+
+

कांग्रेस, गगन थापा र गौरवमय इतिहासका मलामीहरु

मलाई नेपाली कांग्रेसको यो १३ औँ महाधिवेशन कांग्रेसको आरम्भिक गौरवमय इतिहासका मलामीहरूको दिग्भ्रमित भीडजस्तो लाग्यो । सामान्यतः राजनीतिक पार्टीको महाधिवेशनले दुईओटा काम गर्छ । एक, विगत कार्यकालको गम्भीर समीक्षा गरेर आफ्ना उपलव्धि र खोटहरूको पहिचान गर्छ । दुई, उक्त मूल्याङ्ककलनका आधारमा समकालीन समाजका अन्तर्विरोधहरूको फस्र्योट गर्ने प्रगतिशील नीति र कार्यक्रमको तर्जुमा गर्छ । तर, कांग्रेसको चालू महाधिवेशनमा त्यस्तो केही भएन ।

अनलाइनखबर अनलाइनखबर
२०७२ फागुन २४ गते १९:०५

खगेन्द्र संग्रौला/ विश्लेषण

मलाई नेपाली कांग्रेसको यो १३ औँ महाधिवेशन कांग्रेसको आरम्भिक गौरवमय इतिहासका मलामीहरूको दिग्भ्रमित भीडजस्तो लाग्यो । सामान्यतः राजनीतिक पार्टीको महाधिवेशनले दुईओटा काम गर्छ । एक, विगत कार्यकालको गम्भीर समीक्षा गरेर आफ्ना उपलव्धि र खोटहरूको पहिचान गर्छ । दुई, उक्त मूल्याङ्ककलनका आधारमा समकालीन समाजका अन्तर्विरोधहरूको फस्र्योट गर्ने प्रगतिशील नीति र कार्यक्रमको तर्जुमा गर्छ । तर, कांग्रेसको चालू महाधिवेशनमा त्यस्तो केही भएन ।

खगेन्द्र संग्रौला

संस्थापन पक्षका प्रमुख रामचन्द्र पौडेलले नीति-कार्यक्रम नामक निष्प्राण स्रेस्ता प्रस्तुत गरिरहँदा महाधिवेशनका अधिकांश प्रतिनिधिहरू बाहिर जुम्लाहात गरेर मत माग्न र ङिच्च हाँसेर कृपाको याचना गर्नमै व्यस्त देखिए । यसरी महाधिवेशनमा अत्यावश्यक वैचारिक विमर्श तुच्छ पदलिप्साको छायाँमा पर्‍यो ।

यो कांग्रेसी महाधिवेशनलाई इतिहसको फड्के किनारामा उभिएर आलोचनात्मक दृष्टिले नियाल्दा यसमा वंशपूजाको भावना लाजमर्नु हुने गरी देखियो । मानौँ जराजीर्ण भई इतिहासको मसानघाटमा थान्को लागेको मृत राजतन्त्रको प्रेत वृद्ध कांगे्रसमा सवार भएको हो । समय गुजिएको औषधिजस्ता वृद्धहरूको पदलिप्सा पनि लाजमुर्न हुने गरी देखियो । र, तेस्रो कुरा, जडवत् नेपाली कांग्रेसलाई पुनःजीवित र समयानुकूल बनाउन चेष्टा गर्ने हस्तक्षेपकारी युवाप्रतिको वंशवाद र वृद्धवादका पक्षधरहरुको उपेक्षाभाव र द्वेष पनि लाजमर्नु हुने गरी देखियो ।

कांग्रेसका वंशपुजारी बृद्ध र वृद्धपुजारी युवाहरूले गगन थापाको सामयिक र साहसिक हस्तक्षेपप्रति समान रुपले द्वेष र निषेधको भावना प्रदर्शित गरेका छन् ।

कांग्रेसका पदपारखी वंशवादी एवं वृद्धवादीहरूको युवाप्रतिको उपेक्षा र निषेध बुझिने कुरा हो । तर जोखिम उठाएर वंशवाद र वृद्धवादसँग हाकाहाकी प्रतिस्पर्धा गर्न आँट गर्ने युवाप्रति कथित युवाहरुद्वारा द्वेष र निषेधको भावना प्रकट गरिनुचाहिँ बडो चिन्ताको विषय हो । यो महाधिवेशनका प्रतिनिधिहरुमा ६३ प्रतिशत युवाको उपस्थिति छ भनिन्छ । तर, ती युवाले आफ्नो वागी विवेक, स्वप्नदृष्टि र दूरदृष्टिका आधारमा रुढ वंशवाद र रुग्ण वृद्धवादलाई चुनौती दिन एउटा सिन्कोसम्म पनि भाँचेनन् ।
युवा भनिने तन्नेरी कुममाथि बूढा टाउका भएका प्रतिनिधिहरुको यो भीडमा गगन थापा अपवादका रुपमा एक्लैजसो उभिए । तर, भविष्यका कर्णधार र इतिहासको रथका सारथी मानिने प्रायः युवाहरू वंशसन्तति र वृद्धहरूकै दौराका फेर समातेर यथास्थितिमुखी पार्टी संरचनामा टाउको लुकाउने ठाउँ खोजिरहेको दृश्य कति हास्यास्पद छ ।

म फेरि दोहोर्‍याउँ, कांग्रेसका वंशपुजारी बृद्ध र वृद्धपुजारी युवाहरूले गगन थापाको सामयिक र साहसिक हस्तक्षेपप्रति समान रुपले द्वेष र निषेधको भावना प्रदर्शित गरेका छन् । यस्तो लाग्छ, मानौँ आफ्नाे क्षमताको परीक्षा एवं प्रदर्शन गर्न कांग्रेसको तहगत भर्‍याङ चढ्न आँट गर्ने युवालाई माथिका वंशसन्तति र बृद्धहरु तिनका टाउकामा कुल्चिन्छन्, तलका कथित युवाहरु तिनका खुट्टा तान्छन् । र, चिनियाँ लेखक लु स्यूनका शब्दमा- प्रभातको कोपिलो गोधूली साँझमा निमोठिन्छ । गगनको हकमा त्यस्तै दृश्य देखियो ।

गगन नेपाली कांग्रेसका एक आभूषण हुन् । यी मनग्गे सम्भावना भएका युवक हुन् । ०६२/६३ को आन्दोलनमा यिनको योगदान उल्लेख्य छ । ब्याख्या गर्नु जरुरी छैन, वाचाल इतिहास स्वयं यसको साक्षी छ । बिडम्बनावश, गगनलाई निषेध गर्न वंश र बृद्ध वृत्तका महारथीहरु तथा तिनका अनुचरहरुले दुर्भाव र कपटको सहारा लिए । पहिले सनातनी तथा रुढ सोच, संस्कार र शैलीप्रति वागी दृष्टिकोण राख्नेहरुलाई कलङ्कति तुल्याउन दरबारको ऐजेन्ट भनिन्थ्यो, अचेल दिल्लीको दलाल भनिन्छ । यसो भन्ने तिनीहरु हुन् जसले दिल्लीधामको तीर्थाटनबाट जिन्दगीभरिका लागि कृपा र आशीर्वाद आर्जन गरिसकेका छन् ।

सिँगाने बालक वृक्षारोहण गर्न खोज्ने ? कृपापूर्वक दिएको पद राजीखुशीले स्वीकार नगर्ने, उमेर, अनुभव, योगदान र सामथ्र्यले नभ्याउने पद ताक्ने ? हिजोको फुल, आजको चल्लाको यो चाल ∕ यी वंश र बृद्धको वृत्तबाट गगनतर्फ सोझ्याइएका कटाक्षहरु हुन् । आश्चर्य, सौभाग्यशाली वंशसन्ततिको हकमा यी कटाक्षहरुको प्रयोग गर्ने लेठो गरिएन । मानौँ महान् पिताको पुत्र हुनु स्वतः महान् हुनु हो । मानौँ लोकतन्त्रमा पनि राजतन्त्रमा झैँ पैत्रिक उत्तराधिकारबाट स्वतः नेतृत्वको प्राधिकार प्राप्त हुन्छ ।

Congress Voting (21)कांग्रेसी महाधिवेशनमा वंश सन्ततिसामु दासानुदास मुद्रामा नतमस्तक हुने भीड देख्दा कांग्रेस पार्टीले मलाई राजतन्त्रीय पञ्चायतको झल्झली सम्झना गरायो । मानौँ यी वंशसन्तति नरेशपुत्र युवराजधिराज हुन् । र, मानौँ महाधिवेशनका अधिकांश कांग्रेसी प्रतिनिधिहरुचाहिँ आत्महीन पञ्चहरु हुन् ।

रोचक र साथसाथै कारुणिक कुरा के भने, सादा जीवन र उच्च विचारका धनी र त्यागी एवं निष्कलङ्क भनिने संस्थापन प्रमुख रामचन्द्र पौडेल स्वयंं वंशवादको बैसाखी टेकेर मखलेल मुद्रामा प्रस्तुत भए । पौडेलले वीपीपुत्र र गणेशपुत्रको बीचमा उभिएर आफूलाई तिनका निरीह छायाँका रुपमा अघि सारे । मानौँ वंशवृक्षको छहारीमा आत्महीन र निजत्वविहीन मुद्रामा उभिन पाउनु बृद्ध एवं पदाकांक्षी कांग्रेसीको अहोभाग्य हो ।

महाधिवेशनमा जे देखियो, केवल लोकतन्त्रविरोधी वंशवादको रोग देखियो । महाधिवेशनमा जे देखियो, केवल बृद्धगणको अन्तहीन सत्तालिप्सा देखियो ।

कांग्रेसको यो महाधिवेशनमा समयको धड्कन, इतिहासका पदचाप र जनजनका सपनाप्रति बेखबर बृद्धहरूको अशोभनीय अभिनय दृष्टिगोचर भयोे । सभापतिका दुबै लाठे गुटका उम्मेदवारले भनेका छन्- वर्तमान संविधान बनाएको र जारी गरेको श्रेय कांग्रेसलाई प्राप्त भएको छ, त्यसैले संविधान कार्यान्वयन गर्ने दायित्व पनि कांग्रेसकै काँधमा छ । तर कार्यान्वयन गर्नेचाहिँ कहाँ र कसरी हो ? यसबारे यी महारथीहरु मौन छन् ।

संविधानको प्रयोजन नेपाली समाजका बहुआयामिक द्वन्द्वलाई न्यूनीकरण गर्नु, र खण्डित नेपाली समाजलाई सामाजिक न्यायको धरातलमा भावनात्मक एवं मनोवैज्ञानिक रुपले एकीकरण गर्नु हो । तर परिणाम उल्टो भइदियो । संविधानले जो भएका द्वन्द्वहरुलाई अझ तीव्र बनाइदियो र तिनलाई अझ विस्तार गरिदियो । यो संविधानले मधेश र थरुहटका हृदयमा धेरै घाउ बनाएको छ । यी घाउको मूल स्रष्टा नेपाली कांग्रेसको तात्कालीन सरकार हो । यस अर्थमा यी घाउहरु नेपाली कांग्रेसका कृतिहरु हुन् । नेपाली कांग्रेसलाई लोकको प्रश्न छ- यी घाउको उपचार गर्ने भौतिक र मनोवैज्ञानिक उपायहरु के हुन् ? महाधिवेशनमा कांग्रेसी हस्तीहरु यसबारे मौन छन् ।

कांग्रेसी रथका सारथी बन्न रहर गर्ने वंशमार्गीहरु र बृद्धहरुमा संविधानप्रति असन्तुष्ट समुदायहरुका न्यायोचित आकांक्षालाई सम्बोधन गरी तिनका पीडाको उपचार गर्ने कुनै मूर्त्त योजना देखिएन । विनाशकारी भूकम्पको नतिजास्वरुप दुर्दशामय जीवन बिताइरहेका लाखौँ पीडितहरुको जीवनको नवनिर्माण गर्ने कुनै मूर्त्त परिकल्पना देखिएन । न नेपाल-भारतबीचको क्षतविक्षत भएको कूटनीतिक सम्बन्धमा सुधार ल्याउने कुनै ठोस सोचाइ नै देखियो । महाधिवेशनमा जे देखियो, केवल विचारधारा, जीवनमूल्य र नैतिकताको टाटपल्टाइ देखियो । महाधिवेशनमा जे देखियो, केवल लोकतन्त्रविरोधी वंशवादको रोग देखियो । महाधिवेशनमा जे देखियो, केवल बृद्धगणको अन्तहीन सत्तालिप्सा देखियो । सारमा महाधिवेशनमा जे देखियो, केवल पश्चगमनको वासना देखियो ।

संक्षेपमा, यो कांग्रेसी महाधिवेशन अग्रगामी तथा प्रगतिशील विचारधाराको छातामुनि उभिएर कुनै स्पष्ट लक्ष्यतिर उन्मुख देखिएन । कांग्रेस लोकतान्त्रिक राजनीतिक दलजस्तो नभई एकाध भगवान र बाँकी भक्तगणको भीडजस्तो देखियो । वंशवाद र बृद्धवादको मनपरीलाई तोड्न जो हस्तक्षेपकारी मूडमा वागी भएर खडा भयो, उसलाई बिष्टहरुको पवित्र यज्ञमा पाइला टेक्न पुगेको दलितलाई झैँ निन्दित र अपमानित गरियो ।

जात, वंश, वर्ण र लिङ्गमा आधारित राजतन्त्र समाप्त हुँदा नेपाली समाजले आफूलाई थिच्ने पर्वत पन्छिएको महसुस गरेको थियो । अहिले राजतन्त्रको वंशीय प्रेतले कांग्रेसमा मुन्टो उठाएको देख्दा नेपाली समाज स्तव्ध भएको छ ।

नेपाली कांग्रेसमा बीपी कोइरालाको अतिरञ्जित महिमा मण्डन गर्दै उनको देवत्वकरण गरियो । नतिजा के भयो ? कांग्रेसमा वीपीपुत्रलाई देवपुत्र वा देवदूत ठान्ने दास मनोवृत्तिको विकास भयो । अहिले महाधिवेशनमा देवदूतरुपी वीपीपुत्रको छेउमा उभिन, उनको स्तुति गर्न, उनलाई स्पर्श गर्न र उनका कृपाको याचना गर्न पाउँदा आफूलाई धन्य ठान्ने भक्तहरुको भीड ठूलै छ ।

नेपाली कांग्रेस गौरवमय इतिहास भएको पार्टी हो । यसले जन्मकालदेखि तीनवटा मान्यताका आधारमा आफ्नाे पहिचान निर्माण गरको छ । ती हुन्, प्रजातन्त्र, राष्ट्रियता र समाजवाद । तर, यीमध्ये कुनै पनि मान्यताप्रति वर्तमान महाधिवेशन गम्भीर देखिएन । उच्च पदका आकांक्षीहरुले यी तीन मान्यताको उच्चारण त गरे, तर त्यो उच्चारण गराइ केवल अतीतको खिया लागेको कर्कश टेप बजेजस्तो सुनियो ।

नेपाली कांग्रेस आफ्नाे मौलिक औतारमा अपेक्षाकृत उदार विचारधारायुक्त र अपेक्षाकृत सहिष्णु पार्टी हो । यो नेपाली राजनीतिमा मध्यपन्थी एवं समन्वयकारी भूमिका खेल्ने सम्भावना र सामथ्र्य भएको पार्टी हो । तर वर्तमानको कंाग्रेसी मूलधार कांग्रेसको यो विशिष्ट चरित्रबाट च्यूत भएको छ । यो न उदार छ, न सहिष्णु, न समन्वयकारी । यो अनुदार, असहिष्णु र विग्रहकारी छ ।

कांग्रेसी महाधिवेशनले आफ्नो गौरवमय अतीतलाई पुनर्जागृत गर्ने चेष्टा गर्नुपथ्र्यो, त्यो भएन । यो महाधिवेशन प्रतिस्पर्धी युवाहरुप्रति सहयोगी, प्रेमी र संवेदनशील हुुनुपथ्र्यो, त्यो पनि भएन । यसले नेपाली समाजका ज्वलन्त समस्याहरु हल गर्ने मूर्त्त योजना अघि सार्नुपथ्र्याे, त्यो पनि भएन । त्यसैले कांग्रेसको यो महाधिवेशनलाई कांग्रेसकै गरिमामय इतिहासमा लागेको खग्रास ग्रहण हो भन्नु अतिशयोक्ति नहोला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?