
९ वैशाख, काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसीपअन्तरगत नेपाल र नामिबियाबीच पहिलो म्याच भइरहँदा एक विशिष्ट दर्शक थिए, त्रिवि क्रिकेट मैदानमा । उनी प्रमुख अतिथिको पोजमा गजधम्म परेर खेल हेरिरहेका मात्र थिएनन्, आम दर्शककै शैलीमा हुटिङ गर्दै खेलाडीहरुको हौसला बढाइरहेका थिए ।
ती विशिष्ट थिए, उपराष्ट्रपति नन्दबहादुर पुन । ‘सेरेमोनियल’ पदमा आसीन भए पनि जो स्वभावैले अनौपचारिक छन् । खेलकुद भनेपछि हुरुक्क हुने उपराष्ट्रपति पुन नेपालले नामिबियासँग महत्वपूर्ण म्याच खेलिरहँदा मैदानमा नपुगिरहन सकेनन् । नेपालको बलिङ टेलिभिजनमा हेरेका उनी ब्याटिङ सुरु हुने बेला कीर्तिपुर पुगेका थिए । नेपालले जितेपछि रमाउँदै फर्के ।
रोचक कुरा के छ भने कीर्तिपुरमा खेल हेर्न जानुअघि उपराष्ट्रपति पुनः क्रिकेटका नियमहरु बुझ्दैनथे । तर, नेपाल र नामिबियाबीच भिडन्त हुने भनेपछि उनी खेल हेर्न जोसिए । उपराष्ट्रपति पुग्दा पहिलो इनिङ सकिएर दोस्रो इनिङ सुरु भएको थियो, र नेपाली खेलाडी ब्याटिङमा थिए ।
उपराष्ट्रपतिले खेल हेर्दै नियम सिक्दै थिए । जति बुझ्दै गए, उति जोशिँदै गए । उनी त्यहाँ नबुझेका कुरा प्रेस सल्लाहकार मनोज घर्तीमगर र अन्य सहयोगीहरुसँग सोध्थे ।
उपराष्ट्रपतिका प्रेस सल्लाहकार घर्तीमगर भन्छन्, ‘उहाँ क्रिकेटको फ्यान भएर होइन, खेलाडीहरुको हौसला बढाउने उद्देश्यले जानुभएको थियो । तर, फर्किँदा क्रिकेटको फ्यान बन्नुभयो ।’
घर्तीमगरका अनुसार उपराष्ट्रपति पहिलेदेखि नै जुनसुकै खेलकुदमा रुची राख्ने भए पनि क्रिकेट चाहिँ हेर्दैनथे । नेपालले क्रिकेटका अन्तर्राष्ट्रिय प्रतियोगिताहरु खेल्दा नतिजाबारे सोधखोज भने गर्थे ।
‘नियमहरु थाहा नभएर होला, उहाँ पहिले क्रिकेटको पारखी हुनुहुन्नथ्यो,’ घर्तिमगर भन्छन्, ‘मैदानमा मात्र होइन, टेलिभिजनमा पनि कहिल्यै क्रिकेट हेर्नुभएको मलाई थाहा छैन ।’
नेपाल-नामिबिया पहिलो म्याच हेरेपछि भने पुनको क्रिकेटमा निकै रस पसेको छ । दोस्रो म्याच उनले टेलिभिजनमा हेरे । पहिलो इनिङमा नेपालले बलिङ गर्दा उनले कार्यालयमा बसेर हेरे भने त्यसपछि निवासमा ।

उनीसँग सचिवालयका कर्मचारी र परिवारका सदस्यहरु थिए । दोस्रो म्याच हेर्दा उनी नियम बुझ्ने मात्र होइन, हल्काफुल्का विश्लेषण गर्नसमेत थालिसकेका थिए । ‘पारसले सेन्चुरी हानेको खण्डमा नेपालले जित्छ,’ उनी भनिरहेका थिए ।
नेपालका दुई म्याच हेरेपछि उनले नेपालका थुप्रै खेलाडीलाई ‘नोटिस’ गरेका छन् । उनी कप्तान पारस खड्कासहित शरद भषावकर, सागर पुन, सोमपाल कामीलगायतको नाम लिने गर्छन् ।
‘नेपालले खेल जित्दा बुबाको अनुहार नै अर्को भएको थियो,’ उपराष्ट्रपति पुनका छोरा दिपेशले भने, ‘मैले कुनै पनि खेल हेर्दा उहाँ यति जोसिनुभएको देखेको थिइनँ ।’
पदीय मर्यादाका कारण आफ्नो भावुकतालाई नियन्त्रण गर्न कतिपयले सुझाव दिए पनि पुनले भन्ने गर्छन्, ‘के उपराष्ट्रपतिले चाहिँ खुशी हुन पाउँदैन ?’
पुराना भलिबल खेलाडी
खेलकुदका पारखी उपराष्ट्रपति पुन भलिबलका राम्रा खेलाडी हुन् । जनयुद्धमा जानुअघि उनी रोल्पाको स्कुलमा खेलकुद शिक्षक थिए । त्यहाँ उनी नियमितरुपमा भलिबल खेल्थे र खेलाउँथे । उनी कडा सट हान्नमा कहलिएका थिए ।
भलिबलको राष्ट्रिय प्रतियोगितामा ०३९ सालमा उनी मध्यपश्चिमबाट छनोट भएका थिए, तर बिरामी भएर खेल्न सकेनन् । क्षेत्रीय प्रतियोगितामा भने पटक-पटक उनले भाग लिएका छन् ।
भलिबलबाहेक फुटबलमा पनि उनको ठूलो रुची छ । फुटबलका अन्तर्राष्ट्रिय म्याचहरु भ्याएसम्म टेलिभिजनमा हेर्छन् । फुटबलमा उनको प्रिय राष्ट्र अर्जेन्टिना हो भने मनपर्ने खेलाडी लियोनल मेस्सी हुन् । क्लव फुटबलमा उनी बार्सिलोनाका समर्थक हुन् ।
उपराष्ट्रपति भएपछि उनी टेबुलटेनिसमा आकर्षित भएका छन् । अहिले हरेक बिहान सचिवालयका कर्मचारी तथा परिवारसँग टेबुल टेनिस खेल्छन् ।
प्रतिक्रिया 4