Comments Add Comment

सिंहदरबार छेवैमा विप्लवको उपस्थिति ! बमको संकेत के हो ?

१२ जेठ, काठमाडौं । घट्टेकुलो र सिंहदरबारको दूरी खासै धेरै छैन । आइतबार दिउँसो सिंहदरबारको उत्तरी पर्खालनजिकै एक घरमा विप्लव माओवादीका कार्यकर्ताले बम निर्माण गरेको घटना त्यसबेला खुल्यो, जतिबेला उनीहरु आफैं मर्ने गरी विस्फोटनमा परे ।

गत फागुन २८ गते राति ओली सरकारको क्याबिनेटले विप्लव माओवादीमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

त्यस लगत्तै सरकारले विप्लव समूहका नेतालाई गिरफ्तार गर्ने र यो समस्यालाई समाधान गर्ने दाबी गरेको थियो । तर, आइतबार गृहमन्त्री रामबहादुर थापाको कार्यकक्षमा समेत सुनिने गरी सिंहदरबार नजिकै भएको बम विस्फोटनले ओली सरकारलाई चुनौति दिएको छ ।

पार्टीमाथि प्रतिबन्ध लगाइसकेपछि विप्लव समूहका ठूला नेताहरु गिरफ्तार हुने गृहमन्त्रालयको दाबी थियो । नभन्दै पार्टीका मध्य कमाण्ड इञ्चार्ज हेमन्तप्रकाश वलीसहित ८ जनालाई प्रहरीले पक्राउ गर्न सफल पनि भयो । वली अहिले पनि प्रहरी नियन्त्रणमै छन् ।

यसवीचमा सरकारले नेत्रविक्रम चन्द विप्लव, खड्गबहादुर विश्वकर्मा प्रकाण्ड, धर्मेन्द्र बास्तोला र सन्तोष बूढामगरलाई गिरफ्तार गर्ने प्रयास गरेको थियो । यति नेताहरुलाई समातिसकेपछि विप्लव माओवादी कमजोर हुने नेकपाका नेताहरुको विश्लेषण थियो ।

फागुनयता सरकारले शीर्षनेताहरु पक्राउ गर्न नसके पनि स्थानीय र मझौला तहका करिब ५ सय कार्यकर्ताहरुलाई पक्राउ गरिसकेको सरकारी अधिकारीहरुको दाबी छ । तर, उनीहरुको गिरफ्तारीले विप्लव समूहको गतिविधि निश्क्रिय हुन सकेको छैन भन्ने कुरा आइतबार राजधानीमै भएका बिस्फोटनका घटनाबाट पुष्टि भएको छ ।

रामबहादुर थापा बादलको नेतृत्वमा रहेको गृहमन्त्रालय विप्लव समूहका गतिविधि नियन्त्रणमा असफलजस्तै देखिएको छ ।

पार्टीमाथि प्रतिबन्ध लगाएको तीन महिनासम्म देशभित्रै लुकेर बसेका विप्लवलाई पक्राउ गर्न नसक्नु सरकारको सुरक्षा संयन्त्र कति कमजोर छ भन्ने प्रमाण हो । तथापि सुरक्षा अधिकारीहरुको दाबी के छ भने सरकारले विप्लवसँग सिके राउतसँग जस्तै वार्ताको प्रयास गरिरहेको हुनाले सुरक्षा निकायले विप्लवको गिरफ्तारीप्रति उदार नीति लिँदै आएको छ ।

भित्री सूत्रहरुका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लवसँग वन टु वन वार्ता गर्न चाहेका छन् ।

यही कारणले सुरुमा उनी विप्लव समूहप्रति जति आक्रामक भाषण गर्थे, पछिल्लो समयमा करिब मौन रहँदै आएका छन् । वार्ता गर्ने कि गिरफ्तार गर्ने भन्ने सरकारको दोधारे नीतिकै वीचमा विप्लव माओवादीका काठमाडौं केन्द्रित गतिविधि बढाएको देखिन्छ ।

त्यसो त सत्तारुढ नेकपाभित्रै विप्लव समूहलाई कसरी सम्वोधन गर्ने भन्नेमै विवाद छ । एकथरिले यसलाई राजनीतिक रुपमा सम्वोधन गर्नुपर्छ भनेका छन् भने गृहमन्त्री र प्रधानमन्त्री चाहिँ कानुनी समाधानको पक्षमा छन् ।

सरकारले मध्यकमाण्ड इञ्चार्ज हेमन्तप्रकाशलाई गिरफ्तार गरे पनि अहिले खड्गबहादुर विश्वकर्माले मध्य कमाण्ड सम्हालिसकेका छन् । र, उनकै योजनामा काठमाडौंमा पार्टीको गतिविधि तीव्र भएको छ । नेताहरु कहाँ बसेका छन् भन्ने सरकारी संयन्त्रले अहिलेसम्म सुइँको पाउन सकेको छैन । देशको गुप्तचरी निकाय पनि प्रधानमन्त्रीकै मातहतमा रहेको छ । तैपनि विप्लवका नेताहरु गिरफ्तार गर्न सरकारले सकेको छैन ।

राजधानीमा बम बनाउँदा केही विप्लवका कार्यकर्ताहरुको जसरी मृत्यु भयो, यसले के संकेत गरेको छ भने नेताहरुले किशोर कार्यकर्तालाई जघन्य हतियारसँग जिस्कन लगाएर उनीहरुको जिउ ज्यानमाथि गम्भीर खेलवाड गरेको देखिन्छ ।

आइतबार राजधानीमा भएका ‘आत्मघाती’ बिस्फोटनहरुले गरेको संकेत के हो भने सरकारले शान्ति सुरक्षाको अवस्था ढुक्कलाग्दो बनाउन सकेको छैन । यसले गर्दा आज जनमानसमा त्रास र भयको वातावरण बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment