भीमकाय हात्ती, अझ जुत्ता लगाएको । कहिल्यै देख्नुभएको छ ? देख्नु त परको कुरा, हात्तीले जुत्ता लगाएको सुन्नुपनि भएको छैन होला ।
सायद दुनियामा अहिलेसम्म कुनैपनि हात्तीले मान्छेेले झैँ जुत्ता लगाउने शौभाग्य पाएको छैन । तर अब भने छिटै जुत्ता लगाएका हात्तीहरु सडकमा घुम्ने छन् । जुत्ता लगाएपछि यो अजंगको प्राणीले न त सडकमा भएका ढुंगा तथा कंक्रिटमा आफ्नो खुट्टा लतारेर घाउ बनाउनुपर्नेछ । न त भिषण गर्मीमा पक्की सडकमा हिँड्नुपर्दा उसको खुट्टा जल्नेछ । साँच्ची आराम मिल्नेछ ।
भारतको गयाका अख्तर इमामले हात्तीहरुका लागि जुत्ता बनाउने परिकल्पना गरेका हुन् । उनले चारवटा हात्ती पालेका छन् । भयंकर गर्मीयाममा पक्की सडकमा हिँड्दा हात्तीको खुट्टा भएको जलन उनले महसुस गरे अनि हात्तीको खुट्टाको सुरक्षाका लागि जुत्ता सिलाइदिने अठोट गरे ।
ऐरावत बचाऔँ नामक संस्थाका संचालक रहेका अख्तरका अनुसार पहिलेको कच्ची सडक हात्तीका लागि राम्रो थियो । तर अहिले सबै सडक पक्की भएपछि हात्तीको कोमल खुट्टालाई तातो गर्मी सहिनसक्नु भएको छ ।
अख्तरले नालन्दाको प्रसिद्ध छाला कारखाना मोरातलावका मोची अनिरुद्धलाई आफ्ना हात्तीका जुत्ता बनाउने जिम्मा दिएका छन् । हात्तीले लगाउने एक जोर जुत्तलाई १२ हजार भारुसम्म पर्नेछ ।
हात्तीजस्तो वजनदार जिवले लगाउने जुत्ता लरतरो हुने कुरै भएर । जुत्ताको तलुवा मजबुत हुनुपर्यो । त्यसैले गाडीको टायर काटेर जुत्ताको तलुवा बनाइएको छ । हात्तीको खुट्टामा लगाएर सहजै फुकाल्न मिल्ने खालको डिजाइनमा जुत्ता तयार गरिएको छ ।
एकपटक अख्तरका हात्तीले यी जुत्ता लगाएपछि बिहारका अन्य हात्तीप्रेमीहरुले पनि आफ्ना घरपालुवा हात्तीलाई जुत्ता सिलाइदिने विश्वास अनिरुद्धको छ ।
प्रतिक्रिया 4