Comments Add Comment
कर्णालीमा अक्सिजनको हाहाकार :

बेड भएपनि बिरामी राख्न नसक्ने अवस्थामा कर्णाली अस्पताल

३१ वैशाख, सुर्खेत । कर्णाली प्रदेश कोभिड अस्पतालले यतिखेर बेड हुँदाहुँदै पनि थप संक्रमित भर्ना लिन नसक्ने अवस्थामा पुगेको छ । अक्सिजनको अभाव हुँदा प्रदेश राजधानी वीरेन्द्रनगरमा रहेको एकमात्र ठूलो अस्पतालले कोरोनाका थप बिरामीलाई भर्ना गर्न नसक्ने अवस्थामा पुगेको जनाएको हो ।

‘अहिलेसम्म त नयाँ संक्रमितलाई भर्ना लिएका थियौं, अब भने रोक्नुपर्ने स्थिति आएको छ,’ अस्पतालका निर्देशक डा. डम्मर खड्काले भने, ‘यसका लागि प्रदेश सरकारसँग हामीले छलफल थालेका छौं ।’

निर्देशक खड्काका अनुसार अस्पताललाई दैनिक ३०० सिलिन्डर अक्सिजन आवश्यकता पर्छ । तर, केही दिनअघिसम्म २०० सिलिन्डर भरेर ल्याउने गरिएको थियो । बुधबारदेखि भने ५० सिलिन्डर मात्र अक्सिजन नेपालगंञ्जबाट आएको छ । जसले गर्दा अक्सिजनको हाहाकार भएको छ ।

‘नेपालगञ्जबाटै अक्सिजन ल्याउन सकिएको छैन, स्थानीयले नै खोसाखोस गरिरहेका छन् रे, यस्तो अवस्थामा हामीले कसरी बिरामीलाई भर्ना लिन सक्छौं,’ निर्देशक डा. खड्काले भने ।

जनशक्ति र बेड भएपनि अक्सिजन अभावकै कारण नयाँ बिरामी भर्ना लिन नसकिने डा. खड्काले बताए । उनका अनुसार पर्याप्त अक्सिजन भए प्रदेश अस्पतालमा २०० सम्म कोरोनाका बिरामी राख्न सकिन्छ ।

त्यसो त हाल प्रदेश अस्पतालले केबल ‘हाई फ्लो’ अक्सिजन दिनुपर्ने संक्रमितहरूलाई मात्रै लिन थालेको छ । अन्य संक्रमितलाई परामर्श दिँदै होम आइसोलेसनमा बस्न सुझाउने गरेको अस्पतालका डा. नवराज केसीले बताए ।

डा. केसीका अनुसार प्रदेश अस्पतालमा हाल ९२ जना कोरोनाका जटिल प्रकृतिका बिरामीहरु छन् । अस्पतालमा दुईवटा अक्सिजन प्लान्ट सञ्चालनमा भएपनि ती प्लान्टबाट ‘हाइफ्लो’मा अक्सिजन दिन सकिएको छैन ।

‘अहिले धेरैजसो बिरामीलाई प्लान्टबाटै अक्सिजन दिने काम भइरहेको छ, तर हाइफ्लो चाहियो भने सिलिन्डर नै स्वीच गर्नुपर्छ, हामीसँग सिलिन्डरको चर्को अभाव छ,’ डा. केसीले भने ।

अस्पतालको पुरानो र नयाँ दुईओटै भवनबाट कोभिड अस्पताल सञ्चालन गरिएको छ । पुरानो भवनमा ५० र नयाँ भवनमा ४२ जना बिरामी राखिएको छ । डा. केसीका अनुसार पुरानो भवनमा भएकामध्ये केहीलाई प्लान्टबाटै अक्सिजन दिइएको छ ।

नेपालगञ्जमा पनि अक्सिजनको आक्रान्त अवस्था भएकाले कर्णालीमा आउने अक्सिजन घटेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल बताउँछन् । ‘पछिल्लो समय त बिरामीका आफन्तले सुर्खेत ल्याउन लागेको अक्सिजन गाडीबाटै लगेछन्, त्यहाँ पनि अवस्था आक्रान्त छ,’ प्रजिअ रिजालले भने ।

३६ घण्टापछि आउँछ अक्सिजन भर्ने पालो

प्रदेश राजधानी वीरेन्द्रनगरमा मात्रै दैनिक ३०० सिलिण्डर अक्सिजन आवश्यक पर्छ । तर,  वीरेन्द्रनगरका लागी १३० सिलिण्डर मात्रै कोटा निर्धारण गरिएको सप्लायर्स पवनपुत्र ट्रेडर्सका सञ्चालक हरि बिसीले बताए ।

‘कर्णालीमा अक्सिजन प्लान्ट नहुँदा व्यवसायीले मात्रै होइन्, विरामीले पनि ठूलो सास्ती भोग्नु गरेको छ । बाँकेको अक्सिजन उद्योगमै स्थानीयहरु सिलिण्डर लिएर पुग्ने गरेका छन्,’ उनले भने ।

बाँके जिल्ला प्रशासन कार्यालयले पनि सुरुमा भेरी अस्पताल र त्यसपछि कोहलपुर मेडिकल कलेजका लागि आवश्यक अक्सिजन सिलिण्डर नभर्दासम्म अन्य जिल्लाबाट लगिएका सिलिण्डर भर्न नदिएको सप्लायर्स कम्पनीहरु बताउँछन् ।

सुर्खेतमा श्रीराम सप्लायर्स र पवनपुत्र ट्रेडर्सले मात्रै अक्सिजन वितरण गर्दै आएका छन् । संकटको बेला दुईवटा सप्लायर्सलाई १३० वटा मात्रै कोटा निर्धारण गरिएको छ ।  ३६ घण्टामा एक पटक मात्रै सुर्खेतले अक्सिजन भर्ने पालो पाउने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
यज्ञ खत्री

ट्रेन्डिङ

Advertisment