Comments Add Comment

राजधानीमा विप्लवको बम आतंक, तीन विस्फोटमा चार जनाको मृत्यु

१२ जेठ, काठमाडौं । प्रतिबन्धित नेकपा विप्लव समूहको संलग्नतामा राजधानीमा श्रृखलाबद्ध बम विस्फोट भएको छ । सुकेधारा, घट्टेकुलो र चन्द्रगिरीमा भएको बम विस्फोटमा चार जनाको मृत्यु भएको छ । घटनामा ८ जना घाइते भएका छन् ।

सुकेघारास्थित एक शैलुनमा र घट्टेकुलोस्थित एक घरको कोठामा बिस्फोट भएको थियो । सुरुमा सिलिण्डर विस्फोट मानिएको दुबै घटनामा प्रतिबन्धित नेकपा विप्लव समूहको संलग्नता भेटिएको छ ।

बम बनाउने क्रममा विस्फोट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

सुकेधारा विस्फोटमा घाइते भएर ओम अस्पतालमा उपचाररत नेवाः मुक्ति मोर्चाका अध्यक्ष सुरेन्द्र महर्जनले त्यही वयान दिएका छन् । ‘महर्जनले बम बनाउने क्रममा विस्फोट भएको बयान दिएका छन्,’ महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले अनलाइनखबरसँग भने ।

सुकेधारा बिस्फोटमा एकजनाको घटनास्थलमै र दुई जनाको ओम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । मृतकको सनाखत हुन सकेको छैन ।

सुरेन्द्रकाअनुसार सुकेधारामा बम बनाउन उनीसहित ६ जनाको समूह सक्रिय थियो । उनीसँगै हरि खड्का, शिव र लडाकू महावीर थिए भने दुईजना भने नयाँ सदस्य रहेको उनले बताएका छन् ।

त्यही क्रममा विस्फोट भएको थियो । मृतक को–को हुन् भन्ने खुलेको छैन ।

विस्फोटमा शैलुन सञ्चालक जीवकुमार ठाकुर पनि घाइते भएका छन् ।

विद्यार्थीको डेरामा विस्फोट

सुकेधारामा बिस्फोट भएकै समयमा घट्टेकुलोमा पनि विस्फोट भएको छ । विस्फोटमा प्रज्वल शाहीको मृत्यु भएको छ भने रविन केसी घाइते भएका छन् । खुट्टामा चोट लागेका उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

केसी विप्लव समूहसम्वद्ध विद्यार्थी संगठनको त्रिचन्द्र कलेजका इकाई अध्यक्ष भएको खुलेको छ ।

विप्लव समूहले सोमबार नेपाल बन्द आह्वान गरेको छ । त्यही क्रममा विभिन्न स्थानमा बम राखेर विप्लव समूहले आतंकित बनाएको छ ।

यस्तै चन्द्रगिरी नगरपालिका–३ इँटाभट्टा चोकमा बम विस्फोट भएको छ । प्रेसर कुकर बम बोकेर ल्याउँदै गर्दा भएको विस्फोटमा आकाश लामा घाइते भएका हुन् । अर्का एकको पहिचान खुलेको छैन ।

कोटेश्वर, नरेफाँटबाट ७ जना विप्लव समूहका कार्यकर्तालाई पक्राउ परेका छन् भने लगनखेल, ग्वार्को, सातदोबाटो लगायतका स्थानमा पनि शंकास्पद बस्तु भेटिएको छ ।

गृहमा आकस्मिक बैठक

विष्फोटको घटनापछि गृहमन्त्रालयमा आकस्मिक बैठक बसेको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले ३ वटै सुरक्षा निकायका प्रमुललाई बोलाएर आकस्मिक छलफल गरेका हुन् ।

गृह स्रोतका अनुसार छलफलमा गृहसचिव प्रेमकुमार राई, नेपाल प्रहरीका प्रमुख सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रमुख डीआईजी शैलेश थापा क्षेत्रीसहित काठमाडौं, भक्तपुर र ललितपुर ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी उपस्थित थिए ।

गृहमन्त्री थापाले सुरक्षा निकायका प्रमुखसँग आइतबार दिनभर भएको घटनाबारे जानकारी लिएका थिए ।

लगतै देशैभरका कार्यालयलाई हाइ अलर्टमा राख्न र सुरक्षा स्थिति बजबुत बनाउन निर्देशन दिएका थिए । ‘उपत्यकामा जस्तै अन्यत्र पनि यस्ता गतिविधि हुनसक्छन् । चनाखो रहनुस्’, गृहमन्त्री थापाले भनेका थिए ।

यो पनि पढ्नुस्ः

चन्द्रागिरी नगरपालिकामा पनि बम विस्फोट, दुई घाइते

बम बनाउने विद्यार्थी !

कोटेश्वरबाट ४ वटा कुकरसहित ७ जना विप्लव कार्यकर्ता पक्राउ

लगनखेलको ‘बम’ डिस्पोज, ग्वार्को र सातदोबाटोमा पनि ‘शंकास्पद’ वस्तु

सुकेधारामा पनि सिलिण्डर होइन, कुकर बम विस्फोट

घट्टेकुलो विस्फोटमा विप्लव समूहको संलग्नता पुष्टि

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment