१० जेठ, काठमाडौं । सगरमाथाको सफल आरोहण गरेर फर्किँदै गर्दां ६ आरोही सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन भएकामा ३ नेपाली र ३ भारतीय नागरिक छन् । एक भारतीय महिलालाई हेलिकोप्टरको सहयताले उद्धारको प्रयास भइरहेको छ ।
पर्यटन मन्त्रालयका प्रवक्ता घनश्याम शर्माले अनलाइनखबरलाई दिएको जानकारीअनुसार वेपत्ता भएका भारतीय नागरिकहरुमा परेशचन्द्र नाथ, गौतम घोस र सुवास पल छन् । वेपत्ता भएका नेपालीहरुको परिचय भने खुलेको छैन ।
उनीहरु वेपत्ता भएको खबर आफूहरुले हिजो पाएको र खबर पाएलगत्तै हेलिकोप्टरसहित उद्धारकर्मी पठाइएको शर्माले जानकारी दिए ।
स्रोतका अनुसार सगरमाथाको शिखरमा पुगेर ओर्लिंदै थिए । करिब ७ हजार मिटरको उचाइमा उनीहरु रमाएर नाच्न थाले । साथमा रहेका शेर्पा गाइडले छिटो जाउँ अक्सिजन सकिन्छ भन्दाभन्दै उनीहरु अलमलिएका थिए ।
भारतीय महिलाको उद्धारकार्य जारी
उद्धारकर्ताले ७ हजार ५ सय मिटरको उचाइमा भारतीय महिला सुनिता हजारालाई फेला पारेका छन् । उनलाई हेलिकप्टर र डोरीको सहायताले उद्धारको प्रयास भइरहेको छ ।
‘हेलिकोप्टर र डोरीको सहायताले ती महिलाको उद्धारको प्रयास भइरहेको छ, अरुको अवस्था भने अझै थाहा हुन सकेको छैन,’ शर्माले अनलाइनखबरसँग भने ।
पर्यटन उद्योग हिमाल आरोहण शाखा प्रमुख ज्ञानेन्द्र श्रेष्ठले वेपत्ता भएका तीन जना नेपाली पनि सम्पर्कमा आइसकेको जानकारी दिए ।
प्रतिक्रिया 4