पति मिचाहा नै हुन्छ भन्ने पनि होइन। हालसम्म नेपालमा ज्याकाराण्डा रोपेको स्थानबाहेक अन्य ठाउँमा आफैं उम्रिएको पाइएको छैन। साथै, यसले स्थानीय वनस्पतिलाई गम्भीर रूपमा विस्थापित गरेको प्रमाण पनि भेटिएको छैन। दक्षिण अमेरिकाको रैथाने प्रजाति ज्याकाराण्डालाई उष्ण हावापानी उपयुक्त हुन्छ। काठमाडौंको बढ्दो तापक्रम, शहरीकरण र तुषारो घट्दै जानु जस्ता कारणले यो वनस्पति फैलिन अनुकूल वातावरण बनेको देखिन्छ। जसले गर्दा यसको विस्तार र पुनरुत्पादन सम्बन्धी अध्ययन आवश्यक रहेको छ।
प्राकृतिक वासस्थानमा सङ्कटमा ज्याकाराण्डा
रोचक कुरा के छ भने वसन्त ऋतुमा काठमाडौंलाई बैजनी रङले सजाउने ज्याकाराण्डा आफ्नो प्राकृतिक वासस्थानमा भने सङ्कटग्रस्त अवस्थामा पुगेको छ। विश्व संरक्षण संघ (आईयूसीएन) ले सन् २०१९ मा गरेको मूल्याङ्कन अनुसार ज्याकाराण्डाको प्राकृतिक वासस्थानमा संख्या घट्दो क्रममा रहेको छ। सोही कारणले ज्याकाराण्डालाई विश्व संरक्षण संघको रातो सूची अन्तर्गत जोखिमयुक्त प्रजातिमा राखिएको छ।
साहित्यमा नामले खास फरक नपर्ने भए पनि वनस्पति विज्ञानमा नामले ठूलो अर्थ राख्छ। नामले कुनै वनस्पतिको उत्पत्ति, बनावट, सम्बन्ध र इतिहास बोकेको हुन्छ। ज्याकाराण्डालाई नीलो शिरीष भन्नु साहित्य र जनमानसमा लोकप्रिय भए पनि वैज्ञानिक रूपमा त्रुटिपूर्ण छ। यसले फरक फरक जाति शिरीष र ज्याकाराण्डा दुवैको पहिचानमा भ्रम सिर्जना गर्छ। काठमाडौंको सडकलाई बैजनी रङले सजाउने ज्याकाराण्डा निःसन्देह सुन्दर छ। तर, सुन्दरतासँगै यसको सही नाम, इतिहास र वानस्पतिक पहिचानलाई पनि बुझ्नु उत्तिकै आवश्यक छ।
प्रतिक्रिया 4