Comments Add Comment

एलडीओ सरुवामा माओवादीभित्र आर्थिक चलखेल

सल्लाहकार नै नभएका सापकोटा सरुवामा सक्रिय

 

Madhav-Sapkota

१४ असोज, काठमाडौ । कर्मचारी सरुवा-बढुवामा घुस लेनदेन गर्ने काममा माओवादीका कार्यकर्ताले विजयकुमार गच्छदारलाई समेत उछिन्ने रणनीति लिएका छन् । यसैक्रममा स्थानीय विकास अधिकारी (एलडीओ) सरुवाका क्रममा मन्त्रीका सल्लाहकारबाट आर्थिक लेनदेनको प्रस्ताव आएको भन्दै स्थानीय विकास मन्त्री हितराज पाण्डेसमक्ष उजुरी परेको छ ।

स्थानीय विकास मन्त्रालयका सल्लाहकार माधव सापकोटा (सुबोध) ले एलडीओ बन्न चाहने र साविककै कार्यालयमा स्थानीय अधिकारी भएर बस्ने कर्मचारीहरुलाई फोन र एसएमएस गरी पदको मूल्य तोकेको भन्दै मन्त्रीसमक्ष उजूरी परेको हो ।

उजुरी आएलगत्तै मन्त्री पाण्डेले सापकोटालाई मन्त्रालयमा नआउन निर्देशन दिएका छन् । तर, सापकोटा आफू मन्त्री पाण्डेको सल्लाहकार भएको भन्दै मन्त्रालयमा धाइरहेका छन् ।

सापकोटाले पूर्वसहायक मन्त्रीको कार्य कक्षमा बसेर सरुवा हुने स्थानीय विकास अधिकारीको सरुवा सूची बनाएको भन्दै स्थानीय विकास मन्त्रालयका अधिकारीहरुले उनको आलोचना गरेका छन् । मन्त्रालय स्रोतका अनुसार आजै एलडीओहरुको सरुवा हुँदैछ ।

सरुवा हुने स्थानीय विकास अधिकारीको सूची बनाउने काममा सापकोटा आफैँ लागिपरेको मन्त्रालयका कर्मचारीहरुको गुनासो छ । सापकोटाले आर्थिक लेनदेनलाई प्रश्रय दिने गरी सूची बनाएको उजुरी आएपछि गत हप्ता मन्त्री पाण्डेले सापकोटाले तयार गरेको सूची अस्वीकृत गरिदिएका थिए ।

तर, नाम नभन्ने शर्तमा एक सहसचिवले अनलाइनखबरसँग भने- ‘तर, माओवादी केन्द्रकै एकजना ठूला नेताको फोन आएपछि सापकोटाले बनाएको त्यो सूची स्वीकृत भएको छ ।’

ती सहसचिवले अघि भने, ‘मन्त्री पाण्डेको सल्लाहकारमा सापकोटाको नियुक्ति नै भएको छैन, तर उनी सल्लाहकारको बोर्ड राखेर पूर्वसहायक मन्त्रीको कोठामा बसेका छन् र एलडीओ सरुवाको सूची बनाइरहेका छन् ।’

सापकोटाले डोलीडारमा प्रयोग हुँदै आएको बा २ ख ११८४ नम्बरको सरकारी गाडीसमेत प्रयोग गरिरहेका छन् ।

बैधानिकरुपमा कुनै नियुक्ति नपाए पनि बोर्ड नै राखेर मन्त्रालयमा बस्दै आएका सापकोटाले स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जबेगुलाई समेत नटेरी पूर्वका जिल्लाका एलडीओहरुको सरुवामा समेत चलखेल गरेको मन्त्रालयका एक कर्मचारीले बताए ।

madhav-sapkota-with-Prachan

सापकोटा भन्छन्, मेरो नियुक्ति क्याबिनेटमा अड्किएको छ

यसैवीच एलडीओ सरुवामा चलखेलको आरोप लागेका माधव सापकोटाले आफ्नो नियुक्ति क्याबिनेटमा अड्किएको बताए । ‘मुख्यसचिव अमेरिका गएकाले मेरो नियुक्ति क्याबिनेटमा अड्केको छ,’ सापकोटाले अनलाइनखबरसँग भने, म अहिले स्थानीय विकासमन्त्रीसँग छु ।’

तपाईले स्थानीय विकास अधिकारी सरुवामा पैसा मागेको हो भन्ने प्रश्नमा सापकोटाले शुरुमा कर्मचारी सरुवामा कुनै संलग्नता छैन र मन्त्रालयका नीतिगत विषयमा मन्त्रीज्यूलाई राय सुझाव दिने काम गरिरहेको छु भन्ने जावफ दिए ।

तर त्यसअघि मन्त्री हितराज पाण्डेका स्वकीय सचिव जगननाथ खनालले भने सचिवालयको तर्फबाट कर्मचारी सरुवाको काममा माधव सापकोटा रहेको बताए ।

अनलाइनखबरसँग कुरा गर्दै सापकोटाले भने, ‘मन्त्रीज्यूले स्वकीय सचिवका रुपमा काम गरिदिनुपर्‍यो भन्नुभएको हो तर मैले मानिनँ, उहाँले नै उसो भए सल्लाहकार भएर काम गरिदिनु पर्‍यो भनेपछि काम गरेको हुँ, मेरो इच्छाले म यहाँ आएको होइन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment