Comments Add Comment

लाइफलाइन बन्दै छ भैरहवा भन्सार, वीरगञ्जलाई जित्ने बाटोमा

नविन अर्याल

Bhairahawa Bhansar (2)
भैरहवा भन्सारबाट नेपाल भित्रिएका गाडीहरु

२९ वैशाख, भैरहवा । मधेसवादी दलहरुको महिनौं लामो बन्द हडतालमा पनि भैरहवाले आफूलाई शान्त राख्यो । पूर्वी तराई जलिरहँदा भैरहवामा आन्दोलनको खासै प्रभाव थिएन र अपवाद बाहेक आपूर्ति लगभग सुचारु रहृयो ।

भारतीय नाकाबन्दी र तराई आन्दोलनले अधिकांश नाकाहरु ठप्प हुँदा आपूर्तिमा भैरहवाले लाइफलाइनको रुपमा काम गरेको थियो । यही नाकाबाट भित्रिएको सामानले मुलुक जेनतेन धानियो । त्यसयता विदेशबाट सामान ल्याउन व्यापारीको रोजाइमा भैरहवा नाका पर्न थालेको छ ।

गत आर्थिक वर्षमा भैरहवाबाट २५ अर्ब ९७ करोड रुपैयाँ भन्सार राजश्व असुली भएको थियो । यस वर्ष भैरहवालाई ३० अर्ब ११ करोड रुपैयाँ भन्सार राजश्व उठाउने लक्ष्य दिइयो । फागुन मसान्तभित्र नै भैरहवाबाट लक्ष्यभन्दा बढी ३४ अर्ब ५१ करोड भन्सार असुली भएको छ ।

भैरहवालाई चालु आर्थिक वर्षमा ५२ अर्ब ९४ करोड रुपैयाँ भन्सार उठाउन संशोधित लक्ष्य दिइएको छ । चैत मसान्तसम्म ४० अर्ब ७६ करोड राजश्व उठाइसकेको भैरहवा भन्सारले तीन महिनामा लक्ष्य पूरा हुने अपेक्षा गरेको छ । यो रकम अघिल्लो वर्षको तुलनामा दोब्बर भन्दा बढी हो ।

Bhairawaha_bhansar

नेपालमा कुल आयातको झण्डै दुई तिहाई सामान वीरगञ्ज नाकाबाट भित्रिने गरेको थियो । तर, गएको वर्ष मधेश आन्दोलनका कारण वीरगञ्ज नाका महिनौं ठप्प भएपछि व्यवसायिहरु भैरहवातर्फ लागेका छन् । बन्दको बेलामा समेत भैरहवाबाट सहज आपूर्ति हुँदा व्यवसायी शान्त ठाउँ खोज्दै भैरहवा आइपुगेका हुन् ।

तराई आन्दोलनपछि भैरहवाबाट आयात बढेको छ । औद्योगिक कच्चा पदार्थ र साना गाडीहरुको आयात भैरहवाबाट भइरहेको देखिन्छ । यसअघि औद्योगिक कच्चा पदार्थ र गाडीहरु वीरगञ्ज भन्सारबाट नेपाल भित्रिन्थे । पूर्वतिरका उद्योगको कच्चा पदार्थसमेत बन्दको बेलामा भैरहवाबाट आयात भएको भैरहवा भन्सार प्रमुख लावण्य कुमार ढकालले अनलाइनखबरलाई बताए ।

अहिले बीरगञ्ज शान्त भइसक्दा समेत भैरहवाबाटै बस्तुहरु आयात घटेको छैन । नेपालमा सबैभन्दा बढी राजश्व संकलन हुने गाडीबाट हो । व्यवसायीले भैरहवाबाट गाडी ल्याउन थालेपछि एक दिनमा ४०/५० करोडसम्म राजश्व असुली भएको भन्सार अधिकृत गणेशप्रसाद अर्यालले बताए ।

सामान्य समयमा कुल भन्सार राजश्वको करिव १४ प्रतिशतमात्र भैरहवाबाट उठ्ने गरेको थियो । तर, यो वर्ष दोब्बर हुने अनुमान गरिएको छ । अगामी दिनमा भन्सार राजश्वमा भैरहवाको योगदान बढ्दै जाने प्रमुख ढकालले बताए ।

‘हिजोका दिनमा पनि अवरोध भएन, भोलीका दिनमा पनि यहाँ अवरोध हुनेवाला छैन’ ढकालले भने- ‘यही कारण भैरहवा व्यापारीक नाका तथा औद्योगिक क्षेत्रका रुपमा स्थापित भयो ।’ भैरहवा वीरगञ्जको हाराहारीमा आउन सक्ने नाका हो भन्ने स्थापित गरेको उनको भनाई छ ।

Bhairahawa Bhansar (1)
ट्रेडिङ व्यवसायीको रोजाई

ट्रेडिङ व्यवसायिले पनि भोलीका लागि सुरक्षित नाकाका रुपमा भैरहवालाई नै रोज्न थालेको स्पष्ट हुन्छ । वीरगञ्ज नाका सहज भइसके पनि भैरहवाबाट गाडीहरु भित्रिरहेका छन् ।

वीरगञ्जबाट मात्र गाडी आयात गर्दै आएको टाटा मोटर्सको नेपाली बिक्रेता सिप्रदी  ट्रेडिङले भैरहवामा दुई विगाहा जमिन १० वर्षका लागि लिएर यार्ड (गाडी पार्किङ स्थल) बनाएको छ । भैरहवाबाटै देशभरका डिलरमा टाटा गाडी पठाउने तयारीमा सिप्रदी रहेको छ ।

नेपालमा सबैभन्दा बढी बिक्री हुने मारुती सुजुकी कारहरु पनि भैरहवाबाटै भित्रिरहेका छन् । सिजी मोटोकोर्पले भैरहवाबाट भुमहीतर्फ जाने सडकमा रहेको रेडसन होटल अगाडि यार्ड बनाएको छ । सुनौलीमा पनि सुजुकीले जग्गा लिएर यार्ड बनाएको देखिन्थ्यो । सुनौलीमा सुजुकीको अलावा जेसवी हेभि भेहिकलको पनि यार्ड रहेको छ ।

भैरहवामा रहेको एकीकृत भन्सार जाँच चौकी (आइसीसी) निर्माणस्थलमा पनि नयाँ गाडीहरु प्रशस्तै पार्किङ गरेको देखिन्छ । महिन्द्रा, हुन्डाई, आइसर, मित्सुविसी, टोयोटा, किया, फोर्ड, होन्डा गाडीका नेपाली बिक्रेताले पनि भैरहवाबाट गाडी आयात गर्ने मनस्थिती बनाएका छन् । अधिकांश कम्पनीले त जग्गा भाडामा लिएर यार्ड बनाइसकेको भन्सार कार्यालयका एक कर्मचारीले बताए ।

Moters
नेपाल भित्रिने तयारीसहित भारतीय भूमिमा राखिएका कार र डोजरहरु

वीरगञ्ज क्षेत्र अहिले शान्त भएपनि व्यवसायीहरुले भोलिका लागि सुरक्षित ठान्न सकेका छैनन् । यसको विपरित भैरहवाले बन्द हडतालमा पनि शान्त रहेर आफूलाई प्रमाणीत गरेको छ ।

भैरहवा भन्सार कार्यालयले अहिले भइरहेको यार्डले नपुगेर आइसीपीको ५२ विगाहा क्षेत्रफलमा थप यार्ड बनाउन लागेको छ । अहिले त्यहाँ माटो फिलिङ गरेर ग्राभेल गर्न काम भइरहेको छ ।

‘यसैपनि बन्द हडतालपछि भैरहवा नाकाबाट आयात निर्यात बढ्न थालेको छ, भोली विशेष आर्थिक क्षेत्र सञ्चालनमा आउँदा, उद्योगहरु बढेपछि तयारी वस्तुको निर्यात र कच्चा पदार्थको आयात थप बढ्ने छ’ भन्सार अधिकृत अर्यालले भने- ‘त्यही भएर अहिलेदेखि नै पूर्वाधार बढाउने काम सुरु गरेका छौं ।’

बल्ल पुग्यो सरकारको आँखा

यसअघि भैरहवा भन्सारमा सरकारको नजर पुगेको थिएन । बन्द हडतालको बेला आपूर्तिमा लाइफलाइनको काम गरेपछि भैरहवामा सरकार ध्यान खिचिएको बताउँछन्, स्थानीय व्यवसायीहरु । अहिले यो बोर्डरको सुदृढिकरणका लागि सरकारले ध्यान दिन थालेको छ ।

Bhairahawa Bhansar

नाकाबन्दी अगाडि भैरहवाबाट तेस्रो मुलुकको समान २ प्रतिशत र ९८ प्रतिशत समान भारतीय आयात हुन्थ्यो । नाकाबन्दीपछि आयात अनुपात तेस्रो मुलुकको सामान ६ प्रतिशत र भारतीय समान ९४ प्रतिशत रहेको छ । भोलीका दिनमा तेस्रो मुलुकको कन्साइमेन्ट पनि भैरहवाबाटै आयात हुने सम्भवना छ ।

विशाखापट्टनमले जगाएको आशा

भारतले नेपाललाई विशाखापट्टनम बन्दरगाह प्रयोग गर्न दिने भएको छ । हालैमात्र दुई देशबीच विशाखापट्टनम बन्दरगाह प्रयोग गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । कलकत्ता बन्दरगाह साँघुरो बन्दै गइरहेका बेलामा विशाखापट्टनमको सम्झौतालाई उपलब्धीका रुपमा लिइएको छ ।

कलकत्ताभन्दा टाढा भएपनि तुलनात्मक लाभको हिसावले विशाखापट्टनम सस्तो, सजिलो र समय कम लाग्ने बताइएको छ । कलकत्ताबाट वीरगञ्ज नजिक पर्छ भने विशाखापट्टनमबाट वीरगञ्ज र भैरहवाको दुरी करिव करिव उस्तै पर्न आउँछ । भोली विशाखापट्टनम बन्दरगाह सञ्चालनमा आएमा वीरगञ्जबाट आउने समानहरु भैरहवाबाट भित्रिन थाल्ने बताउँछन्, पूर्व अर्थसचिव रामेश्वर खनाल ।

‘विशाखापट्टनम बन्दरगाह सञ्चालनमा आएमा तेस्रो मुलुकको आयात निर्यातमा वीरगञ्ज र भैरहवा बराबर हुन आउँछ । अझ व्यवसायीलाई वीरगञ्ज भन्दा भैरहवा नै सहज होला’ खनालले भने- ‘भैरहवादेखि बुटवल, भैरहवादेखि भुमहीसम्म राम्रो सडक छ, आयातका लागि व्यवसायिलाई सहज हुने छ ।’

विराटनगर वीरगञ्जतिरको राजमार्गमा भन्दा भैरहवातिरको राजमार्गको वस्तीमा मधेसवादी आन्दोलनकारीको प्रभाव कम छ । जसले गर्दा नेपाल भित्रिसकेको समान सजिलै गन्तव्यमा पुर्‍याउन सकिन्छ ।

भैरहवाबाट बुटवलसम्मको सडक ६ लेनको बन्दैछ । भैरहवादेखि भूमहिसम्मको सडक पनि फराकिलो नै छ । भारतले पनि सुनौलीको सडक विस्तार गरेर चार लेनको बनाउँदै छ भने सुनौतिसम्म रेल मार्ग बिस्तार गर्ने तयारी पनि गरेको छ । यसले पनि भैरहवाबाट कारोबार बढ्ने निश्चित देखिएको भैरहवा भन्सार कार्यालय प्रमुख ढकाल बताउँछन् ।

औद्योगिक क्षेत्र

पछिल्लो समय भैरहवाान तिब्र औद्योगिकीकरण भइरहेको छ । त्यसमाथि पूर्वी तराई असुरक्षित बन्दै गएपछि त्यहाँका व्यवसायीसमेत भैरहवा सिफ्ट हुन खोजिरहेका छन् । भैरहवामा औद्योगिक विकास हुँदा भारत तथा तेस्रो मुलुकबाट ठूलो परिमाणमा कच्चा पदार्थ भित्रिने छ ।

नेपालमा वस्तुहरु उत्पादन गरेर निर्यात गर्दा भैरहवा र नेपालगञ्ज अगाडि आउने पूर्व अर्थसचिव खनाल बताउँछन् । त्यसपछि नेपालगञ्ज नाका आउँछ । दिल्ली, पञ्जाव, हरियाणा लगायतका शहरहरुमा बढी विकसित रहेका र त्यहाँ खपत पनि बढी नै हुने हुँदा नेपाली बस्तुहरु बढी मात्रामा भैरहवा र नेपालगञ्ज नाका हुँदै त्यसतर्फ पुग्नेछन् । भारतमा पनि नेपालबाट निर्यात हुने सामानमा विहारमा भन्दा उत्तर प्रदेशमा प्रशासनिक कार्य सम्पादन सरल र सहज छ ।

विमानस्थल भन्सार

Gautam Buddha International Airport (1)

समयमा काम सम्पन्न भएमा सन् २०१८ देखि भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँदै छ । यो विमानस्थलमा त्रिभुवन विमानस्थलमा अवतरण गर्न नसक्ने जहाजहरु पनि अवतरण गर्न सक्ने परियोजना प्रमुख ओम शर्मा बताउँछन् ।

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि यस क्षेत्रमा हवाई कार्गो समेत थपिन्छ । काठमाडौं अग्लो ठाउँमा रहेको हुँदा जहाजहरु पुरा क्षमतामा उडान अवतरण गर्न सक्दैनन् । तर, भैरहवा तराई भएको हुँदा लोड बोकेका जहाजहरु पनि उडान अवतरण गर्न सक्छन् । यही कारण पनि धेरै कार्गो बोेकेका जहाजहरु भैरहवामा अवतरण गर्ने सम्भवना रहन्छ ।

तस्वीर : कविन अधिकारी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment