Comments Add Comment

प्रधानमन्त्रीसँग उपराष्ट्रपतिको मागः आवाससहितको भवन चाहियो !

Prachand-and-Pasang

६ भदौ, काठमाडौं । नेपालको संविधानले कुनै कार्यकारी जिम्मेवारी नदिए पनि उपराष्ट्रपति पदको परिकल्पना गरेको छ । र, सो पदमा आसीन छन्- नन्दबहादुर पुन (पासाङ) । उपराष्ट्रपति कार्यालय निर्वाचन आयोगको भवन अर्थात बहादुर भवनको एउटा पाटोबाट सञ्चालन हुँदै आएको छ ।

सोमबार दिउँसो प्रधानमन्त्री प्रचण्ड स्थानीय विकासमन्त्री हितराज पाण्डेलाई समेत लिएर बहादुर भवनमा पुगे । उनी त्यहाँ जानुको कारण थियो, निर्वाचन आयोगसँग महत्वपूर्ण विषयमा छलफल गर्ने ।

[sam_list]

निर्वाचन आयोग रहेकै भवनमा उपराष्ट्रपति पुन पनि थिए । यद्यपि उनी निर्वाचन आयोगको छलफलमा सहभागी हुने कुरै भएन । उपराष्ट्रपति पुनको काम भनेकै कार्यालयमा दिन कटाउनु मात्रै हो ।

यसैक्रममा आफ्नै पार्टीका पूर्वनेता भएकाले पनि हुनुपर्छ, प्रधानमन्त्री प्रचण्ड मन्त्री पाण्डेलाई लिएर उपराष्ट्रपतिको कार्यकक्षमा प्रवेश गरे ।

आफ्नै कार्यकक्षमा आइपुगेका प्रधानमन्त्रीलाई उपराष्ट्रपतिले एकैछिन राष्ट्रिय राजनीतिका बारेमा चासो राखे । र, एकैछिनपछि कुरा सुरु भयो आफ्नै समस्या र सुविधाको ।

भेटमा उपराष्ट्रपति पुनले उपराष्ट्रपतिको कार्यालय र आवासको बारेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । निर्वाचन आयोगको एउटा कुनामा बस्नुपर्दाको असन्तुष्टि पुनले प्रधानमन्त्रीसमक्ष राखे ।

उपराष्ट्रपति पुनले संविधानको प्रावधान अनुसार उपराष्ट्रपतिको व्यवस्था भए पनि हालसम्म उपराष्ट्रपति कार्यालयको आफ्नै भवन नभएको भन्दै दु:खमनाऊ गरे । उनले उपराष्ट्रपतिको कार्यालय र आवास एउटै स्थानमा हुने गरी उपराष्ट्रपति भवनका लागि स्थान तोकिदिन प्रधानमन्त्री प्रचण्डसँग माग गरे ।

प्रधानमन्त्री प्रचण्डले उपराष्ट्रपतिको कार्यालय र निवाससहितको भवनका लागि आफू गम्भीर भएको बताउँदैै मन्त्रिपरिषदले पूर्णता पाउनासाथ निर्णय लिने आश्वासन दिएको स्रोतले बतायो ।

नेपालमा भूकम्प गएपछि भीआइपीहरुको कार्यालय र आवासमा निकै ठूलो समस्या पर्दै आएको छ । सरकारले राष्ट्रपति भवन, सरकारको मुख्य प्रशासनिक निकाय सिंहदरबार सर्वोच्च अदालतलगायतका भवनहरु बनाउन सकेको छैन । व्यवस्थापिका संसदसमेत चीनले सांस्कृतिक समारोह र सम्मेलनहरु गर्नका लागि बनाइदिएको बानेश्वरको सम्मेलन केन्द्रमा सञ्चालन हुँदै आएको छ । यस्तो अवस्थामा सरकारले छुट्टै ‘उपराष्ट्रपति भवन’को व्यवस्था गर्न त्यति सजिलोचाँहि छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment