१६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले पत्रकार धरपकड लगायत सबै विवादित विषयमा छानबिन गर्नका लागि संसदीय विशेष समिति गठन गर्न माग गरेको छ ।
सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भने, ‘नेपाली कांग्रेस पत्रकार धरपकड लगायत यससँग जोडिएका सरकारी सबै विवादित गतिविधिको स्वतन्त्र निष्पक्ष पारदर्शी छानबिन हुनुपर्दछ । दोषीलाई कानुनी कारबाही गर्नुपर्दछ । यसका लागि संसदीय विशेष समिति गठन गर्नु पर्दछ ।’
पछिल्ला सरकारी गतिविधिले नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, संवैधानिक संस्थाको स्वायत्तता र विधिको शासनमाथि गम्भीर प्रश्न खडा गरेको कांग्रेस संसदीय दलको ठहर छ ।
उनले भने, ‘पत्रकार धरपकड लगायतका घटनाप्रति कांग्रेस संसदीय दल आपत्ति प्रकट गर्दछ । साथै पत्रकार पक्राउको स्पष्ट कानुनी आधार पुर्जी वा अदालतको अनुमति सार्वजनिक नगरी समाचार कक्षमै प्रहरी परिचालन गरिनुले स्वतन्त्र पत्रकारितामाथि अनुचित दबाब मात्र होइन विधिको शासन विपरीत हो । स्वेच्छाचारिता हो । यसको जवाफ सरकारले दिनुपर्छ ।’
जनसरोकारका विषय र सुशासनका सन्दर्भमा वर्तमान सरकारले गर्ने सही कार्यप्रति कांग्रेसको समर्थन रहेको तर लोकतन्त्र र विधिको शासन, प्रेस स्वतन्त्रता, शक्ति पृथकीकरण लगायतका सारभूत मूल्य मान्यता विपरीत सरकार लागेमा कांग्रेसले विरोध गर्ने उनको भनाइ छ ।
उनले भने, ‘न्यायपालिकाको स्वतन्त्रतालाई पनि अक्षुण्ण हुनुपर्दछ र राख्नु पर्दछ । यो पनि हामीले निरन्तर भन्दै आएको विषय हो । तर सरकारको गतिविधि जे गरेपनि हुन्छ जवाफ दिनु पर्दैन भन्ने मानसिकता र प्रयोग प्रवृत्तिको उपज जस्तो भएर सार्वजनिक भइरहेको छ ।’
सरकारका यी सबै घटनाहरूले मुलुकको संवैधानिक संरचनालाई कमजोर बनाउँदै आफू अनुकूलको शासन स्थापित गर्न गरिएको सुनियोजित प्रयत्नको खतरनाक श्रृंखला भएको कांग्रेसको बुझाइ छ ।
प्रतिक्रिया 4