Comments Add Comment

‘कान्स’ मा प्रियंकाः रेड कार्पेटमा उभिएको फोटोले साख जोगाउन गाह्रो

विश्वका चर्चित सेलिब्रिटीहरु उपस्थित हुने चर्चित महोत्सव हो, ‘कान्स फिल्म फेस्टिभल’ । कान्सको ७२ औं संस्करणमा नायिका प्रियंका कार्कीले सहभागिता जनाउने कुराले नेपाली मिडियामा निकै तहल्का मच्चियो । कान्समा नेपाली चलचित्रको प्रतिनिधित्व गर्नु ऐतिहासिक नै थियो ।

प्रियंकाले आफूलाई कान्सबाट नै निमन्त्रणा आएको बताएकी थिइन् । उनले कान्समा जादै गर्दा भनेकी थिइन्–‘मलाई कान्सको टिमबाट नै निमन्त्रणा आएको हो । त्यहाँ आफै प्रवेश गर्न पाइँदैन । कान्सका सदस्य नै मलाई भेट्न आउनुभएको थियो ।’

उनले यो आफ्नो लागि मात्र नभएर नेपालको लागि पनि महत्वपुर्ण भएको समेत बताएकी थिइन् । उनले भनेकी थिइन्, ‘त्यहाँ म कुनै नेपाली चलचित्रको शोमा मात्र उपस्थित हुन लागेकी होइनँ । म मे २० देखि मे २४ सम्म हुने विभिन्न कार्यक्रममा सहभागीता जनाउनेछु ।’

निकै उत्साहित भएर गएकी प्रियकाको कान्समा सहभागीता कस्तो हुने हो भनेर नेपाली प्रशंसकहरु जिज्ञासु थिए । उनीहरु बारम्बार कान्सको फेसबुक पेज र प्रियंकाको इन्टाग्राम चेक गरिरहेका थिए । सबैभन्दा ठूलो प्रतिक्षा भने उनको ‘रेड कार्पेट इन्ट्री’ मा थियो ।

अनलाइनखबरसँगको कुराकानीमा प्रियंकाले आफू गएको दिन नै रेड कार्पेटमा हिड्ने बताएकी थिइन् । तर, त्यो दिन उनी रेड कार्पेटमा उपस्थित भइनन् । बरु, उनले बलिउडका नायिकाहरुको कपी गरेर लगाएको पहिरन भाइरल बन्यो । बेलुका ‘वल्र्ड पिस नाइट’ कार्यक्रममा सहभागीता जनाइन् । त्यहा उपस्थित भएका केही विदेशी सेलिब्रेटीहरुसँग उनले सेल्फी खिचिन् । खिचिएको सेल्फी सामाजिक संजालमा पोष्ट गर्दै लेखिन्, ‘कान्समा सेलिब्रेटीसँग ।’

त्यसपछि प्रियंकाले लगातार केही तस्वीहरु त हालिन्, तर रेड कार्पेट इन्ट्री त टाढाको कुरा, ती कुनैमा पनि कान्स महोत्सवको माहोलै देखिएन । प्राय तस्वीरमा कि उनको पृष्ठभूमिका खाली भित्ता हुन्थे, कि जंगल । ‘एट कान्स’ भन्दै कतिपय क्लोज अप फोटो पनि उनले राखिन् ।

रेड कार्पेटमा हिडेको तस्विर कुरेका दर्शक निराश भए । सामाजिक सञ्जालमा टिप्पणी हुन थाल्यो । अन्ततः प्रियंकाले रेड कार्पेटमा यसो उभिएर एउटा फोटो खिचाएर पोष्ट गरिन् । तर, त्यो तस्वीरले उनको लाज ढाक्न सकेन । धेरैले यसलाई खिल्ली उडाए । कतिले राजाले राजगद्दी छोडेपछि उक्त गद्दीमा तस्विर खिचाउने पत्रकारसँग तुलना गरिदिए ।

कान्समा सहभागी हुँदा प्रियंकाको ड्रेसअप पनि आलोचनामुक्त हुन सकेन । उनले लगाएको एउटा गाउन यसअघि नम्रता श्रेष्ठले एक कार्यक्रममा लगाएकोसँग मिल्दोजुल्दो थियो । मेकअप, ड्रेस र फोटोग्राफीमा बलिउड नायिका प्रियंका चोपडा र दिपिका पादुकोणको नक्कल गरेको आरोप लाग्यो ।

यी सबै कुराले प्रियंकालाई विवादित बनायो । नायिका कार्की कान्स फिल्म फेस्टिभलमा कुनै एक इभेन्टका आयोजकको निमन्त्रणामा पुगेको वुझिएको छ । तर, उनले कान्सको आयोजकले नै बोलाएको र हलिउड र बलिउडका सेलिब्रिटी जस्तै आफू पनि रेड कार्पेटमा हिड्ने भनेर नेपाली मिडियामा गफ गरिन् । प्रियंका कान्ससम्म पुग्ने कुरालाई सुखद मान्न सकिन्छ । तर, आफ्नो जुन प्रकारको उपस्थिती हुन लागेको हो त्यही अनुसारको कुरा नेपालमा गरिदिएको भए उनको आलोचना कम हुन्थ्यो । तर, प्रियंकाको उत्साहले यसपटक उनलाई नै धोका दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment