Comments Add Comment

विदेशिएका आमाबुबाको पीडाः म ताक्छु मूढो, बञ्चरो ताक्छ घुँडो !

‘मेरो त बाबा पनि विदेश, मामु पनि विदेश । घरमा त हजुरआमा र म मात्रै । त्यसैले मैले जे गरे पनि कसैले यहाँ केही गर्ने होइन क्यारे !’ १२ वर्षको अबोध बालक समीर आफ्नो स्वतन्त्रतालाई साथीहरु माझ प्रस्तुत गर्दैछ ।

समीरका बाबा मामु दुवै ऊ सानै छँदा विदेशिनुभएको थियो । धेरै धन कमाउने लोभमा उहाँहरु विदेशिनु भएको हो । जसले गर्दा समीरले मातृ तथा पितृ स्नेहको आभास गर्न पाएको थिएन ।

‘समीर, तिमीले बाबा, मामुलाई देखेका छौं ?’ कहिले काहीँ कसैले सोधिहाल्ने प्रश्नमा उसको उत्तर हुन्थ्यो, ‘फेसबुक र स्काइपमा त देखेको छु । तर, प्रत्यक्ष भेटेको चाहिँ छैन । सानैमा भेट भएको थियो रे ।’

सामाजिक सञ्जालमा मात्र समीरले आफ्नो अभिभावकलाई देखेको हो । ऊ सानै छँदा बाबा मामु विदेशिनुभएको थियो । स्वदेशमा रोजगारीको अवसर नपाउँदा उहाँहरु विदेशिनु भएको थियो । जसले गर्दा समीरले आफ्नो अभिभावकको स्नेह पाउनबाट बञ्चित थियो ।

अभिभावकहरु खाडी मुलुकमा गएपछि लामो समयसम्म ऊ विद्यालयको होस्टलमा कैद हुन बाध्य बन्यो । बाबामामुको माया पाउनु पर्ने वाल्यकालमा कैदी सरह थियो ऊ । उसको स्वतन्त्रता खोसिएको थियो ।

त्यो बाल मनको अभिभावकबाट माया, प्रेम र स्नेह पाउने अधिकार त्यहाँ कुण्ठित भएको थियो । उसका अभिभावकहरु खाडी मुलुक गएको पनि करिब १० वर्ष पुगिसकेको थियो ।

सन्तानको भविष्य उज्जवल बनाउन विदेशिएका समीरका बाबामामुले न त अभिभावकको काखमा रमाउन चाहने समीरको बाल सुलभ मनको भावनालाई बुझे न त परदेशमा सोचे अनुरुपले धन कमाउन नै सके । उनीहरु परदेशमा   पैसाको बोटमा चडेर धन टिपौंला झैँ गर्दै विदेशिएका थिए ।

तर, वास्तविकता त भोग्नेलाई पो थाहा हुन्छ ! खाडी मुलुकमा गएर समीरका अभिभावकले तातो घाममा काम गर्नु पर्दा मात्र उनीहरुले स्वदेशी माटोलाई सम्झिए ।

आज कतिपय नेपालीहरु स्वदेशलाई धिकारेर विदेशिन्छन् । तर, अर्काको देशमा कडा परिश्रम र मेहनत गरेर दुई चार पैसा जोगाउँदा आज विदेशिएका सबै नेपाली दाजुभाइ, बुबाआमाहरुलाई रमाइलो लाग्छ !

Gaurav-Pokharel‘स्वदेशको माया त परदेशमा अर्काको लागि श्रम बेच्नु पर्दा  पो लाग्दो  रहेछ !’ विदेशिनेहरु भन्ने गर्छन् । स्वदेशमै पनि विदेशमा जति परिश्रम गर्ने हो भने हामीलाई अमेरिका स्वदेशमै छ । जापान स्वदेशमै छ । हङ्कङ, स्वीजरल्याण्ड र फ्रान्स स्वदेशमै छ ।

यता, समीरको उमेर पनि बढ्दै थियो । ऊ अहिले पनि विद्यालयको होस्टलमा कैद छ । यो उसको बाध्यता हो । स्वतन्त्रताको खोल ओडेर पनि ऊ होस्टलको हाता भित्र सीमित छ । के यही हो त स्वतन्त्रता ?

सधैँ भरी एकैनास त कहाँ हुन्छ र ? समीर कक्षा ९ मा पुगेपछिको कुरा हो । ऊ धेरैजसो सामाजिक सञ्जाल फेसबुकमा व्यस्त रहने गर्थ्याे ।

फेसबुकको लतले गर्दा एक किसिमले ऊ एकान्तप्रेमी नै भएको थियो भन्दा पनि फरक नपर्ला ।  साथीहरुसँगको भेटघाट भन्दा पनि सामाजिक सञ्जालमा धेरै रम्ने गर्थ्यो। सायद सामाजिक सञ्जालको अध्यारो पक्ष पनि यही होला ।

कहिले जोड्छ फेसबुक ! कहिले तोड्छ फेसबुक ! कहिले हँसाउछ फेसबुक ! कहिले रुवाउँछ फेसबुक ! धन्य छ, तिमीलाई मार्क जुगरवर्क !

सामाजिक सञ्जालमा दैनिक जसो रुमल्लिरहदा समीरको एक जना ‘हन्टर’ नाम  गरेको साथीसँग परिचय भयो । ‘हन्टर’ उसको निकनेम रे ! यहाँ फेसबुले समीरलाई ‘हन्टर’सँग जोडिदियो ।

समय बित्दै गयो । ‘हन्टर’सँग समीरले एक दिन स्थानीय होटलमा भेट गर्‍यो । ‘हन्टर’ पनि समीर जस्तै स्वभावको रहेछ । उसका परिवार पनि सबै विदेशिएका ।

ऊ मावलमा बस्थ्यो । समीर र हन्टर केही दिनमै मिल्ने साथी भए । उनीहरुको भेट दैनिक हुन थाल्यो । ‘हन्टर’ पहिल्यै लागू पदार्थको दुर्व्यसनीमा परेको रहेछ ।

‘हन्टर’का लागि ब्राउन सुगर, कोकिन, हिरोइन र गाँजा त सामान्य रहेछन् । अरु त नामै  केके हो  केके ? सुन्दै जिरिङ्ग हुने । किशोरावस्थामा संगत न हो ।

आखिर आफ्नो ‘बेस्ट फ्रेन्ड’ नै दुर्व्यसनी भएपछि समीरको के हालत भयो होला ?

शुरु शुरुमा त समीर लागू पदार्थबाट टाढै रहन खोज्थ्यो । तर के गर्नु ? दैनिक भेट हुने साथी नै दुर्व्यसनी भएपछि समीर पनि  विस्तारै कुलतको दलदलमा फस्दै गयो ।

दुवै धनी बुबाका सन्तान थिए । समीरको फुर्सदिलो समय-स्कुलको टिफिन, ब्रेक लगायतमा साथी ‘हन्टर’ सँग भेट्ने गर्थ्यो ।

होस्टलबाट पनि कति पटक सरहरुलाई छलेर ‘हन्टर’लाई भेट्न जाने गरेको थियो ।

लागूपदार्थजन्य सामग्री समीरले ‘हन्टर’ लाई पैसा दिएपछि उसैले ल्याई दिने गथ्र्यो । शुरुशुरुमा त उसलाई सित्तैमा दिएको थियो । पछि समीर लागू पदार्थ सेवन नगरी एक पल पनि रहन नसक्ने भएपछि ऊ आफैं  ‘हन्टर’लाई भेट्न गएर ‘ड्रग्स’ ल्याउने गर्थ्यो ।

समय वित्दै गयो । अब त प्रत्येक पलपलको साथी सरहनै भएको थियो- उसका लागि लागू पदार्थ ।

दुर्व्यसनी भएपछि अभिभावकलाई पनि बिर्सिँदै गएको थियो । पढाइको त कुरै छाडौं । उसले अभिभावकलाई सम्झन्थ्यो त, ड्रग्स खरिद गर्नका लागि रकम अभाव भएको बेला ।

एक दिन समीर होस्टलको शौचालयमा बसेर सिरिन्ज र त्यहाँभित्रको लागू पदार्थको चरम आनन्दको रसास्वादन गरिरहेको थियो ।

‘टकटक… टकटक….’ ढोकामा कसैले ढक्ढक्याएको आवाज आयो । लागूपदार्थले दिएको क्षणिक आनन्दमा रमाइरहेको समीरको ध्यान भङ्ग भयो ।

ऊ आकाशबाट खसेझैँ भयो । उसले हत्तपत्त सिरिन्ज लुकायो र मुख धोएर ढोका खोल्यो ।

ढोकामा वार्डेन रहेछन् । समीर किंकर्तव्यविमूढ भयो । महिनौंदेखि सुषुप्त रहेको उसको वास्तविकता आज बाहिरियो ।

त्यो दिन समीरका बाबामामु उसलाई ‘सरप्राइज’ दिन भनेर जानकारी नै नदिई उसलाई लिन होस्टलमा आउनुभएको रहेछ ।

तर, समीरले बाबा मामुलाई नै ठूलो सरप्राइज दियो ! लागू पदार्थ दुर्व्यसनको कुलतमा फसेको आफ्नो अवस्था उसले बुबा मामुलाई सरप्राइज दिएको हो ।

छोराले राम्रो पढ्ला । देशमा आफ्नो पृथक छाप छाड्न सफल होला । उसले कहिल्यै दुःख भोग्नु नपरोस् । यी थिए उसको बाबा र मामुका सपनाहरु ।

तर, समीरले बाबा मामुका सपनाहरु माथि तुषारापात गरिदियो । समीरका बाबामामुले केही बोल्न सकेनन् । उनीहरुको आँखाबाट आँसुका बलिद्र धारा बगिरहेको थियो ।

छोराका लागि भनेर विदेशिएका उनीहरुको बल्ल आँखा खुले । बाबा मामुको कोमल स्नेहबाट बञ्चित हुनु पर्दा नै आज समीर लागू पदार्थको दुष्चक्रमा फसेको थियो । यदी उसले बाबुआमाको माया पाएको भए ऊ लागू पदार्थको कुलतमा फस्ने थिएन होला सायदै ।  यहाँ साथीको त के दोष ?

छोराका लागि भनेर खाडी मुलुकमा गरेको कडा परिश्रम आखिर व्यर्थै भयो  ।

‘म ताक्छु मुढो, बञ्चरो ताक्छ घुँडो !’ समीरको बाबा र मामुले पुर्पुरोमा हात राख्दै एकै स्वरमा भने, ‘यो उखान छोरोको व्यवहारले आज चरितार्थ भयो ।’ र, उनीहरुले छोरालाई सुधार गृहमा राख्ने विचार गर्दै समीरलाई घर लिएर गए  ।

‘पढाइमा अब्बल समीरको व्यवहारमा एकाएक परिवर्तन आएको देखेर हामी सबै दुःखित भएका थियौं ।’ यो घट्ना बाहिर आएपछि एक जना समीरको कोठा छेऊकै साथी भन्थें, ‘ऊ त त्यति बेलै लागू पदार्थको दुर्व्यसनमा फसिसकेको रहेछ ।’

समीरको कथा त एउटा प्रतिनिधि हस्ताक्षर मात्र हो । आज नेपाली समाजमा यस्ता समीरहरु हजारौं छन् जो आफ्नो मातृत्व र पितृत्वबाट बञ्चित हुँदा लागू पदार्थ दुर्व्यसनीको दलदलमा नराम्ररी फसेका छन् । नेपाली बाबुआमाहरुले यसतर्फ समयमै ध्यान पुर्‍याउन जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment