+
काभा महिला भलिबल च्याम्पियनसिप :

फेरि पाँच सेटको खेल, फेरि नेपाल घरेलु कोर्टमा भारतसँग स्तब्ध

२०८३ जेठ  ८ गते २१:५९ २०८३ जेठ ८ गते २१:५९

भारतसँग नेपालले दशरथ रंगशालाको यही कभर्डहलमा धेरै प्रतिस्पर्धात्मक खेलहरू खेलेको छ । नेपालले पहिलो पटक भारतलाई यसै कोर्टमा पराजित गरेको थियो ।

फेरि पाँच सेटको खेल, फेरि नेपाल घरेलु कोर्टमा भारतसँग स्तब्ध

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंमा काभा महिला भलिबल च्याम्पियनसिपको पहिलो खेलमा नेपालले भारतसँग ३-२ को सेटमा पराजित भयो।
  • प्रशिक्षक जगदिश भट्टले खेल पाँचौं सेटमा ५-५ बराबरी हुँदा दुई गल्तीले हार भएको बताए।
  • नेपालले बाँकी कीर्गिस्तान र माल्दिभ्ससँग खेल जितेर सेमिफाइनल पुग्ने लक्ष्य राखेको छ।

८ जेठ, काठमाडौं । सन् २०२४ मा काठमाडौंमा भएको काभा महिला भलिबल नेसन्स लिगमा फाइनल पुगेको नेपाल भारतसँग पाँच सेटको प्रतिस्पर्धात्मक खेलमा पराजित हुँदा उपाधि जित्नबाट वञ्चित भएको थियो ।

त्यही प्रतियोगिताको लिग चरणमा नेपालले भारतविरुद्ध पाँच सेटमै पुगेर ऐतिहासिक जित निकालेको थियो । एकै प्रतियोगितामा त्यो मिश्रित नतिजा थियो तर निर्णायक खेलमा नेपाल चुकेको थियो ।

त्यो फाइनल खेलपछि नेपाल र भारतको राष्ट्रिय महिला भलिबल टोली शुक्रबार फेरि उही कोर्ट त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा भेट हुँदा नतिजा उस्तै आयो । काभा महिला भलिबल च्याम्पियनसिप अन्तर्गत पहिलो खेलमै नेपालले भारतसँग प्रतिस्पर्धा गर्‍यो ।

यसअघि जस्तै यो खेलपनि पाँच सेट सम्म चल्यो । तर नतिजा भने घरेलु टोली नेपालले आफ्नो पक्षमा पार्न सकेन । यस पटक भारतले ३-२ को सेटमा खेल जित्दै विजयी सुरुवात गर्‍यो । कभर्डहलमा उपस्थित नेपाली दर्शकहरूको चर्को हुटिङ र समर्थनलाई भारतले चुप लगायो ।

भारतसँग नेपालले दशरथ रंगशालाको यही कभर्डहलमा धेरै प्रतिस्पर्धात्मक खेलहरू खेलेको छ । जहाँ नेपालले पहिलो पटक भारतलाई यसै कोर्टमा पराजित गरेको थियो भने अहिलेसम्म चार पटक यी दुई टिमको खेलको नतिजा पाँच सेटमा पुगेर टुङ्गिएको थियो । यस पटक पनि विगतकै जस्तो खेल भयो ।

नेपाली टोलीका मुख्य प्रशिक्षक जगदिश भट्टले पनि भारतसँग पछिल्ला केही खेल पाँच सेटमै पुगेर हार्नुपरेको बताए । ‘आज पनि त्यस्तै भयो । पहिलो सेट हामीले जित्यौं । त्यसपछि दुई सेटमा सिल्ली मिस्टेकहरू हुँदा गुमायौं । चौथो सेट जितेर खेल पाँचौ सेटमा पुर्‍यायौं । त्यो सेटमा पनि ५-५ को बराबर स्थिति थियो । खेल जता पनि जान सक्थ्यो । तर हामीले दुई गल्ती गर्‍यौं । त्यो नै खेलको टर्निङ प्वाइन्ट बन्यो’ खेलपछि प्रशिक्षक भट्टले भने ।

सन् २०१९ मा नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) फाइनलमा नेपालले भारतलाई कडा टक्कर दिएको थियो । त्यो बेला भारतसँग ३-२ कै सेटमा पराजित हुँदा नेपाल स्वर्ण नजिक पुगेर पनि वञ्चित भएको थियो ।

यस्तै सन् २०२४ को काभा नेसन्स लिगमा लिग चरण र फाइनल खेल पाँच सेटमा पुग्दा नेपाल र भारतले एक-एक खेल जितेका थिए ।

सन् २०२३ मा चीनको हान्झाउमा भएको १९औं एसियन गेम्स र २०२३ मै काठमाडौंमा भएको काभा महिला च्यालेन्ज कपमा नेपाल भारतसँग ३-१ को सेटमा पराजित भएको थियो ।

पाँच सेटको रोमाञ्चकता

दशरथ रंगशालाको कभर्डहल सानो भएपनि नेपालमा भलिबलको क्रेज र दर्शकको समर्थन भने गज्जबको थियो ।

त्यही अनुसार नेपालले पहिलो सेट घरेलु कोर्टमा नेपालले पहिलो सेट २५-२१ ले जित्दै खेलमा अग्रता बनाएको थियो । भारतले सुरुमै ३-० को अग्रता लिएपनि घरेलु समर्थकको साथ पाएको नेपालले कमब्याक गर्दै १३-१३ मा बराबरी गरेको थियो । त्यसपछि त्यो अग्रता कायम राख्दै सेट आफ्नो पक्षमा पारेको हो ।

तर नेपालले त्यो लयलाई निरन्तर कायम राख्न सकेन । विगतमा जस्तै यस पटक पनि खेलमा कन्सिस्टेन्सी भने हुन सकेन । भारतले दोस्रो सेटमा पुनरामगन गर्‍यो र २५-२० ले आफ्नो पक्षमा पार्दै खेल १-१ को बराबरीमा पुर्‍यायो ।

दोस्रो सेटमा नेपालले पहिले अंक जोडेपनि त्यसपछि भारतले लगातार अंक जोड्दै अग्रता बनायो । नेपालले १०-१० को बराबरी गरेपनि त्यसपछि भने त्यो लय निरन्तरता दिन सकेन र सेट भारतले जित्यो ।दोस्रो सेटमा नेपाल विशेषगरी रिसिभ र डिफेन्समा कमजोर देखियो ।

तेस्रो सेटमा पनि भारतले २५-१९ ले आफ्नो पक्षमा पार्दै खेलमा २-१ को अग्रता बनायो । तेस्रो सेटमा पनि नेपालले अपेक्षा अनुसार प्रदर्शन गर्न सकेन । सबै क्षेत्रमा नेपाल कमजोर भन्दा भारत सुरुदेखि नै नेपालमाथि हावी बनेको थियो ।

चौथो सेटमा नेपाल खेलमा फर्कियो । यो सेटमा नेपालले पहिलो अंक जोड्द‌ै सुरुवातदेखि नै अग्रता बनाएको थियो । नेपालले ५-२, ९-५, १२-८, १५-१२ को अग्रता बनाएको थियो । भारतले १६-१६ मा बराबरी गर्‍यो । त्यसपछि नेपालले लगातार ३ अंक जोडेर १९-१६ को अग्रता बनायो ।

भारतले टाइम आउट लिँदै एक अंक जोडेपनि नेपालले लगातार ३ अंक जोडेर २२-१७ को अग्रता बनायो । त्यही अग्रता कायम राख्दै नेपालले चौथो सेट २५-२१ ले आफ्नो पक्षमा पार्दै खेल पाँचौं सेटसम्म पुर्‍यायो ।

निर्णायक सेटमा जुन टिमले कम गल्ती गर्छ उसैले फाइदा लिन्छ । सुरुवातमा दुवै टिमले पालैपालो अंक जोड्दै ५-५ सम्म बराबरी खेलेका थिए । त्यसपछि भारतले लगातार दुई अंक जोड्यो । त्यही अग्रता नै कायम राख्दै भारतले निर्णायक सेट १५-९ ले जित्दै खेल पनि जित्यो ।

प्रदर्शनबाट सन्तुष्ट

आजको खेलमा नेपालले नयाँ कप्तान निरुता ठगुन्नाको कप्तानीमा पहिलो पटक खेल्यो । यस्तै टिममा नयाँ खेलाडीहरू समावेश हुँदा नयाँ र पुराना खेलाडीको मिश्रण देखियो । नयाँ खेलाडीहरूले पनि घरेलु कोर्टमै अन्तर्राष्ट्रिय एक्सपोजर लिने अवसर पाए । प्रशिक्षक भट्ट यस खेलबाट पाएको एक्सपोजर उनीहरूले बाँकी खेलमा प्रयोग गर्न सक्ने बताए ।

यस्तै मुख्य प्रशिक्षक भट्टले खेलको नतिजा जस्तो आएपनि टोलीको प्रदर्शनप्रति आफू सन्तुष्ट रहेको बताए । ‘हामीले राम्रो प्रतिस्पर्धा गरेका हौं । युवा खेलाडीले पनि राम्रो प्रदर्शन गरे, त्यसबाट खुसी छु । विपक्षीले उचाइको फाइदा उठाए’ उनले भने ।

यसै खेलबाट पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका खेलाडीहरूले पनि डेब्यूको अवसर पाए । मिडल ब्लकर सुनिता खत्रीले सुरुवातदेखि नै खेल्ने अवसर पाइन् । यस्तै युवा आउटसाइड हिटर मिना सुनारले पनि डेब्युमै प्रभाव छाडिन् । अर्का खेलाडी सलिना बुढा मगर, जसना महतो र बसन्ती साउदले पनि डेब्यू गरे ।

प्रशिक्षक भट्टले सबै खेलाडीलाई रोटेसन गराउँदै भारत विरुद्ध खेल्ने अवसर दिएका थिए ।

निरुता ठगुन्नाको लागि भने नेपालको कप्तानी डेब्यू सुखद हुन सकेन । उनले अधिकांश समय कोर्ट बाहिर नै बिताएकी थिइन् भने नतिजा पनि आफ्नो पक्षमा आएन । त्यसैले पोस्ट म्याच कन्फ्रेरेन्समा उनी सुरुमा बोल्दा बोल्दै भावुक बनिन् । त्यसपछि प्रशिक्षक भट्टले नै बाँकी प्रश्नको जवाफ दिएका थिए ।

कप्तान निरुता भने पोस्टम्याच कन्फ्रेन्समा भावुक भइन् । आफूले अपेक्षाअनुरुप प्रदर्शन गर्न नसकेको के मात्र भन्न सकेकी थिइन्, त्यसपछि उनको गला अवरुद्ध भएको थियो । त्यसपछि प्रशिक्षक भट्टले खेलबारे बोलेका थिए ।

भारतका अजरवैजानी प्रशिक्षक कुलान जानाले पनि नेपाल फाइटिङ टिम भएको भन्दै प्रशंसा गरे ।

अब बाँकी दुई खेल जितेर अघि बढ्ने

भारतसँगकै पहिलो खेल निकै प्रतिस्पर्धात्मक बन्दा नेपालले पराजित भएपनि १ अंक जोडेको छ । विजयी टिम भारतले २ अंक जोड्यो ।

शुक्रबारै यस समूहको अर्को खेलमा कीर्गिस्तानले माल्दिभ्सलाई हराएर ३ अंक जोडेको छ । अब नेपालले त्यही कीर्गिस्तान र माल्दिभ्ससँग क्रमश: शनिबार र आइतबार खेल्नेछ । अब नेपाललाई सेमिफाइनल पुग्न बाँकी दुवै खेल जित्नुपर्ने आवश्यकता छ ।

मुख्य प्रशिक्षक जगदिश भट्टले पनि बाँकी खेल जितेर अघि बढ्ने बताए । ‘अब हाम्रो लक्ष्य भनेको बाँकी दुवै खेल जित्ने हो । भोली कीर्गिस्तानसँग छ, त्यसपछि माल्दिभ्ससँग । दुवै खेल जितेर सेमिफाइनल पुग्दै फाइनल पुग्ने लक्ष्य छ’ खेलपछि पत्रकारहरूसँग भट्टले भने ।

नेपालले शनिबार साँझ ५ बजे कीर्गिस्तानसँग दोस्रो खेल खेल्नेछ ।

काभा महिला भलिबल च्याम्पियनसिप नेपाली महिला भलिबल टिम

धेरै कमेन्ट गरिएका

लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय