Comments Add Comment

बाढी पहिरोबाट हालसम्म ३२ को मृत्यु, १५ बेपत्ता

सांसदहरुले भने- जनताले हामीलाई सराप्न थाले

Pahiro At Kaski 1

२० असार, काठमाडौं  । सम्भावित बाढी, पहिरोजस्ता विपद्को सामना गर्न सरकारले पूर्वतयारी कार्ययोजना तयार गरी कार्यान्वयन गर्न आफू मातहतका निकायलाई निर्देशन दिएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार असार १ गतेदेखि यस वर्षको मनसुन सुरु भएको थियो ।

गृहमन्त्रालयले वैशाख १ गतेदेखि हालसम्म बाढी पहिरोबाट ३२ को मृत्यु, १५ बेपत्ता, ४८ जना घाइते, १०४ घर पूर्ण क्षति र १५७ घर आंशिक क्षति भएको जनाएको छ । यसैगरी चट्याङबाट ६२ को मृत्यु, १३६ जना घाइते, तीन घर क्षति र सात घरमा आंशिक क्षति भएको छ ।

व्यवस्थापिका–संसद्, राज्य व्यवस्था समितिको आजको बैठकमा सरकारका तर्फबाट प्रस्तुत सो १३ बुँदे कार्ययोजनामा जल तथा मौसम विज्ञान विभागबाट मौसम पूर्व सूचना लिई जिल्लामा दिने, बाढी पहिरो तथा डुबानको जोखिममा रहेका बस्तीको पहिचान गरी पूर्वसूचना दिने र सुरक्षित रहन सूचना प्रवाह गर्ने रहेका छन् ।

यसैगरी आवश्यक न्यूनतम उद्धार सामग्री तयार गरी खोज तथा उद्धारका लागि २४ घन्टा तयारी अवस्थामा रहने, मनसुन प्रतिकार्य पूर्वतयारी योजना तर्जुमा गरी आपत्कालीन कार्य सञ्चालन केन्द्रमा पठाउने, राहत सामग्रीको भण्डारण गर्ने, जिल्ला दैवी प्रकोप राहत कोषमा न्यूनतम रकम राख्ने, सुरक्षा निकायलाई उच्च सतर्कतामा राख्ने, विपद्का समयमा साझा फ्रिक्वेन्सी प्रयोग गर्ने आदि रहेका छन् ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीम रावल र गृहमन्त्री शक्ति बस्नेतले सो कार्ययोजनाका बारेमा बैठकमा जानकारी गराएका थिए।

हाल गृहमन्त्रालय, विपद् व्यवस्थापन महाशाखा र राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले विपद्को सूचना सङ्कलन तथा राहत र उद्धार कार्यमा जिल्ला प्रशासन कार्यालयहरुलाई परिचालन गर्ने गर्दछ ।

पूर्वतयारीका क्रममा सरकारले हेटौँडा, इनरुवा, पोखरा र धनगढीमा आपत्कालीन गोदाम घरको स्थापना गरी गैरखाद्य सामग्री भण्डारण सञ्चालन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मानवीय सहायता कक्षलाई कार्यान्वयनमा ल्याएको छ ।
यसैगरी काठमाडौँमा उपत्यकाभित्र ८३ स्थानमा खुल्ला क्षेत्र कायम गर्ने निर्णयसमेत भएको छ ।

सेनाका लागि तीनवटा हेलिकप्टर खरिद गरिँदै: उपप्रम रावल

उपप्रधानमन्त्री तथा रक्षामन्त्री रावलले बाढी पहिरोका कारण हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न तथा विपद्को स्थिति सिर्जना भएमा यसको व्यवस्थापन गर्न सरकारले तयारी गरेको जानकारी दिए।

उनले सम्भावित विपद्लाई ध्यानमा दिई नेपालगन्ज, काठमाडौँ र विराटनगरमा हेलिकप्टरलाई तयारी अवस्थामा राखिएको जानकारी दिँदै विपद्लाई सामना गर्ने क्षमता सरकारसित रहेको स्पष्ट पारे ।

सांसदहरुको जिज्ञासामा उपप्रधानमन्त्री रावलले विपद्का लागि उद्धार गर्न नेपाली सेनाका लागि तीनवटा हेलिकप्टर खरिदको प्रक्रिया अगाडि बढिसकेको जानकारी दिए ।

विपद्को खबर आउनासाथ सुरक्षा निकाय परिचालन हुन्छ: गृहमन्त्री बस्नेत

गृहमन्त्री शक्तिबहादुर बस्नेतले विपद्को खबर आउनासाथ छिटोभन्दा छिटो सुरक्षा निकायलाई तत्काल परिचालन गरी खोज, उद्धार तथा राहत वितरणको व्यवस्था मिलाइएको बताए ।

उनले सरकारको स्रोत साधनले भ्याएसम्म विपद्का समयमा हेलिकप्टर प्रयोग गर्ने गरिएको स्पष्ट पार्दै यसको दुरुपयोग नहोस् भन्नाका लागि गृहमन्त्रालय सचेत रहेको जानकारी दिए ।

“सम्भावित बाढी, पहिरो र डुबानलाई ध्यान दिई यसबाट उत्पन्न हुन सक्ने क्षतिलाई न्यून गर्न सरकार प्रतिबद्ध छ” – गृहमन्त्री बस्नेतले भने ।

जनताले सराप्न थाले: सांसद

बैठकमा आफ्नो धारणा राख्ने अधिकांश सांसद्ले सरकारले विपद्लाई व्यवस्थापन गर्न ‘यो गर्छु त्यो गर्छु’ भनेर कागजी भाषण मात्र गर्ने गरेको आरोप लगाए ।

उनीहरुले बाढी आउँछ, जनता डुब्छन् सरकार उद्धारका नाममा आकाशमा हेलिकप्टर उडाउँछ यस्तो प्रवृत्तिले कसरी काम हुन्छ ? भन्ने प्रश्न गर्दै अब त जनताले हामीलाई नै बाढीले डुबाउनु नि भनेर सराप दिन थालेको गुनासोसमेत सुनाए ।

बैठकमा सांसद सञ्जयकुमार गौतमले सरकारले विपद्को समयमा ठूला कुरा गर्ने काम कम गर्ने गरेको बताए ।

सांसद नवीन्द्रराज जोशीले सरकारको विपद् व्यवस्थापनसम्बन्धी कागजी योजना मात्र रहेको तर व्यवहारमा केही नभएको आरोप लगाए ।

अर्का सांसद हृदयराम थामीले विपद्को समयमा सुरक्षा निकायले नै उत्कृष्ट काम गरेको बताए  ।

बैठकमा सांसदहरु डा गङ्गालाल तुलाधर, रामकृष्ण यादव, युवराज ज्ञवाली, ईश्वरी न्यौपाने, श्यामप्रसाद ढकालले विपद्को समयमा समन्वयात्मक रुपमा काम हुन आवश्यक रहेकामा जोड दिए ।

बैठकले वर्षात्को समयमा उत्पन्न हुनसक्ने बाढी पहिरोलगायत प्राकृतिक प्रकोपको व्यवस्थापनका लागि प्रभावकारी स्रोत साधन परिचालन गर्न निर्देशनसमेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment