Comments Add Comment

प्रेमसिंह तामाङ बने सिक्किमको मुख्यमन्त्री

पवन चाम्लिङले गरे बहिस्कार

१३ जेठ, काठमाडौं । प्रेमसिंह तामाङ (गोले) सिक्किमको छैठौं मुख्यमन्त्री बनेका छन् । उनले बिहान १० बजे राज्यपाल गंगा प्रसादबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।

राजधानी गान्तोकको पाल्जोर स्टेडियममा भव्य समारोहका बीच गोलेले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । अध्यक्ष गोलेसहित मन्त्रिपरिषदका केही सदस्यहरूले पनि शपथ ग्रहण गरेका छन् ।

सिक्किम क्रान्तिकारी मोर्चाका अध्यक्ष गोलेले हालै भएको विधानसभा निर्वाचनमा पवन चाम्लिङ नेतृत्वको सिक्किम डेमोक्रेटिक फ्रन्टको २५ वर्ष लामो शासन पल्टाइदिएका थिए । गोले आफैं चुनाव नलडे पनि उनको पार्टीले सिक्किममा ३२ विधानसभा सिटमध्ये १७ सिट जितेको थियो । सन् २०१४ मा २२ सिट जितेको फ्रन्ट भने यस पटकको चुनावमा १५ सिटमा खुम्चिएको थियो ।

यो पनि पढ्नुहोस सिक्किममा पवन चाम्लिङको २५ वर्षे सत्ता पल्टाउने को हुन् ?

भारतमा विधानसभा सदस्य नभएको व्यक्ति पनि मुख्यमन्त्री बन्न पाउने व्यवस्था छ । त्यस्तो व्यक्ति ६ महिनाभित्र विधानसभा सदस्य भइसक्नुपर्छ । अब प्रेमसिंह गोलेले कुनै एउटा सांसदलाई राजीनामा दिन लगाउने छन् र सो निर्वाचन क्षेत्रमा आफू चुनाव लडेर निर्वाचित हुनेसक्ने छन् ।

भ्रष्टाचार आरोप लागेकाले उनले चुनावमा भाग लिन पाएका थिएनन् । उनलाई ६ वर्षसम्म चुनाव लड्न नपाउने प्रतिवन्ध छ । अब ६ महिनाभित्र गोलेले अदालतबाट सफाइ पाएनन् भने उनी उपनिर्वाचन लड्न पाउने छैनन् ।

पवन चाम्लिङ नेतृत्वको सिक्किम डेमोक्रेटिक फ्रन्टबाट अलग भएर प्रेमसिंहले सिक्किम क्रान्तिकारी मोर्चा गठन गरेका थिए । उनी चाम्लिङको पार्टीमा रहँदा भ्रष्टाचार गरेको आरोपमा सन् २०१६ मा एक वर्षसम्म जेल परेका थिए ।

भ्रष्टाचारी ठहर व्यक्ति मुख्यमन्त्री बनेको भन्दै चाम्लिङ नेतृत्वको पार्टीले भने उनको सपथ ग्रहण कार्यक्रम बहिस्कार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment