Comments Add Comment

राजकिशोरको राजनीतिः सीता एयरदेखि फोरम नेतासम्म !

'विमानको मर्मतभन्दा समाजको इञ्जिनियरिङ अप्ठ्यारो'

Raj Kishor Yadav

३० साउन, काठमाडौं । पूर्वमन्त्री एवं मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) का अध्यक्ष राजकिशोर यादव राजनीतिमा प्रवेश गर्नुअघिसम्म त्रिभुवन विमानस्थलभित्र सीता एयरमा काम गर्थे । यादवको काम थियो, बिग्रेका हवाइजहाज मर्मत गर्ने ।

तर, पूर्वसभासद एवं इञ्जिनियर यादवले अहिले बिग्रेका विमान मर्मत गर्न चटक्कै छाडिसकेका छन् । उनी ०६२/०६३ को जनआन्दोलनसँगै मधेसमा बिग्रेको राजनीति मर्मत गर्ने अभियानमा होमिएका छन् ।

‘मलाई राजनीतिको नशा लाग्यो, मलाई एडिक्सन नै भैगयो’ अनलाइनखबरसँग मनकोे पन्तुरो फुकाउँदै पूर्वसूचना तथा सञ्चारमन्त्री यादवले भने- ‘सुरुमा रातारात आमूल परिवर्तन गरिदिन्छु, मैले पढेको छु, जानेको छु भन्ने बुझाइ थियो, तर सामाजिक अवस्था र अहिलेको संयन्त्रले त्यसरी अघि बढ्न नदिँदोरहेछ ।’

मधेसी जनअधिकार फोरममा आएको विभाजनसँगै आफैं सानो दलको अध्यक्ष बन्न पुगेका यादव जहाज मर्मत गर्नभन्दा राजनीति गर्न गाह्रो हुँदोरहेछ भन्ने अनुभव सुनाउँछन् । उनी भन्छन्- ‘जहाज भनेको त निर्जिव कुरा न भयो, समाजको मनोविज्ञानलाई बुझेर राष्ट्रिय-अन्तरराष्ट्रिय दबावहरु झेल्दै अघि बढ्न धेरै गाह्रो हुँदोरहेछ ।’

यादव आफ्नो एक दशक लामो राजनीतिको अनुभव यसरी सुनाउँछन्- ‘मल्टी डाइमेन्सनल हुँदोरहेछ । सोसियल इञ्जिनियरिङ जीवन्त प्रक्रिया रहेछ । तर, इञ्जिनियरिङको पढाइले समाज र राजनीतिलाई छिटोरुपमा बुझ्न र विश्लेषण गर्नका लागि सहयोग पुग्दोरहेछ ।’

बुबा पनि राजनीतिकर्मी भएको र यादवको छोरो भएकाले राजनीति आफ्ना लागि ‘जेनेटिक कुरो’ भएको यादवको तर्क छ । उनी भन्छन्- ‘राजनीति मेरा लागि प्यासन भयो, म यसैका लागि बनेको हुँ कि जस्तो लाग्छ ।’

सीतादेखि किङ फिसरसम्म

युवा पुस्ताका नेता राजकिशोर सीता एयरमा काम गर्दा गौरीघाटमा बस्थे । ०६२/०६३ को जनआन्दोलनका बेला उनी गौशाला चाबहिल चोकतिर जुलुसमा सहभागी हुन्थे ।

त्यसलगत्तै मधेस आन्दोलन भयो । पारिवारिक वातावरण राजनीतिक भए पनि राजकिशोरले पार्टी सदस्यता लिएका थिएनन् । मधेस आन्दोलन सुरु भएपछि उनी जागिरे पेशामा मात्रै बसेर हुँदैन न्दै आन्दोलनमा होमिए । उपेन्द्र यादव नेतृत्वको फोरमका प्रवेश गरेपछि उनी र्कीतिपुरमा मधेसी विद्यार्थीवीच संगठन र आन्दोलनका लागि पुगे ।

पहिलो मधेस आन्दोलन सम्झौतामा टुंगियो । सम्झौता लागू नभएपछि अर्को आन्दोलन सुरु नहुँदै यादव जिल्लामा पार्टीको काममा खटिए ।

केही समय संगठनमा काम गरेपछि यादवलाई फेरि जागिरमा फर्किने सोचाइ आयो । फेरि जागिरमा जानका लागि यादवले दिल्ली पुगेर किङ फिसर एयरलाइन्समा आवेदन दिए ।

‘जागिरमा जाऔं कि भन्ने मनोविज्ञान थियो, मैले काठमाडौंमा साना जहाजमा काम गरेको थिएँ, भारतमा बोइङको काम गर्नुपर्ने भयो, त्यसका लागि ट्रेनिङ गर्नुपर्ने हुन्थ्यो,’ यादवले अनलाइनखबरसँग भने, ‘म त्यसैको तयारी गर्दै थिएँ, फेरि आन्दोलनको नेतृत्वका लागि फर्किएँ ।’

जीवनकै अप्रिय निर्णयः श्रीमतीलाई सभासद

राजकिशोरले नेतृत्व गरेको गणतान्त्रिक फोरमले व्यस्थापिका संसदमा एक सीटको प्रतिनिधित्व गरेको छ । सो पार्टीका तर्फबाट सांसद छिन्- सरिताकुमारी यादव । उनी ६०१ मध्येकै सबैभन्दा कम उमेरकी सांसद हुन् । र, उनी पार्टी अध्यक्ष राजकिशोर यादवकी धर्मपत्नी हुन् ।

Rajkishor and Sarita Puja

मधेसवादी नेता राजेन्द्र महतो र अनिल झाले पनि राजकिशोरले जस्तै आ-आफ्ना श्रीमतीलाई सभासद बनाएका छन् । यसरी पत्नीलाई सभासद बनाएकोमा यतिबेला राजकिशोरलाई भने पछुतो लागेको रहेछ । उनले यो निर्णयलाई आफ्नो जीवनकै सबैभन्दा अप्रिय निर्णय भनेका छन् ।

‘मेरो राजनीतिक जीवनको सबैभन्दा अप्रिय निर्णय मैले आफ्नै हातले गरें । नेपाली समाजको आवश्यकता अनुसार व्यवहारिक पक्षलाई बढी महत्व दिएर मैले यस्तो निर्णय गरें,’ यादव अनलाइनखबरसँग भन्छन्- ‘आज सम्झँदा कहीँ न कहीँ यसो नगरेको भए हुन्थ्योजस्तो लाग्छ ।’

पत्नीलाई सभासद बनाएकोमा पुछताऊ गरेका यादवको यो आत्म स्वीकारोक्तिलाई सकारात्मकरुपमा लिन सकिन्छ । तर, राजेन्द्र महतो र अनिल झाले अहिलेसम्म आफ्नी पत्नीलाई सभासद बनाएकोमा सार्वजनिक रुपमा आत्मालोचना गरेका छैनन् ।

राज्य सत्ताले मधेसी जनतालाई हेरेन भन्दै आएका महतो र झाले पत्नीलाई सभासद बनाएर परिवारवाद लादेको गुनासो मधेसमा समेत सुनिँदै आएको छ ।

राजकिशोरले ०६१ सालमा सरितासँग मागी विवाह गरेका हुन् । ‘उनलाई पहिलोचोटि भेट्दा मलाई लाग्यो कि उनी मेरै लागि बनेकी हुन्’ यादवले आफ्नो पारिवारिक जीवनबारे भने- ‘फस्ट साइडकै हेराइले एट्याक गर्‍यो र दुबै पक्षका परिवार बसेर विवाह भयो ।’

राजकिशोरले पछिल्लो समयमा राजेन्द्र महतो, महन्थ ठाकुर, जेपी गुप्ता र शरतसिंह भण्डारीसँग राम्रो सम्बन्ध बनाएका छन् । उपेन्द्र यादवले चाँहि आफू यादव समुदायबाटै आएको हुनाले प्रतिस्पर्धी ठान्ने गरेको उनको बुझाइ छ

राजकिशोर र सरिताका दुई छोरा र एक छोरी छन् । अहिले पनि उनीहरुको बसाइ गौरीघाटमै छ । सरिता सांसद भएकाले आर्थिक हिसाबले परिवार धान्न केही सहज भएको छ ।’

तर, पार्टी अध्यक्ष भएकाले राजकिशोरको खर्च अलि बढी नै छ । के अब विगतको जस्तो इञ्जिनियरिङ पेशा र राजनीतिलाई सँगसँगै अगाडि बढाउन सम्भव छैन ? यो प्रश्नमा उनी भन्छन्- ‘म तयार नहुँदै मेरा लागि दायित्व थपियो र एउटा पार्टीको अध्यक्ष हुन बाध्य भएँ । फूलटाइमर भइँन भने पार्टी कसरी चल्छ ? २० वटा जिल्लामा संगठन छ, भिजिट गरिरहनुपर्छ ।’

शुरुमा उपेन्द्र यादव नेतृत्वको फोरममा लागेका यादव ०६४ को पहिलो संविधानसभामा सिरहाबाट प्रत्यक्ष निर्वाचित सभासद बने । उनी यसवीचमा सूचना तथा सञ्चारमन्त्री समेत बने । उपेन्द्र र जेपी गुप्तावीच पार्टी फुटेपछि राजकिशोर जेपीतिर लागे । पछि जेपी जेल परेका बेला राजकिशोर आफैं पार्टी अध्यक्ष बने । पछिल्लो समयमा उनको दल पनि मधेसी मार्चामा आवद्ध छ ।

मिलनसार स्वभावका यादवले पछिल्लो समयमा राजेन्द्र महतो, महन्थ ठाकुर, जेपी गुप्ता र शरतसिंह भण्डारीसँग राम्रो सम्बन्ध बनाएका छन् । उपेन्द्र यादवलेचाँहि आफू यादव समुदायबाटै आएको हुनाले प्रतिस्पर्धी ठान्ने गरेको उनको बुझाइ छ ।

‘मधेसमा नयाँ शक्ति र एकीकृत क्रान्तिको खाँचो’

मधेसको राजनीतिलाई अनुभवजन्य आधारबाट नियालिरहेका राजकिशोर अब मधेसमा आदर्शको राजनीति आवश्यक रहेको बताउँछन् । उनको विचारमा अहिलेका नेताहरुले मधेसको आवश्यकता पहिचान गर्न सक्नुपर्छ ।

राजकिशोर भन्छन्- ‘अहिले भएको संगठनमा सन्तुष्ट छैन । आन्दोलनको चरण पार गरिसकेपछि अब मधेसमा नयाँ शक्ति निर्माण गर्नुपर्ने हुन्छ । अहिलेकै शक्तिले हुँदैन । मधेसमा अहिलेसम्म त फलानोले दिएन भनेर हिँड्न पुगेको छ, भोलि त हामीले नै गरेर देखाउनुपर्ने हुन्छ । मधेसमा नयाँ शक्तिको आवश्यकता छ ।’

मधेसमा रहेको अहिलेको समस्यालाई समाधान गरेपछि र संविधानमा सबैको स्वामित्व स्थापित गरेपछि नेपाललाई १० वर्षमा मधेसलाई सम्वृद्ध पार्न सकिने यादवको बुझाइ छ ।

यादव भन्छन्- ‘मधेसमा सम्पूर्ण क्रान्तिको आवश्यकता छ । त्यो भनेको इन्टिग्रेटेड रिभोल्युसन (एकीकृत क्रान्ति) हो, म त्यसको खाका निर्माण गर्दैछु ।’

मधेसमा विद्यमान पार्टी र तिनका नेताहरुले एक अर्काको अस्तित्व स्वीकार गर्न नसक्ने समस्या रहेको यादव बताउँछन् । उनी भन्छन्- ‘मधेसमा अहिले एकले अर्काको अस्तित्व स्वीकार्न तयार छैनन् । यही कारणले पार्टी विभाजन भएको छ, कुर्सीको कारणले मात्रै होइन, मधेसका पार्टीहरु विभाजित हुनुमा आन्तरिक कारण पनि छ ।’

सभासद बनेका बेला केही समय अमेरिकामा त्यहाँको चुनावी प्रणालीको अनुगमन गर्न गएका यादव मधेसका वौद्धिक नेतामध्ये एक मानिन्छन् । र, सानै उमेरमा सांसद र मन्त्री बन्ने माग्यमानी पनि मान्छिन् उनी ।

तर, के राजकिशोरले अब आफूले भनेजस्तै मधेसको राजनीतिमा नयाँ विकल्प दिन सक्लान् ? अनुभवका हिसाबले चाँहि राजनीतिमा उनी निकै कान्छा छन्, मधेसका अन्य नेताहरु भन्दा ।

यसै सन्दर्भमा फोरम नेता यादवसँग अनलाइनखबरले समसामयिक राजनीतिबारे गरेको कुराकानी यस्तो छ:

मधेसी मोर्चा र संघीय गठबन्धनका नाममा तपाईहरुवीच आपसी झगडा भइरहेको छ, विगतमा केपी ओलीले मोर्चालाई पत्र लेख्दा गठबन्धनलाई पत्र लेख्नुपर्ने माग गर्नुभयो, किन ?

अहिले यसैमा भ्रम छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा ७ दलको छ । त्यो मोर्चाले निर्णय गरेर गठबन्धन बनाएको हो । उपेन्द्रजी नेतृत्वको फोरम, महन्थ ठाकुर नेतृत्वको तमलोपा, राजेन्द्र महतो नेतृत्वको सदभावना, महेन्द्र यादव नेतृत्वको तराईमधेस सदभावना पार्टी, शरतसिंहले नेतृत्व गरेको राष्ट्रिय मधेस समाजवादी पार्टी, म राजकिशोरले नेतृत्व गरेको गणतान्त्रिक फोरम र अनिल झाजीले नेतृत्व गरेको नेपाल सदभावना पार्टी मधेसी मोर्चामा सहभागी छन् ।

संघीय गठबन्धनमा भने २७ वटा पार्टी छन् । गठबन्धन भनेको मोर्चाहहरुको गठबन्धन हो, जसमा चारवटा मोर्चा रहेका छन् । यसमा संयुक्त मधेसी पहिचानमा आधारित संघीय मोर्चा, प्रादेशिक मोर्चा, पद्मरत्नजीको अर्को मोर्चा रहेका छन् । कुमार लिङदेनको संघीय लिम्बुवान पार्टी पनि गठबन्धनमा संलग्न छ ।

मधेसी मोर्चा र संघीय गठबन्धनमा किचलोचाँहि किन नि ? राजेन्द्र महतो र उपेन्द्र यादवको जुँगाको लडाइँले गर्दा हो कि ?

बैचारिक र नीतिगतरुपमा कुनै मतभेद छैन । गठबन्धनमा सीमान्तकृत जनसंख्याका लागि माग उठाइएको छ । हामीले यो किन बनाउन पर्‍यो भने, यहाँ मोर्चा कि गठबन्धन भन्ने विषय देखिएको छ । संयुक्त मधेसी मोर्चाले गठबन्धनको आवश्यकता पछि निर्णय गरेर बनाएको हो । मोर्चा पनि यसमा सहभागी छ ।

हामी लामो समयदेखि मधेस आन्दोलनमा छौं । विगत लामो समयदेखिको आन्दोलनलाई राज्यले इमान्दारितापूर्वक सम्बोधन गरेन । यो मधेसीको मात्र आन्दोलन हो र यो पहाडेविरुद्धको आन्दोलन हो भन्ने भ्रम छर्न राज्य सफल भयो । त्यसैले एउटा समुदायको मात्र साथ लिएर अगाडि बढ्दा समस्या भएपछि समान विषयसहित देशका विभिन्न स्थानमा छुट्टाछुट्टै लडाइँ लड्दै आएका शक्तिहरुसँग साझा गठबन्धन बनाएका हौं ।

तर, हिजो मधेसी मोर्चाले गरेको भन्दा धेरै कमजोर देखियो नि अहिलेको गठबन्धनको आन्दोलन ? किन यस्तो भयो ?

एक त मधेसको लामो समयको आन्दोलनलाई हामीले काठमाडौं ल्यायौं । हामी विखण्डनकारी होइनौं, हामीले कुनै समुदाय लक्षित आन्दोलन गरेको होइन, यो त राज्यविरुद्धको आन्दोलन हो भन्ने पुष्टि गर्न हामीले आन्दोलनलाई काठमाडौं सर्‍यौं ।

रुपमा यो आन्दोलन कमजोर भए पनि मागहरु पूरा नभए फेरि आन्दोलन उठ्छ । वर्षायामले आन्दोलनलाई प्रभाव पारेको निश्चित हो ।

प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित हुने दिन सरकार र तपाईहरुवीच वार्ता भइरहेको थियो, तर समयमै सहमति पत्रमा हस्ताक्षर हुन सकेन नि, किन ?

तीन बुँदे भनेको प्रतिवद्धतापत्र मात्रै हो, यो कुनै सहमति होइन । साथीहरुमा भ्रम के थियो भने अहिले नै हाम्रा मागहरुलाई क्लियर गरेर जाने कि ? प्रचण्ड र शेरबहादुर देउवाजीले तपाईंहरुको सहयोगमा सरकार बन्यो, अब शब्दजालमा लाग्नेभन्दा पनि लाग्ने भन्दा पनि संविधान संशोधन गरेर अघि बढ्नतर्फ लागौं भन्नुभयो ।

प्रधानमन्त्रीको नोमिनेशन गर्ने समय सकिन लागेका कारण समय अभाव भयो । २०/२५ जना साथीभाइहरु बसेर छलफल गर्दा समय लागेको हो, विवाद भएको होइन ।

प्रचण्ड सरकारसँग भएको तीनबुँदे सहमति कार्यान्वयन होला त ?

यो प्रतिवद्धता पत्र मात्रै हो । उहाँहरुले के भन्नु्भयो भने समस्या समाधान गर्नतर्फ लागौं, यो तीन बुँदे, साँत बुँदेमा नअल्झिउँ । दुई दिनपछि त संशोधनमा होमवर्क गर्नुपर्छ तसर्थ समय खेर फाल्नुभन्दा पनि हामी संविधान संशोधनतर्फ नै लागौं । संविधानलाई पूर्ण बनाउन गठबन्धको माग सम्बोधन नगरी हुन सक्दैन, उहाँहरुले भन्नुभयो । मिडियामा आएजस्तो विवाद भएको होइन ।
Congress-Maoist-and-Madhesi-Morcha
प्रधानमन्त्रीले सपथ ग्रहण गरेलगत्तै तपाईहरुसँग वार्ता भएको थियो, त्यहाँ के छलफल भयो ?
प्रधानमन्त्रीजी ले सपथ गरेको भोलिपल्ट वार्ताका लागि बोलाइयो । हामीले त्यहाँ कुरा राख्दा, तीनबुँदा बारे छलफल भयो । पहिलो हामीले भोट हाल्ने काम भयो । दोस्रो नम्बरको बुँदा सरकारसँग सम्बन्धित काम छ अर्को भनेको संविधानसँग सम्बन्धित छ ।

सरकार इमान्दारितापूर्वक सहयोग गर्न तयार छ, तपाईंहरुले सहयोग गरिदिनुपर्‍यो । कसरी लागू गरिसदिदाँ तपाईंहरुको माग पूरा हुन्छ , उहाँहरुले भन्नुभयो । वार्तामा विगतको सरकारले घाइते मृतकका लागि दिने रकमबारे निर्णय गरेको भए पनि उदासीन भयो । कहाँ कहाँ कमजोरी भयो, उपचार खर्च बारे बाकीँ रहेको हामी गर्छौं भन्नुभयो । तसर्थ हामीलाई के भान भयो भने सरकार इमान्दारितापूर्वक लागेको छ ।

यसअघि मोर्चाले खातामा पैसा माग्यो भन्ने हल्ला फिँजाइयो, त्यो होइन । हामीले वीर अस्पतालमा मेडिकलमा लिएको औषधिको बक्यौता छ, त्यो पठाइदिन भन्यौं । तर, हामीले खातामा पैसा मागेको विषय आयो, त्यो पूर्णरुपमा गतल छ । त्यसले कसैको हित गर्दैन ।

तीनबुँदे अनुसार जाँचबुझ आयोग बनाउने विषय बाँकी नै छ । प्रधानमन्त्री र गृहमन्त्रीले त्यसमा २/३ दिन होमवर्क गर्न समय माग्नुभएको छ ।

सरकार र गठबन्धनवीच अब वार्ता टोली बन्छ कि ?

प्रधानमन्त्री प्रचण्डजीले त्यो दिन के भन्नुभयो भने ‘तपाईहरु पनि सरकार निर्माणमा भोट हालेका कारण वार्ता टोलीभन्दा पनि दुवै पक्षबाट केही विदहरुको ७/८ जनाको टीम बनाउँ र त्यहीअनुसार हामी समस्या समाधान समाधान गर्नतर्फ लागौं । सकारात्मक मनोविज्ञानतर्फ लागौं । यसैले वार्ता टोली भन्दा पनि कार्यदल बनाउने भन्ने कुरा भएको छ ।

तपाईहरु मधेसमा सीमांकनको समस्या समाधान हुनुपर्‍यो भन्नुहुन्छ ? तर तपाईहरुको ठोस माग के हो ? माग नै प्रष्ट छैन भन्ने आरोप छ नि ?

बाहिर चर्चा भएजस्तो छैन, यो कुरा क्लियर छ । हामीले यसअघि पनि ११ बुँदे बुझाएका छौं । हामीले यसअघि कांग्रेस एमालेसँग भएको सहमति कार्यान्वयनको माग गरेका छौं । अन्तरिम संविधानमा गरेको कबुलनामा कार्यान्वयन हुनुपर्छ । हामीले दुईवटा संविधानसभाको सन्तुलनलाई मिलाउँदै लग्यौं भने समस्या समाधान हुन्छ ।

हामीले भन्न खोजेका के हौं भने राज्यपुनसंरचना आयोगले पेश गरेको १० प्रदेशको खाकालाई कार्यान्वयन गर्‍यो भने त्यो मधेस र जनजातिले उठान गरेको माग पनि सम्बोधन हुन्छ । त्यो सँगै गैरभौगोलिक एउटा प्रदेश भनेका छौं । त्यो भयो भने सीमांकन र नामाङकनको विवाद मिल्छ ।

भनेपछि तपाईहरुको माग १० प्रदेश हो ? सात प्रदेशलाई नै यताउति गरेर मिल्न सकिन्न ?

हाम्रो तर्फबाट यही माग हुन्छ । ७ मा मिल्ने कुनै सम्भावना छैन । यही मान्ने भए यत्रो आन्दोलन किन हुन्थ्यो ? यो वस्तुपरक र वैज्ञानिक छैन ।

सात प्रदेशको संविधान बनिसकेको छ, अब १० प्रदेश भएन भने के गर्नुहुन्छ ?

हामीले देशको भविश्यलाई ध्यानमा राखेर फेरि पनि आन्दोलन र विद्रोह गर्नु नपरोस् भनेर सोच्न जरुरी छ ।

कहिलेकाँही परिस्थितिले आवश्यकताको जननी हुँदोरहेछ । हिजो कांग्रेस एमाले माओवादी मिलेर संविधान बनाएको हो । हिजो हामीलाई पेलेर जाने रणनीति बनाएका थिए । तर, एक वर्षमा अवस्था फेरिएको छ । सबैको ‘विन विन’ हुने गरी अगाडि बढ्न सकिन्छ । हामी योपटक नेपाली जनता जित्ने गरी के गर्न सक्छौं, त्यो गरेर जाने पक्षमा छौं । राम्रा विकल्पहरु आए छलफल गर्न सकिन्छ । तर, विज्ञहरुसँगको छलफलबाट के पाएका छौं भने हामीले राखेको प्रस्ताव सबैभन्दा उपयुक्त हो ।

प्रधानमन्त्री प्रचण्डले चैतमा चुनाव गर्ने भनेका छन् । मधेसी मोर्चा चुनावमा जान्छ ?

चैतमा त के, फागुनमा चुनाव भए पनि जान्छौं । तर त्यो चुनाव भ्रम छर्नेखालको हुन हुँदैन ।
चैतमा केको चुनाव ? उहाँहरु भनिरहनुभएको छ कि स्थानीय चुनाव । तर निर्वाचन आयोग सीमांकन र नामांकन नभएसम्म चुनाव सम्भव छैन भनिरहेको छ । हामी, नेपाली कांग्रेस, माओवादी नै आयोगको प्रतिवेदनको विपक्षमा छन्, कसरी हुन्छ चुनाव ?

चुनाव त गराउन सकिन्छ, चुनावको अनिवार्यता पनि छ । तर मुलभुत विषयहरु मिलाउनुपर्छ । स्थानीय भनेको प्रदेशअन्तर्गत हुने कुरा हो । तसर्थ प्रदेशहरुको संरचना पहिले टुंगो लगाउन आवश्यक छ । ‘बाबुको नामांकन नभई छोरा कसरी जन्मन्छ ?’

पहिले स्थानीय निकायको चुनाव गर्नु हुँदैन भन्न खोज्नुभएको हो ?

सीमांकन र नामबारेको विषय टुंग्याऊँ । त्यसपछि प्रतिनिधिसभाको चुनाव गरौं । त्यसपछि माथिल्लो सभा गठन हुन्छ । त्यसपछि प्रदेश को चुनाव गरौं । त्यसपछि स्थानीय निकाय गठन गर्न अधिकार दिउँ । एकसाथ चुनाव गरे पनि हुन्छ, हैन भने पनि ३ महिना वा ६ महिनाको अन्तरालमा गरे पनि हुन्छ ।

तपाईजस्ता सानो दलका नेताहरु थ्रेसहोल्डको पक्षमा कि विपक्षमा ?

हामीले जुन व्यवस्था गर्दैछौं, त्यसका लागि ग्रेसहोल्ड आवश्यक पनि छ । तर, त्यो कस्तो भने नेपाली समाजलाई सुहाउनेखालको हुन आवश्यक छ । हाम्रो सवालमा हामीले यी समस्या समाधान गरेर भोलिको चुनावलाई हेरेर शक्तिहरु ध्रवीकरण र एकता हुन सक्छ ।

तपाईको विचारमा मधेसकेन्द्रित दल र तिनका नेताहरुको कमजोरी के हो ?

कमजोरी थुप्रै छ । समग्रमा नेपालमा तराईका नागरिक पिछडिएको अवस्थामा छन् । त्यहाँको मनोविज्ञान र समाजको चेतना कमजोर छ । नेताहरु पनि त्यहीँको उत्पादन भएका कारण समस्या छ । समाज जस्तो छ, नेताहरु त्यस्तै छ । मधेसको परिपेक्ष्यमा मात्र होइन, देशमै त्यस्तो समस्या छ ।

अब एउटा नयाँढंगको नेतृत्व चाहिन्छ । जसले सबैलाई एकसूत्रमा बाँधेर अगाडि बढ्न सकोस् । त्यस्तो नेतृत्व आकाशबाट आउने होइन ।

मधेसको केशमा समस्या छ । नेतृत्वले लामो समय आन्दोलन गरेर स्थापित भएको अवस्था छैन । मधेसमा असन्तुष्टि थियो । मधेसको पूर्ण अवस्था हेर्ने हो भने कोही कांग्रेस, कोही कम्युनिष्ट आइडियोलोजिबाट आएका छन् । मधेसको आफ्नै आइडियोलोजीमा आएका शक्ति छैनन् ।

राजेन्द्र महतो त सदभावना पार्टी अर्थात मधेसी आइडियोलोजीबाटै आएका नेता हैनन् र ?

राजेन्द्र महतोजीहरु त्यही पार्टीबाट आएको त हो । तर, जुनरुपमा उहाँहरु बिचारबाट अगाडि बढ्नुपथ्र्यो, त्यो हुन सकेन । उहाँहरु संस्थागत हुन सक्नुभएन । टुटफुटले समस्या ल्यायो ।

Madhesi-morcha
मधेसमा अब नयाँ शक्तिको खाँचो छ भन्न खोज्नुभएको हो ?

नयाँ पुस्ताको नेतृत्व समयको मागमा हुन्छ । नेतृत्व भनेको प्रमाणित गरेर आउनुपर्छ । नेपालको राजनीति ध्रुवीकृत भएको अवस्थामा टिक्न गारो छ । विचारमा नयाँ ढंगले आउनुपर्छ ।

मधेसमा सिके राउतको भविश्यबारे के भन्नुहुन्छ ?

अतिवादको भविश्य छैन, चाहे त्यो मधेस होस् वा पहाडमा होस् । विकसित मुलुकमा जातीय र धार्मिक दंगा भएका छन् । तर, नेपालमा त्यो सम्भव छैन ।

जतिसुकै असन्तुष्टि भए पनि आपसमा मिलेर समस्या समाधानतर्फ लागेका छौं । त्यसैले अतिवादको गुञ्जायस छैन । असन्तुष्टि छ, त्यसलाई पक्रन खोजिएको छ । त्यो सम्भव छैन । नेपाल र मधेसको टुक्राको पक्षमा मधेसी जनता किमार्थ छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment