Comments Add Comment

पार्टी एकता भाँड्ने ‘अदृश्य शक्ति’ भन्दै कमल थापाको इशारा कता ?

Kamal Thapa, RPP Nepal

२५ साउन, काठमाडौं । राप्रपासँगको पार्टी एकता औपचारिक घोषणा नहुँदै भाँडिएको भोलिपल्ट राप्रपा नेपालका अध्यक्ष कमल थापा पत्रकारहरुमाझ उपस्थित भए ।

उनले पार्टी एकता प्रक्रियाको लामो अन्तरकथा सुनाए । र, राप्रपा अध्यक्ष पशुपति शम्शेर राणामाथि खनिए । राणाले बेइमानी गरेको र अन्तरिम विधानको बाहाना बनाएर झुट बोलेको मात्र भनेनन् केही व्यक्तिको स्वार्थ र अदृश्य शक्तिको प्रेरणामा राप्रपा अध्यक्ष राणाले ‘राष्ट्रवादी प्रजातान्त्रिक शक्ति’को एकता भाँडेको थापाले आरोप लगाए ।

संयोेग नै मानौं, राप्रपा नेपाल र राप्रपाको एकता भाँडिएको औपचारिक घोषणा हुनु अघि कमल थापाले संसदमा बोलेका थिए । र, उनले नेपालमा फेरि बाहृय हस्तक्षेप बढेको र नेपाली जनताको निर्णायकत्वमा कालो बादल लागेको बताएका थिए ।

पार्टी एकता कसरी भाँडियो भनेर सुनाउने क्रममा दुई पटक पशुपति शम्शेर राणाको भारत भ्रमण उल्लेख गरेका थापाले अदृश्य शक्ति भन्दै दक्षिणी छिमेकीलाई संकेत गरे । केपी ओली सरकार ढल्नु र पार्टी एकता भाँडिनु आपसमा जोडिएको भन्दै उनले त्यही संकेतलाई बल गरे । तर, त्यो अदृश्य उत्तर कि दक्षिणतिर ढल्किएको छ भन्ने प्रश्नमा पूर्व परराष्ट्रमन्त्री थापाले बोल्न चाहनेनन् ।

राणाको भारत भ्रमण

राप्रपासँग पार्टी एकताको अध्याय समाप्त भएको घोषणा गर्नुअघि पत्रकार सम्मेलनमा राप्रपा नेपालका अध्यक्ष थापाले निकै लामो पृष्ठभूमि बाँधेका थिए ।

उनका अनुसार अनेक साइत जुराएर असार ११ गते १ बजे दुबै पार्टीको केन्द्रीय कार्यसमितिको बैठक एउटै समयमा तर अलग-अलग ठाउँमा बसेको थियो । दुबै पार्टीको बैठकले १२ गते पार्टी एकतालाई सर्बसम्मतले अनुमोदन पनि गर्‍यो ।

Pashupati-Shamser
पशुपति शम्शेर राणा

तर, असार अन्त्यतिर आइपुग्दा आशंका जन्मिएको थापाले बताए । २७ गते दुबै पार्टीको संयुुक्त टोलीले पार्टी एकताको नीति तथा आधार पत्र तयार पारेको थियो । बैठक स्थलबाटै राप्रपाका तत्कालीन नेता पशुपतिशम्शेर राणा भारत भ्रमणमा गए ।

माओवादीले केपी ओली सरकारलाई दिएको समर्थन फिर्ता लियो र सरकारविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता भयो । त्यसबेला ओली सरकारको उपप्रधान एवं परराष्ट्रमन्त्री रहेका थापा भन्छन्, ‘पशुपति जी भारत भ्रमण छोट्याएर आउनु भो र सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टीमा दबाव दिनुभो ।’

राणाले पार्टीलाई अविश्वासको प्रस्तावको पक्षमा उभिन बाध्य पारेपछि नै राप्रपा र राप्रपा नेपालको एकता अवरुद्ध हुने संकेत आफूहरुले पाइसकेको उनले बताए ।

अविश्वासको प्रस्तावमा संसदमा भोटिङ गर्नु परेन । तत्कालीन प्रधानमन्त्री ओलीले राजीनामा दिए । तर, नयाँ सरकार गठनको प्रक्रिया सुरु भएसँगै एकता प्रक्रियामा रहेका राप्रपा र राप्रपा नेपाल फेरि विभाजित भए । राप्रपाले प्रधानमन्त्रीमा प्रचण्डलाई भोट दियो भने राप्रपा नेपालले विपक्षमा मतदान गर्‍योे । यसले पनि पार्टी एकता प्राविधिक रुपमा नै कमजोर भएको थापाले बताए ।

यसबीचमा राप्रपामा नेतृत्व हस्तान्तरण भयो । लोकेन्द्रबहादुर चन्द अध्यक्षबाट हटे र राणा आए । तथापि चन्दले आफू र राप्रपा अध्यक्ष राणालाई पटक-पटक आफ्नै निवासमा बोलाएर छलफल गरेको र एकताबारे सहमति भएको थापाले दाबी गरे । साथै सरकारबारे पार्टी एकतापछि बैठक बसेर निर्णय गर्ने र सबैले मान्ने सहमति भएको थियो ।

एकता भाँडिनु अघिको त्यो भेट

पत्रकार सम्मेलनमा थापाले बताएअनुसार भोलिपल्ट आज पार्टी एकता घोषणाको तयारी थियो । राष्ट्रिय सभाहल बुक गर्नुका साथै भने बक्ताहरु समेत तय भइसकेको थियो ।

तर, २४ गते (हिजो सोमबार) राप्रपा अध्यक्ष पशुपति शम्शेरले थापालाई टेलिफोन गरेर जरुरी सल्लाह गर्नुछ भनेर बोलाए । राप्रपा नेपालका अध्यक्ष थापाले भने, ‘पशुपतिजीले बडो लाचारीका साथ दुई जना मन्त्री सिफारिस गर्नु पर्ने भो । पार्टी एकतामा के असर पर्छ भन्नु भो ।’ यो समझदारी विपरित हुने र यसले पार्टी एकता संकटमा पार्ने भन्दै आफूले राणालाई सत्ता वा पार्टी एकता मध्ये एक रोज्न भनेको राप्रपा नेपालका अध्यक्ष थापाले बताए । उनले अघि भने, ‘उहाँले कुनै सम्पर्क गर्नु भएन । एक्कैचोटी दिउँसो चार-सवा चार बजेतिर विज्ञप्ति आयो ।’

राप्रपा अध्यक्ष राणाले आफूसँग छलफल गर्ने सामान्य शिष्टता समेत पूरा नगरेको उनले बताए । अन्तरिम विधानमा छलफल आवश्यक रहेको भन्ने राणाको तर्क अस्वीकार गर्दै थापाले आफूले आवश्यक परे राप्रपाकै विधान मान्न तयार छु भनेको दाबी गरे । राणाले झुट बोलेको र बेइमानी गरेको भन्दै उनले भने, ‘यो बहाना मात्र थियो ।’

थापाले राप्रपा र राप्रपा नेपालबीचको एकता भाँडिनु दुई पार्टीको विषय मात्र नभई एउटा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति नहोस् भन्ने अदृश्य शक्तिले काम गरेको बताए ।

भिडियो हेर्नुहोस् 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment