Comments Add Comment

मोटरसाइकल चोर्ने ‘सर्टकट’ शैली, शोरुम र वर्कसपबाटै लिएर टाप !

२७ जेठ, काठमाडौं । गत फागुन १८ गते नेपालटारस्थित न्यू स्टार मोटरसाइकल वर्कसपमा बा २६ प ६४९७ नम्बरको मोटरसाइकल सर्भिसिङको लागि राखिएको थियो ।

Motercycle-Rider-Sketchमोटरसाइकल धनीले मोटरसाइकल छाडेको केहीबेरमा मोटरसाइकल छाड्ने मेरो साथी हो एक्कैछिनलाई लैजान पर्ने भो भन्दै एकजनाले मोटरसाइकल लिएर गयो । तर उ फर्किएर आएन । मोटरसाइकल गायब भयो । जब धनी लिन आए, त्यसपछि थाहा भो मोटरसाइकल साथीले होइन चोरले पो लगेछ ।

०००

करिब १ महिना अघि बालाजु बाइपास नजिकै रहेको एक रिकण्डिसन हाउसमा एकजना ग्राहक पुगे । उनले विभिन्न मोटरसाइकलहरु हरे । अन्तिममा बा ५१ प ६१२ नम्बरको पल्सर मोटरसाइकल छाने । मन परेको मोटरसाइकल परिक्षण गर्न मागे । रिकण्डिसनका हाउस सञ्चालकले पनि मोटरसाइकल बिक्री हुने भो भन्दै ‘टेष्ट ड्राइभ’का लागि दिए । मोटरसाइकल लगेको लामो समयसम्म पनि त्यो व्यक्ति फर्किएर आएन । चोरको हातमा परेको मोटरसाइकल किन फिर्ता आउँथ्यो ?

०००

माथिका यी घटनाहरु दिनदहाडै मोटरसाइकल चोरिएका उदाहरण हुन् । बदलिँदो समय परिस्थितिसँगै बाइक चोर्ने शैली पनि फेरिएको छ । अब रातिमा लुकिछिपी ह्याण्डील लक तोडेर मोटरसाइकल चोरिँदैनन् । बरु दिनदहाडै बिभिन्न बहानामा मोटरसाइकल हात पारेर टाप हुने गिरोह काठमाडौंमा सक्रिय छ ।

‘टेष्ट ड्राइभ’ गर्ने नाममा बाइक हात पारेर भाग्ने व्यक्तिविरुद्ध रिकण्डिसन हाउसका सञ्चालकले बालाजु वृत्तमा उजुरी गरेपछि प्रहरीले मोटरसाइकल चोरीमा संलग्न व्यक्तिको खोजी सुरु गर्यो । गिरोहको खोजीमा लागेको प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी बृत बालाजुका अनुसार पक्राउ पर्नेहरुमा सिन्धुलीका बोधराज विक र नुवाकोटका विरेन्द्रकुमार श्रेष्ठ छन् । बालाजु वृत्तका डिएसपी संजिव शर्माका अनुसार यो गिरोहले १ वर्षमा १५ वटा भन्दा बढी मोटरसाइकल चोरी गरिसकेको छ । मोटरसाइकल चोर्ने नयाँ तरिकाले प्रहरीलाई पनि अचम्मित पारेको छ ।

मोटरसाइकल टुक्रा-टुक्रा पारेर बिक्री

बोधराजले चोरी गरेको मोटरसाइकल टोखास्थित विरेन्द्रको वर्कसपमा लैजाने गरेका थिए । विरेन्द्रले चोरीको मोटरसाइकल सके बिक्री गर्ने नसके धादिङको बैरेनीमा लगेर पाटपुर्जा बिक्री गर्ने गरेको डिएसपी शर्माले बताए ।

‘उनीहरुले चोरीको मोटरसाइकल टुक्रा-टुक्रा पारेर बिक्री गर्ने रहेछन्, यो समुहका अन्य व्यक्तिहरु पनि छन्, हामी खोजीरहेका छौं,’ डिएसपी शर्माले भने ।

यिनीहरु पक्राउ परेपछि काठमाडौंमा कुनै पनि मोटरसाइकल चोरीको घटना नभएको प्रहरीले दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment