Comments Add Comment

मधेसी नेतालाई प्रचण्ड र देउवाको आग्रह- भोटमात्रै नहाल्नोस्, ‘स्टेक होल्डर’ बन्नुहोस्

सम्झौतामा हस्ताक्षर नहुँदै प्रचण्डलाई मधेसी मोर्चाको समर्थन

deuba prachanda upendra

१८ साउन, काठमाडौं । नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा मंगलबार बिहान तीन दलीय कार्यदलका ९ जना नेताहरु सम्झौताको खाका कोरिरहेका थिए ।

सोमबार राति ११ बजेसम्म खटेका उनीहरुले तीनबुँदे ड्राफ्ट तयार पारिनसक्दै कांग्रेस नेता शेरबहादुर देउवा र माओवादी नेता प्रचण्ड कार्यदलको बैठकभित्रै छिरे ।

प्रचण्डलाई प्रधानमन्त्रीको उम्मेद्वार बनाउन हतारिएका देउवा र प्रधानमन्त्री बन्न उत्साहित देखिएका प्रचण्ड दुबैले संघीय गठबन्धनसहितका नेताहरु बसिरहेका ठाउँमा संक्षिप्त कुरा राखे ।

बैठकमा सहभागी एक नेताले अनलाइनखबरलाई दिएको जानकारी अनुसार प्रचण्ड र देउवा दुबैले मधेसी मोर्चा र जनजाति पार्टीका नेताहरुलाई भने, ‘प्रधानमन्त्रीमा भोटमात्रै नहाल्नोस् र सरकारसँग मागमात्रै नराख्नोस्, कसैसँग माग्ने भन्दा पनि आफैं सरकारको स्टेक होल्डर भएर, हामी सबैले एकसाथ मिलेर समस्याको समाधान गरौं ।’

कांग्रेस र माओवादीका नेताहरुले सरकारमात्रै फेर्नका लागि केपी ओलीलाई प्रधानमन्त्रीबाट नहटाइएको मधेसी मोर्चाका नेताहरुलाई बताए । ‘ओलीलाई त्यतिकै हटाइएको छैन, साँच्चै नै हामी सबै मिलेर राजनीतिक समस्या समाधान कसरी गर्न सकिन्छ भनेर यो प्रयास गरिएको हो,’ शीर्ष नेताहरुको भनाइ उधृत गर्दै स्रोतले अनलाइनखबरसँग भन्यो, ‘जति सकिन्छ, सबैका मागहरुलाई सम्बोधन गरेर संविधान संशोधन गरिनेछ ।’

हस्ताक्षर नहुँदै प्रचण्डलाई समर्थन

संघीय गठबन्धनका नेताहरुले कांग्रेस र माओवादीबाट लिखित प्रतिवद्धतामा हस्ताक्षर नभएसम्म प्रचण्डलाई समर्थन नगर्ने बताएका थिए । तर, मंगलबार बिहान साढे ११ नबज्दै मोर्चाका नेताहरु प्रचण्डलाई समर्थन जनाउन संसद सचिवालयमा छिरे ।

madesi_congress

प्रचण्डको समर्थनमा त्यहाँ कृष्णबहादुर महरा र कुमार खड्कासँगै उपेन्द्र यादव, सर्वेन्द्रनाश शुक्ल र लक्ष्मणलाल कर्णले पनि हस्ताक्षर गरे । कांग्रेस सभापति देउवा प्रचण्डका प्रस्तावक बने ।

तीन दलीय सहमतिमा हस्ताक्षर गर्न बाँकी नै रहे पनि तीन दलका ९ जना सदस्यहरु सम्मिलित कार्यदलले ३ बुँदे सहमतिको लिखित प्रस्ताव भने तयार पारिसकेको छ ।

कार्यदलको उक्त प्रस्तावमा शेरबहादुर देउवा, प्रचण्ड र उपेन्द्र यादवले छलफल गरेर हस्ताक्षर गर्ने कार्यदलका एक सदस्यले अनलाइनखबरलाई जानकारी दिए ।

कांग्रेस र एमालेका नेताहरुले सरकारमै सहभागी हुन आग्रह गरे पनि संघीय गठबन्धन तत्काल सरकारमा नजाने र प्रचण्डलाई भोटमात्रै दिने गठबन्धनका एक नेताले जिकिर गरे ।

यो पनि पढ्नुस्
प्रधानमन्त्रीमा एमालेले उम्मेद्वारी नदिने, प्रचण्डको विपक्षमा मतदान गर्ने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment