Comments Add Comment

प्रवासी नेपाली भन्छन्- प्राधिकरणका कर्मचारीले काम नगरे हामी गर्छौं

भूकम्प खोज पत्रकारीता गर्नेलाई एक लाख पुरस्कार घोषणा

Neplese-from-Saudi-Arabसाउदी अरब । प्रवासमा रहेका नेपालीहरुले भूकम्प स्मृति दिवसमा भूकम्प खोज पत्रकारीता गर्ने पत्रकारलाई एक लाख रुपैयाँको पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन् । उनीहरुले भूकम्प पीडितहरुको संवेदनशीलतामा राजनीति नगर्न चेतावनीसमेत दिएका छन् ।

नेपाली साझा मञ्च साउदी अरबको आयोजनामा न्यू अन्नपूर्ण नेपाली रेष्टुरेण्ट जुबैलमा आयोजित स्मृति दिवसमा उक्त पुरस्कार घोषणा गरिएको हो । मञ्चका संस्थापक तथा अन्तर्राष्ट्रिय अभियन्ता महेश श्रेष्ठले श्रद्धान्जली अर्पण गर्ने क्रममा भूकम्प पीडितहरुको विषयबस्तुमा आधारित खोजी पत्रकारीता गर्ने एकजनालाई हरेक वर्ष वैशाख १२ गते पुरस्कृत गर्ने घोषणा गरे ।

त्यसैगरी उनले पुनर्निमाणको कार्यमा प्रवासी नेपालीहरु सन्तुष्ट नभएको र राष्ट्रसेवक भनिएका कर्मचारीहरु पुनर्निमाण प्राधिकरणमा सरुवा भएर आउन नमानेको प्रति रोष प्रकट गर्दै सरकारले आह्वान गरे प्रवासमा रहेका नेपालीहरु नेपाल फर्केर सामान्य तलबमै सेवा गर्न तत्पर रहेको पनि बताए ।

त्यसैगरी उनले ३५ लाख प्रवासी नेपालीहरुमध्ये १० प्रतिशत ३ लाख ५० हजार मात्रै नेपाल फर्केर सडकमा उत्रिए सिंहदरवारमै भूकम्प जाने चेतावनी दिँदै भूकम्प पीडितहरुको संवेदनशीलतामा राजनीति नगर्न खबरदारी गरे ।

श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्ने क्रममा एनआरएनए साउदी अरबका अध्यक्ष नारायण पासवानले भूकम्प पीडितहरु एक वर्ष पुगिसक्दा पनि अझै पालकै अव्यवस्थित बसोबास गरिरहेकाप्रति दुःख व्यक्त गर्दै यथाशिघ्र व्यवस्थित बसोबास गराउनु पर्ने माग गर्दै सरकारको ध्यानाकर्षण गराउन एनआरएनले पहल गर्ने बताए ।

एनआरएनए साउदी अरबकै महासचिव तेजबहादुर थापाले भूकम्प पीडितहरुको पीडालाई डलर आर्जनको खेती र कमिशनको खेल खेल्ने माध्यम नबाउन खबरदारी गर्दै पुनर्निमाणको कार्यमा प्रवासी नेपालीहरुले जस्तोसुकै सेवा र सहयोग गर्न सक्षम रहेको बताए ।

पुनर्निर्माणको कार्य ढिलाई भएको र भूकम्प पीडितहरुले अझै पालमै निर्वाह गरिरहनु परेका प्रति संघीय लिम्बूवान राज्य परिषद साउदी अरबका वरिष्ठ उपाध्यक्ष शिरी यवालिम्बूले तत्कालै व्यवस्थित गर्न माग गरे ।

यसैगरी श्रद्धाञ्जली अर्पण गर्ने क्रममा विवेकशिल नेपाली पार्टीका साउदी अरब प्रमुख रविन गुरुङले नेपालमा आफ्नो पार्टीको विरोध कार्यक्रममा सरकारले लाठीचार्ज र धरपकड गरेको प्रति घोर विरोध गर्दै पुनर्निर्माणको कार्य कहाँपुग्यो भन्दै नेपाल सरकारसंग प्रश्न गरेका थिए ।

कार्यक्रममा जुबैलस्थित न्यू अन्नपूर्ण नेपाली रेष्टुरेण्ट, मनकामना रेष्टुरेण्ट र एभरेष्ट रेष्टुरेण्टका संचालकहरुले पनि श्रद्धाञ्जली अर्पण गर्दै पुनर्निर्माणको कार्य यथाशिघ्र सम्पन्न गर्न नेपाल सरकार समक्ष माग गरेका थिए ।

मञ्चका अन्तर्राष्ट्रिय अभियन्ता ओमप्रकास फुयाँलको संयोजकत्व र सभापतित्व एवं देवेन्द्र सुवेदीको उदघोषणमा सम्पन्न सो कार्यक्रममा अभियन्ताहरु अन्जनीकुमार अधिकारी, तेजकुमार श्रेष्ठलगायतले श्रद्धाञ्जली मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय धुन पश्चात् मौन धारण र नेपालको नक्सा वरिपरी मैनबत्ती बालेर भूकम्पबाट मृत्यु भएकाहरुप्रति श्रद्धान्जली अर्पण गर्दै घाइते विमारीहरुको शिघ्र स्वास्थ्यलाभको कामना गरिएको थियो ।

वैशाख १२ गतेकै दिन दमामस्थित फ्रेण्डस अफ साउदी अरबले पनि मनोज नेपालीको सभापतित्व र नेपाली दूतावासका अधिकारी हरि घिमिरेको प्रमुख आतिथ्य र कृष्ण श्रेष्ठको संचालनमा श्रद्धान्जली कार्यक्रम गरेको थियो । उनीहरुले भूकम्प पीडितहरुका लागि सहयोग गर्नेहरुलाई धन्यवाद ज्ञापन गर्दै यथाशिघ्र पुनर्निर्माणको कार्यलाई सम्पन्न गर्न नेपाल सरकारसंग आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment