Comments Add Comment

दाङ मात्र हेर्दैनौं, मेची महाकाली पुग्छौं

रोजगारीका क्रममा युएईमा रहेका दाङबासी नेपालीहरुले करिब १८ महिनाअघि आफ्नो जिल्ला र जिल्लाबासीहरुको सहयोगका लागि दाङ देउखुरी समाज, युएई गठन गरेका हुन् ।

santa giriगठनपश्चात आफ्नो जिल्लामा करिब ४ लाखभन्दा बढीको आर्थिक तथा भौतिक सहयोग गरेको यस समाजले युएईमा आफ्ना क्षेत्रीय समितिहरु विस्तार कार्यलाई तीव्रता दिएको छ । समाजले गरेका सामाजिक, आर्थिक गतिविधि तथा भावी योजनाबारे समाजका अध्यक्ष शान्ता गिरी सित अनलाइनखबरले गरेको कुराकानी:

दाङ देउखुरी समाज, युएई कस्तो परिवेशमा स्थापना भएको संस्था हो ?

म आठ वर्ष पहिले यूएई आएर हाल दुबईको डिआइपीमा कार्यरत छु । आफ्नो गाउँ, ठाउँ, जिल्ला र समाजप्रतिको तीव्र रुचिका कारण विभिन्न संघ-सस्थाको कार्यक्रमहरुमा सहभागी हुने क्रममै दाङ समाजको परिकल्पना आयो । कुनै यस्तै कार्यक्रममा दाङ जिल्लाकै एक मित्र सन्तोष धितालसँग यसबारेमा छलफल अनि परामर्श भयो ।

यूएईका विभिन्न क्षेत्रमा छरिएर रहेका दाङबासी नेपाली दाजुभाई अनि दिदीबहिनीहरुको बीचमा भाइचारा र सहयोग बढाउने उद्देश्यले २०१५ जनवरी ९ का दिन दाङ देउखुरी समाज, युएइको गठन गरियो । साथै नेपालमा हुने प्राकृतिक तथा दैवी प्रकोप जस्ता आपत्कालीन अवस्थामा सहयोगको हात फैलाउन अनि जिल्लाबासीको हक-हितको संरक्षण गर्ने हेतुले ‘सुरक्षित प्रवास, समृद्ध समाजको निर्माणमा हाम्रो अभियान’ नारा नय गरिएको छ ।

दाङ देउखुरी समाज, युएईको सांगठनिक अवस्था कस्तो छ ?

यसको सल्लाहकारहरुमा विशाल थापा, गजाधर बस्नेत, चित्रबहादुर नेपाली हुनुहुन्छ भने वैकल्पिक सदस्यहरुमा विश्वदेव शाह, शर्मिला डिसी र हरि डाँगी हुनुहुन्छ  । रासअलखेमा १ वर्ष पहिले यामप्रसाद पौडेलको अध्यक्षतामा क्षेत्रीय समितिको गठन भयो भने सारजाह मा २०१६ भित्रमा क्षेत्रीय समिती गठन गर्ने साथै अन्य क्षेत्रमा पनि क्षेत्रीय समितिहरु विस्तार गर्दै जाने योजना छ । यस संस्थामा साधारण सदस्य र आजीवन सदस्य गरी २ प्रकारका सदस्यहरु रहने व्यवस्था छ । गत मे महिनाबाट सदस्यता वितरण तीव्र पारिरहेका छौं ।

दाङ देउखुरी समाज, युएईले समाजका लागि केकस्ता कामहरु गरेको छ ?

सुरुका दिनमा जिल्लाबासीहरुलाई संस्थाको विषयमा जानकारी दिन र बुझाउन केहि समय खर्चियौ । दाङ उद्योग वाणिज्य संघ लगायत क्रियाशील अन्य संघसंस्थाहरुसँग सहकार्य गरियो । हाम्रो समाजको स्थापनालगत्तै नेपालमा गएको विनाशकारी भूकम्पमा परेकाहरुलाई विभिन्न संघसस्थासँग समन्वय गर्दै धादिङ जिल्लाको सल्लेटार वडा नम्बर ८ र ९ मा राहत वितरण गरेका छौं ।

साथै गत चैत-वैशाखमा दाङ गङापुर-५ मा भएको आगलागीमा परी घरगोठ गुमाएका अग्निपीडित घरपरिवारलाई राहत र आर्थिक सहयोग गरियो । ७० घरपरिवारलाई चामल वितरण गरियो । युएईमा समस्यामा परेकी दाङकी चेलीलाई सुरक्षित नेपाल फर्काईयो ।

rahatदाङ जिल्लाको विकट दक्षिणी क्षेत्र रातपुरका १६ घर परिवारलाई ३ दिन लगाएरै भए पनि उहाँहरुको घरदैलोसम्मै पुगी राहत बितरण गर्नुहुने मित्र जुद्धबहादुर भण्डारीलाई मुरी मुरी धन्यबाद दिन चाहन्छु । अहिले दाङका एक मिर्गौलापीडित चेली जो भक्तपुरको एउटा हस्पिटलमा हुनुहुन्छ, उहाँलाई सहयोग उपलब्ध गराउने अभियानमा छौं ।

आर्थिक कोष व्यवस्थापन केकसरी भइरहेको छ ?

हाम्रो संस्थाको हकमा भन्नुपर्दा ३ प्रकारका कोष छन् । पहिलो सदस्यता कोष, दोस्रो मासिक शुल्क कोष र तेस्रो आपतकालीन राहत कोष । यूएईको हकमा आपतकालीन परिस्थितिका लागि आपतकालीन कोषको स्थापना गरेका छौं ।

विभिन्न तह अनि तप्काका व्यक्ति र सदस्यहरुबाट आएको सहयोग अनि मासिक रुपमा उठाउने लेवी समाजको अभिन्न आर्थिक पाटो हो । साथै आजसम्म गृहजिल्लाका भूकम्पपीडित अनि मृगौलापीडितहरुलाई करिब ४ लाख बराबरको आर्थिक सहयोग उपलब्ध गराइसकेका छौं । भोलिका दिनहरुमा पनि आर्थिक सहयोग अभियानलाई जारी नै राख्ने छौं ।

हाम्रो आपतकालीन कोषको संयोजक समिति अलग छ । जब-जब दैवी प्रकोप आईपर्छ, नेपालको कुनै पनि क्षेत्रमा आइपर्ने आपत्विपत्मा हाम्रो सहयोग रहने छ । जब-जब आपतविपत् आइपर्छ तब राहत संकलन गर्नुपरेको यथार्थलाई मध्यनजर गर्दै यस्तो परिस्थितिको लागि पूर्वतयारी गर्ने र भोलीका दिनमा राहत संकलन कार्यलाई सहज र सुलभ  गर्न विशेष कार्यक्रमको तर्जुमा गरेका छौं ।

युएईमा क्रियाशील अन्य समाजभन्दा के कुरामा फरक छ दाङ देउखुरी समाज ?

सर्वप्रथम त आफू जहाँ रहे पनि अरुलेभन्दा केही फरक गरूँ भन्ने मेरो सोचाई छ । हुन त जहाँ जे जसरी नै गरेको सेवा समाजसेवा नै हो । नेपालीले राम्रो काम चाहे पूर्वमा गरोस् चाहे पश्चिममा गरोस्, केहि फरक पर्दैन । जिल्लाबासीलाई समेटी उनीहरुहरुको दुःखसुखमा सहयोग र सहकार्य गर्दै एकीकृत रुपमा अघि बढनु हाम्रो उद्देश्य हो । सबैका उद्देश्यहरु समान जस्तै छन् । आˆना जिल्लाबासीहरुको उद्दार अनि राहतका कार्यहरु गरेका छौं, अन्य समाज सरह नै ।

अन्य सामाजिक संघसंस्था भन्दा केहि पृथक छैन हाम्रो समाज पनि । आखिर सबैको मूल उद्देश्य त समाजसेवा नै हो । दाङबाट वैदेशिक रोजगारीका लागि आउन चाहने जिल्लाबासीलाई सम्पूर्ण परामर्श दिने गरेका छौं । दाङमा रहेका ऐतिहासिक धार्मिक, पुरातात्विक, सांस्कृतिक महत्वका विषयमा सबै जिल्लाबासीहरुलाई जानकारी प्रदान गर्दछौं । जिल्लाबासीलाई दाङमा भएका शिक्षा, स्वास्थ्यस्थितिको जानकारी दिँदै टाढा भए पनि आˆनो जिल्लाको बारेमा ‘अप टु डेट’ गराउने कोसिस गरेका छौं । दाङ देउखुरी समाज यूएई, दाङ देउखुरी समाज, कतार लगायत अन्यत्र समन्वय गर्दै अन्तर्राष्ट्रियकरण गरी दाङमा एउटा बृहत् मञ्च स्थापना गर्ने उद्देश्य पनि छ ।

अन्य सामाजिक संस्थाहरुसँग के-कसरी समन्वय गरिरहको छ त यो संस्थाले ?

हामी समान उद्देश्य बोकेका विभिन्न सामाजिक संघसस्थाहरुसँग समन्वय गर्दछौं चाहे त्यो संघसस्था युएईमा क्रियाशील होस चाहे दाङबासीले अन्यत्र विभिन्न मुलुकमा खोलेका संघ-संस्था नै किन नहुन् ? विभिन्न एजेन्डाहरुमा सबैसँग  समन्वय गर्दै आएका छौ । राहतसँग सम्बन्धित आर्थिक राहत संकलन र हस्तान्तरणको विषयमा केही संघसस्थाहरुसँग मिलेर यहाँ रहेका दाङबासीहरुलाई  वैदेशिक रोजजारीका बारेमा जनचेतना जगाउने कामहरु गरेका छौं । आर्थिक योजनाका खाका तयार पार्दै समाज रुपान्तरणको बारेमा सधैं सहकार्य गर्दै अघि बढिरहेका छौं । साथै भोलिका दिनमा पनि बढिरहने छौं ।

दाङ जिल्लाको परिबेशलाई मात्र नहेरेर मेचीलाई घाउ लाग्दा महाकालीलाई दुख्नुपर्छ । दुख्छ पनि । हिमाललाई काँडा बिज्दा तराईलाई चस्किनुपर्छ र चस्किन्छ पनि । तबमात्र हामी सच्चा नेपाली आमाका सच्चा सुपुत्र र सच्चा समाजसेवी ठहरिनेछौं । पछिल्लोपटक, झापा निवासी नेपाली जो भिजिट भिसामा थिए, विशाल मेचेको यूएईमा भएको असामयिक निधनको खबर सुन्दा त्यसका लागि मिटिङ बसी राहत संकलन गर्ने योजना बनाएका छौं ।

सबैले समाजसेवा भन्छन् । संस्था खोल्दैमा समाजसेवा हुन्छ ? समाजसेवाप्रति तपाईंको धारणा के छ ?

समाजसेवा भन्न जति सजिलो छ तर गर्नको लागि धेरै चुनौतीहरु हँुदा रहेछन् । पैसाले मात्र समाजसेवा नहुँदो रहेछ । यसको लागि दृढ इच्छा अनि संयममताको  खाँचो पर्दोरहेछ । कतिपय अवस्थामा घरमा फोनमा कुरा गर्दैगर्दा बीचैमा फोन काटेेर पनि समाजसेवाको लागि खटेको मेरो व्यक्तिगत अनुभब छ । विदेशको १२-१२ घन्टे जागिरको बाबजुद पनि हामी कार्यसमितिमा रहेकाहरु खटेर अनेकन राहत संकलन तथा वितरण अभियानमा धेरै संयम अपनाएर लागिपरेका छौं ।

प्रस्तुतिः  आरपी सहयात्री/गोप्स खतिवडा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment