६ जेठ, भैरहवा । २५ सय ६० औं बुद्ध जयन्ती एवं लुम्बिनी दिवसको तयारी अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्री संयोजकत्वमा नेपाल सरकार आफैंले पहिलोपटक बुद्ध जयन्ती मनाउन लागेको हो । यसअघि लुम्बिनी विकास कोषले बुद्ध जयन्ती आयोजना गर्दै आएको थियो ।
बुद्ध जयन्ती मनाउनका लागि गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई चारैतिरबाट सिंगारिएको छ । लुम्बिनी परिसरमा रहेका विभिन्न गुम्बाहरु र मायादेवी मन्दिरलाई दुलही झैं सिंगारिएको छ ।
अनलाइनखबरकर्मी लुम्बिनी पुग्दा स्वागतद्वार निर्माण, सरसफाइ, मञ्च निर्माण लगाएतको काम धमाधम भइरहेको थियो । वरपरको क्षेत्रमा नेपालसहित बिभिन्न देशका झण्डा र ध्वजापताकाले रंगिचंगी बनाइएको थियो ।
लुम्बिनीमा सरसफाई, रंगरोगन गर्ने लगायतका कामहरु सकिएको र बुद्धजयन्ती मनाउनका लागि लुम्बिनीमा पाहुनाहरुको स्वागत गर्न लुम्बिनी विकास कोष तयार रहेको कोषका सदस्यसचिव अजितमान तमाङले बताए ।
काठमाडौंमा चलिरहेको दुईदिने बौद्ध सम्मेलनको समापन भएपछि जेठ ८ गते लुम्बिनीमा बुद्ध जयन्ती मनाइने छ ।
कुटनीतिक नियोगका प्रमुखहरु, विभिन्न मुलुकका राजदूतहरु, संघसंस्थाका प्रतिनिधिहरु लगायतका पहुनाहरु बिहीवार काठमाडौंमा सुरु अन्तराष्ट्रिय बौद्ध सम्मेलन समापन भएसँगै लुम्बिनी आइपुग्ने छन् ।
कोषका सदस्य सचिव तामाङका अनुसार भारतीय राजदुत रञ्जित रे, चीन, थाइल्याण्ड, श्रीलंका, बर्मा, जापान, कोरियाका गरी ७ देशका राजदूतहरु बुद्धको जन्मस्थल लुम्बिनी आएर बुद्ध जयन्तीमा सहभागी हुने तय भइसकेको छ । पाकिस्तान र बगंलादेशका संस्कृति मन्त्री आउन सक्ने सम्भावना रहेको कोषले जनाएको छ ।
बुद्ध जयन्तीका लागि प्रमुख अतिथिको रुपमा राष्ट्रपति विद्यादेवी भण्डारी आउने तय भएको कोषका सदस्य सचिव तामाङले अनलाइनखबरलाई जानकारी दिए ।
यस पटकको बुद्ध जयन्तीले बृहत्तर लुम्बिनी क्षेत्रको अन्तराष्ट्रिय स्तरमा चर्चा हुने सम्भावना रहेको र यसले विश्वका सवा अर्ब बौद्ध धर्मालवम्बीहरुलाई लुम्बिनी निम्त्याउन सक्ने उनको विश्वास छ ।
बुद्धजयन्तीलाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सुरक्षा व्यवस्था कडा पारेको छ ।
प्रतिक्रिया 4