Comments Add Comment

सेयरबजार किन लाग्यो ओरालो ?

'प्रचण्ड'प्रधानमन्त्री भएपछि लगानीकर्ता डराए

Stock-Market२५ साउन, काठमाडौं । सेयरबजार परिसूचक नेप्से इतिहासकै सबैभन्दा उच्च अंकले घटेको छ ।

सोमबार नेप्से अघिल्लो दिनको तुलनामा ८८ दशमलव ८१ अंक (५ दशमलव शून्य ३ प्रतिशत) घटेको छ । नेपाली सेयरबजारको दुई दशकको इतिहासमा यसअघि कहिल्यै पनि यति उच्च अंकले घटेको थिएन ।

सोमबार सर्किट बे्रकर लगाएर बजार बन्द गर्नुअघि नेप्से परिसूचक १ हजार ६ सय ७५ दशमलव ९१ अंकमा पुगेको थियो । सोमबार बजार सूचकांकले कीर्तिमानी अंकको गिरावट व्यहोरेपछि नेप्सेले तत्कालका लागि लगातार उकालो लाग्ने सिलसिला गुमाएको विश्लेषकहरूले बताएका छन् ।

नेप्से अघिल्लो सातादेखि नै घट्दो प्रवृत्ति (बियरिस ट्रेन्ड)मा छ । अघिल्लो साताको बुधबार -१२ साउन) नेप्से १ हजार ८ सय ८७ अंकमा पुगेर ओरालो लाग्न थालेको थियो ।

पछिल्ला महिनामा औसत करिब २ अर्ब रुपैयाँको दैनिक व्यापार भएको नेप्सेमा सोमबार ८७ करोड ९४ लाख रुपैयाँभन्दा कमको सेयर व्यापार भयो । कारोबार संख्या पनि औसत १० हजारबाट झरेर ४ हजार ८ सयमा पुगेको छ । यस दिन नेप्सेमा १ सय ३० कम्पनीको ११ लाख ६२ हजार कित्ता सेयर व्यापार भयो ।

माओवादीप्रतिको डर पनि कारण रहेको  कतिपय ब्रोकरले बताएका छन् । प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पदारोहणबाट लगानीकर्ता डराएको बताएका अाजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

खासगरी मारवाडी समुदायका लगानीकर्ता प्रचण्ड प्रधानमन्त्री बनेपछि त्रसित बनेको एक ब्रोकरले बताए ।

सेयरबजारमा प्रवाह हुने कुल लगानीमध्ये कम्तीमा ६० प्रतिशत मारवाडी समुदायको लगानी रहेको ब्रोकरहरूको अनुमान छ । ‘ठूलो समुदाय भए पनि उनीहरूको विचार समान छ र उनीहरू पहिलेदेखि नै माओवादीसँग सशंकित रहँदै आएका छन्’ एक ब्रोकरले भने, ‘अहिले बजार घट्नुमा यो मुख्य कारण हो ।’ अर्कोतिर बजार उचाइमा पुगिसकेको भन्ने तर्कहरू बाक्लिन थालेका वेला प्रचण्ड प्रधानमन्त्री हुनुलाई ‘घट्ने निहुँ पाएको’ टिप्पणी गर्नेहरू पनि कम छैनन् ।

व्यापारका पछिल्ला आठ दिनमा सेयरबजारको आकार २ खर्ब २४ अर्ब रुपैयाँ घटिसकेको छ ।

अघिल्लो साताको बुधबार २० खर्ब ७१ अर्ब रुपैयाँ पुगेको सेयरबजारको पुँजीकरण सोमबार १८ खर्ब ४७ अर्बमा झरेको छ ।
सेयरबजारको आकार घट्नु भनेको सेयरधनीहरूको कुल सम्पत्ति घट्नु हो ।

‘अहिले बजार घट्नुमा नियामक निकायको हस्तक्षेप मूल कारण हो,’ हाथवे इन्भेष्टमेन्टका महाप्रबन्धक अम्बिकाप्रसाद पौडेल भन्छन्, ‘बाहृय र आन्तरिक पक्ष निकै बलियो अवस्थामा रहेकाले समग्र बजार अझ धेरै घट्ला भन्ने लाग्दैन ।’ हालै नियामक निकाय सेबोनले बजारमा कालोधनको प्रयोग भएको भन्दै अनुसन्धान थाल्न समिति बनाएको छ ।

सेबोनले पटक-पटक लगानीकर्तालाई सचेत हुन चेतावनीपूर्ण सन्देश दिएको छ । यी कारणले नकारात्मक मनोवैज्ञानिक प्रभाव पर्दा बजार घटेको विश्लेषण छ । सेयर लगानीकर्ता संघले नियामक निकायका भूमिकामाथि आपत्ति जनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment