+

टप अर्डर ब्याटिङ चल्दा नेपालले पाएको सफलता

२०८३ जेठ  ८ गते २१:४६ २०८३ जेठ ८ गते २१:४६
टप अर्डर ब्याटिङ चल्दा नेपालले पाएको सफलता

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु सिरिजको अन्तिम खेलमा शीर्ष स्थानको अमेरिकामाथि शानदार जित दर्ता गर्‍यो।
  • नेपालले ३१८ रनको लक्ष्य दिएको खेलमा स्पिनर सन्दीप लामिछानेले १० ओभरमा ३ विकेट लिएर अमेरिकालाई १९५ रनमा समेटियो।
  • नेपालले स्कटल्याण्ड र अमेरिकासँगको सिरिजमा ४ मध्ये ३ खेलमा जित निकालेको छ र २४ अंकसहित पाँचौं स्थानमा छ।

८ जेठ, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु सिरिजको अन्तिम खेलमा नेपालले शीर्ष स्थानको अमेरिकामाथि शानदार जित दर्ता गर्‍यो ।

टप अर्डर ब्याटिङ चल्दा नेपालले घरेलु मैदानमा भएको ओडीआई खेलमा सर्वाधिक योगफल तयार गर्न सफल भयो । पछिल्ला २ खेलमा राम्रो ओपनिङ गरेका कुशल भुर्तेल र आसिफ शेखले यस खेलमा पनि निरन्तरता दिए ।

कुशल र आसिफले पहिलो विकेटका लागि १२ ओभर ५ बलमा ६९ रनको साझेदारी गरे । कुशल ३९ बलमा २९ र आसिफ ५७ बलमा ४३ रन बनाएर आउट भए । सुरुवात राम्रो हुँदा त्यसपछि आएका ब्याटरले पनि खुलेर खेल्ने अवसर पाए ।

तेस्रो विकेटका लागि इशान पाण्डे र कप्तान रोहित पौडेलले लगतार दोस्रो खेलमा शतकीय साझेदारी गरे । अमेरिकाविरुद्ध उनीहरुले ११० रनको साझेदारी गर्दा नेपाल मजबुत स्थितिमा रह्यो । इशानले लगातार दोस्रो खेलमा अर्धशतक बनाए । यो खेलमा उनले ८३ बलमा ८४ रन बनाएर आउट भए । रोहित ५९ बलमा ४६ रन बनाए ।

त्यसपछि आएका उपकप्तान दीपेन्द्रसिंह ऐरीले आक्रमक अर्धशतक प्रहार गर्दा नेपालले स्कोर ३ सय माथि पुग्न सफल भयो । दीपेन्द्रले ३६ बलमा ५९ रन बनाए । गुल्सन झा १५, सोमपाल कामी ५ र नन्दन यादव एक रनमा आउट हुँदा आरिफ शेख १८ रनमा अविजित रहे । बलिङमा अमेरिकाका शुभम रञ्जने २, मिलिन्द कुमार र रुशिल उगर्कारले एकएक विकेट लिए ।

बलिङमा चम्किए स्पीनर

अमेरिकालाई सस्तोमै समेट्न नेपालका स्पीनर हावी भए । नेपालले दिएको ३१८ रनको लक्ष्य पछ्याएको अमेरिका ४१ ओभर २ बलमा १९५ रनमा समेटियो ।

उत्कृष्ट लयमा रहेका सन्दीप लामिछानेले यो खेलमा पनि लय कायम राखे । उनले अमेरिकाविरुद्ध १० ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । अर्का स्पिनर ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान २–२ विकेट लिए । पेस बलर गुल्सन झाले २ र सोमपाल कामीले एक विकेट लिए ।

सोमपालले पहिलो ओभरमा ओपनर स्मित पटेललाई आउट गरेपछि अमेरिकाले कुनै रन नजोड्दै पहिलो विकेट गुमायो । त्यसपछि शायन जहांगिर र शेहान जयसूर्याले अमेरिकाको ब्याटिङ सम्हाल्ने प्रयास गरे ।

उनीहरुको अर्धशतकीय साझेदारीमा सन्दीपले ११औं ओभरमा ब्रेक लगाए । शायन २७ र शेहान २६ रनमा आउट भए । त्यसपछि भने अमेरिकारले लगातार विकेट गुमाउन पुग्यो । कप्तान साइतेजा मुक्कामल्ला २२, मिलिन्द कुमार १२ र शुभम रञ्जने २ रनमा आउट हुँदा हर्मित सिंह कुनै पनि रन नजोडी आउट भए ।

अमेरिकाका लागि मध्यक्रममा ब्याटिङ गर्न आएका सञ्जय कृष्णमूर्तीले संयमित ब्याटिङ गरे । तर, जित निकाल्न सकेनन् । नेपालका स्पिनर हाबी हुँदा अमेरिकाले ९५ रन जोड्दा ७ विकेट गुमायो ।

आठौं विकेटका लागि सञ्जयले नोस्थुश केन्जिगेसँग ७० रनको साझेदारी गरे । सञ्जय ५६ र नोस्थुश २९ रनमा आउट भए । त्यसपछि शौरभ नेत्रभल्कर १० रनमा गुल्सनको परिबन्धमा पर्दा अमेरिका १९५ रनमा समेटिन पुग्यो ।

योसँगै नेपालले स्कटल्याण्ड र अमेरिकासँगको सिरिजमा ४ मध्ये ३ खेलमा जित निकालेको छ । घरेलु सिरिज सकिएको नेपाल २८ खेलमा ११ जितसहित २४ अंक जोडेर पाँचौं नम्बरमा छ ।

नेपाली क्रिकेट टोली लिग २ क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय