विराटनगर । नेपाल प्रहरीका हाइप्रोफाइल अधिकृत मुछिएको बहुचर्चित करिब ३८ क्वीन्टल सुन तस्करी मुद्दा एक वर्षयता जिल्ला अदालत मोरङमा अड्किएको छ ।
सुन तस्करी मुद्दामा चुणामणि उप्रेती गोरेकी श्रीमती नर्वदा खरेल उप्रेती, भाई रमेशसहित १९ जना अभियुक्तको म्याद तामेलीका लागि घर ठेगाना पत्ता नलागेपछि मुद्दाको थप बहस प्रक्रिया अघि बढेको छैन ।
सुन तस्करी प्रकरणमा पूर्व डिआइजी गोविन्द निरौला बहालवाला एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनालसहित ७५ जनाविरुद्ध २०७५ बैशाख १९ गते र थप दुई वटा पुरक अभियोग मार्फत ‘आपराधिक समूह स्थापना र संचालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तब्य ज्यान’ मुद्दा दायर गरिएको थियो ।
मुद्दा दायर गरेको एक वर्ष बिते पनि म्याद तामेली प्रक्रिया पूरा भएको छैन । फरार भएकाहरुको हकमा म्याद तामेली गर्न ढिलाइ भएको जिल्ला अदालत मोरङका श्रेस्तेदार ईश्वर ओझाले जानकारी दिए । जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दायर गर्दा फरार केही आरोपीको ठेगाना सही नभएका कारण म्याद तामेली गर्न समय लागेको हो ।
उनका अनुसार गोरेकी श्रीमती नर्वदा, भाइ रमेश, प्रेमिका भनिएकी रक्षा भण्डारीको घर पनि भेटेको छैन । नर्वदा र रमेशको स्थायी ठेगाना उर्लाबारी हो । तर हाल उनीहरुको घर काठमाडौं गौरीघाटमा छ । घर काठमाडौं भए पनि अदालतले म्याद तामेलीका लागि उर्लाबारी पठाएको थियो । तर उर्लाबारीमा घर नभेटिएछि पत्र अदालतमा ‘बेपत्ते’ भएर फर्किएको छ । सरकारी वकिलको कार्यालयले उल्लेख गरेको ठेगानामा म्याद तामेलीका लागि पठाउँदा १९ जनाको ठेगाना फेला नपरेको हो ।
ओझाका अनुसार मकवानपुरका सुरेन्द्र गौतम, झापाका भोजराज भण्डारी, रोहित आचार्य, कृष्ण बस्नेत, बाजेको सेकुवाका सञ्चालक चेतनाथ भण्डारी, प्रमोदकुमार श्रेष्ठ, हरिशरण खड्का, सञ्जय अधिकारी, शिवकुमार गुभाजु, समीर अधिकारी, मणिराम चौलागाई, सुनील श्रेष्ठ, अर्जुनकुमार खरेल, माधव आचार्य र गीता श्रेष्ठको ठेगाना ‘बेपत्ते’ भएका कारण फर्किएको हो । म्याद तामेली नभएकाहरुको हकमा सम्बन्धित जिल्लाको प्रहरी र अदालतसँगको समन्वयमा म्याद तामेलीको प्रकृया सुरु गरिएको उनले बताए ।
२०७४ माघ पहिलो साता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अबैध रुपमा आयात गरेको साढे ३३ किलो सुन हराएछि गोरेसहितको समुहले सुन तस्करी प्रकरणका भरिया समन शाक्यलाई मोरङको उर्लाबारीस्थित मंगलबारे जंगल क्षेत्रमा यातना दिदा ज्यान गएको थियो ।
शाक्यको हत्या अनुसन्धानका क्रममा अनुसन्धानका क्रममा सुन तस्करी प्रकरणको जालो खुलेपछि गृह मन्त्रालयले सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । सो समितिले सन २०१५ जुलाईदेखि शाक्यको हत्या भएको अवधीमा १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय ७३ रुपैयाँ बरावरको ३७ लाख ९९ हजार ५ सय ६३ ग्राम सुन आयात गरेको दाबि सहित अदालतमा मुद्दा दायर गरेको थियो ।
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4