Comments Add Comment

प्रधानमन्त्रीको वयानः मेरो छाती फुलेको छ, तर पत्रकारसँग चित्त दुःखेको छ

prachanda-returns-2

१ कात्तिक, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको टोली भारतको गोवाबाट सोमबार स्वदेश फर्किएको छ । विमानस्थलमा उत्रेपछि शुरुमा लिखित प्रेस नोट पढेका प्रधानमन्त्री प्रचण्डलाई पत्रकारले सोधे- सी जिनपिङ, मोदी र तपाईवीच भएको भनिएको त्रिपक्षीय वार्ताको वास्तविकता के हो ?

जवाफ दिने क्रममा प्रधानमन्त्रीले गोवामा के-के भयो भन्नेबारे लामो बेलीविस्तार लगाए । प्रधानमन्त्रीले भएजति कुराहरु मनमा नराखिकन हुबहु सुनाए । उनको भनाइको सार थियो- त्यहाँ ढुंगो खोज्दा देउवा मिलेजस्तो भयो । गर्वले मेरो छाती फुलेको छ । तर, नेपालका पत्रकार साथीहरुसँग मेरो चित्त दुखेको छ ।

प्रधानमन्त्रीको वयान उनकै शब्दमा-

भएको कुरा मैले प्रेसनोटमा तपाईहरुका अगाडि राखि नै सकें । भएको कुरा के हो भने चिनियाँ राष्ट्रपतिसँग औपचारिक वार्ता सकिएर हामी आफ्नो बस्ने होटेलमा फर्किने क्रममा केही प्राविधिक कारणले, भनेको अरु बि्रक्स राष्ट्रपतिहरु त्यही बाटोबाट आउनुपर्ने भएको हुनाले केही समय हामीले चिनियाँ राष्ट्रपतिसँग औपचारिक वार्ता भएकै ठाउँमा, प्रतिक्षा गर्ने हलमा बस्नुपर्ने भयो ।

हामी त्यहीँ बसिराखेका थियौं । परराष्ट्रमन्त्रीजी लगायत अरुचाहिँ अर्को कोठामा, मचाहिँ प्रधानमन्त्रीको हैसियतले त्यो विशेष कार्यकक्ष थियो, त्यहाँ बसिराखेका बेलामा अचानक, मेरा लागि त अचानकै भयो, चीनका राष्ट्रपति मै भएको ठाउँमा आउनुभयो ।

मलाई समय मिलाएर वान टु वान कुरा गर्न इच्छा त थियो चीनका राष्ट्रपतिसँग पनि र भारतका प्रधानमन्त्रीसँग पनि । तर, अब त्यहाँ त ढुंगो खोज्दा देउता मिलेको जस्तो भयो ।

म बसिराखेको ठाउँमा चीनका राष्ट्रपति आएपछि सीधै हट टु हट कुरा भयो । सीधासीधा उहाँ नेपाल आउनुपर्छ भन्नेबारेमा, हिजो भएका सहमति सम्झौता कार्यान्वयन गर्नेबारेमा, नेपालको विकासको आवश्यकता बारेमा, शान्ति प्रक्रिया टुंग्याउने, संविधान टुंग्याउने जस्ता विषयमा २० मीनेटजति मेरो उहाँसँग खुल्ला खुल्ला, अनौपचारिक ।

त्यो कुनै योजनावद्ध होइन । तर, यस्तो राम्रो अवसर जुट्यो कि नेपालको हितमा उहाँसँग सीधा-सीधा कुरा गर्ने अवसर भयो त्यो ।

अनि त्यही वीचमा फेरि भारतीय प्रधानमन्त्री पनि त्यहीँ आइपुग्नुभयो । अनि उहाँहरुका बि्रक्सका सबै राष्ट्रप्रमुखहरु, सरकार प्रमुख त्यहाँ जुट्ने कार्यक्रम थियो । उहाँहरुको बेलुका । तर, बाटोमा आउन कोहीको प्लेन डिले भएको, कोहीको बाटोमा अप्ठ्यारो भएको कारणले ढीलो भयो ।

अनि प्रधानमन्त्री मोदीजी आइसकेपछि हामी अब तीनजना भइयो । त्यो पनि मेरा लागि त ठूलो अवसर भयो, नेपालका लागि । त्यो मेरो लागि होइन, वास्तवमा नेपाल राष्ट्र र नेपाली जनताका निम्ति एउटा यस्तो सुखद संयोग हुन पुग्यो त्यो ।

अनि फेरि वाइ द वे कस्तो मिल्यो भने प्रधानमन्त्री मोदीजी चाँहि यतापट्टकिो साइडमा, दक्षिणतिर । राष्ट्रपति सी जिनपिङ चाँहि उत्तर साइडतिर । म वीचमा भएँ । अनि ठ्याक्कै मैले त्यहीँ भनिहालें, दुईटा विशाल छिमेकीको वीचमा म, भन्नेबाटै मैले कुरा शुरु गरेको थिएँ । निकै राम्रो खुशीयालीको माहौल थियो त्यहाँ । दुबैजना राष्ट्रपति पनि, प्रधानमन्त्री पनि हाँस्नुभयो ।

अनि मैले त्यहीबेलामा भनें कि मैले त त्रिदेशीय साझेदारीको महत्वबारे राख्दै आएको छु । आज यस्तो राम्रो अवसर मिल्यो । चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्रीसँगै मैले आफ्ना कुरा राख्ने अवसर पाएँ । यद्यपि नेपाल सानो छ । अब आर्थिक दृष्टिकोणले पछाडि परेको पनि छ । तर, पनि भारत, चीन र नेपालको वीचमा त्रिदेशीय साझेदारी भयो भने तपाईहरुले गर्दै गरेको आर्थिक विकासबाट हामीले फाइदा उठाउन चाहन्छौं भनेर मैले राखें ।

राखेपछि दुबैजना नेताले निकै सकारात्मक माहौलमा तपाई सानो देश भनेर त्यो सोच्नपर्दैन, तपाईहरुले धेरै ठूलो काम गर्नुभएको छ । र, सानो र ठूलोको कुरा होइन, यो जो धारणा तपाईले प्रस्तुत गर्नुभएको छ, यो महत्वपूर्ण छ भन्नुभयो । तर, त्यहाँ समझदारी भयो भन्ने त कुरा होइन नि । त्यहाँ सहमति गर्न बसेको पनि होइन । सहमति त्यस्तो होइन । त्यसमा समझदारी, सकारात्मक एउटा धारणा व्यक्त भयो ।

अनि त्यही बेलामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजीले के भन्नुभयो भने मेरो गाउँ गुजरातको गाउँमा पहिले चिनियाँ फिलोसोफर हाङ सु फुङ भ्रमण गर्दै जाँदा गुजरात पुगेको र भारतीय प्रधानमन्त्रीकै गाउँमा पुगेको । र त्यहाँ आफ्ना अनुभवहरु बताएको । अनि त्यो जाने मानिसचाहिँ, जो दार्शनिक हो, त्योचाँहि फेरि राष्ट्रपति सी जिनपिङको गाउँको भएको । बडो विचित्रको संयोग रैछ क्या यो । यो ऐतिहासिक संयोग मोदीजीले सुनाउनुभयो ।

अनि राष्ट्रपति सी जिनपिङले चाहिँ हाम्रो गाउँमा त्यो भारतको गुजरातमा गएर त्यतिबेला फिलोसोफरले गरेका कुराको रेकर्ड नै छ, लिखित दस्ताबेज नै छ भन्नुभो । र, यसरी सम्बन्ध हाम्रो धेरै ऐतिहासिक छ, भारत र नेपाल, चीनको भन्ने प्रशंग आउँदै गयो ।

र, त्यहीबेला पारेर मैले चाहिँ भनें, वुद्धले चीनलाई पनि, भारतलाई र नेपाललाई राम्रोसँग बुद्धिज्मले र बुद्धले जोडेको छ, त्यसैगरी जानकी या पशुपति यी यस्ताचाँहि धार्मिक ऊहरुले पनि हामीलाई जोडेका छन् भने त आधुनिक युगमा त विज्ञान प्रविधिले जोडेको छ । निकै सकारात्मक कुरा भयो ।

नेपालमा अहिले भइराखेको राजनीतिक प्रक्रिया, शान्ति प्रक्रिया, संविधान कार्यान्वयनको प्रक्रिया सबैमा हाम्रो फूल सपोर्ट हुन्छ भन्ने दुबैजना नेताहरुले मलाई, वीचमा बसेको छु म, असाध्यै राम्रो वातावरणमा भनेकोमा नेपालमा, नेपाली हामी सबै नेपालीको निम्ति यो त निकै ठूलो खुशीको र गौरबको कुरा हो ।

मैले त सोचेको थिएँ, यसरी नै नेपालमा अब यो त ठूलो कुरो प्राप्त भयो । कहिलेकाँही संयोगले साह्रै ठू्रला उपलब्धि पनि हुन्छन् । कहिले काहिँ संयोगले दुर्घटना पनि हुन्छ । यो चाहिँ यस्तो संयोग भयो, जो दुर्लभै पाउने कुरा हो । यसलाई मैले नेपाल राष्ट्र र नेपाली जनताको पक्षमा अधिकतमसदुपयोग गरेकोमा गर्वले मेरो छाती फुलेको छ वास्तवमा अहिले पनि ।

तर, यहाँचाहिँ मिडियामा त फेरि विचित्र विचित्रका टिप्पणी आए भन्ने आज बिहानबाट सुने मैले । बडो नमीठो लाग्या छ । कतिपय पत्रिकाले चाँहि अझ कति पनि भनेको पाइयो चैं भने अब मैले चैं चीनका राष्ट्रपतिलाई भेट्न पाँच मीनेट ढीलो गरी गैदिएँ भन्ने कुरालाई न्युज बनाएको देख्दा त मेरो चाहिँ मन नराम्रोसँग दुखेको छ । तपाई पत्रकार साथीहरुसँग यो के भयो नेपाल भन्ने मलाई चिन्ता लागेको छ ।

मचाहिँ एकघण्टा अघि, परराष्ट्र मन्त्री यहीँ हुनुहन्छ, हामी एक घण्टा अगाडि पर्खेर बसेका छौं, चिनियाँ राष्ट्रपतिलाई । किनभने धेरै कारणले, त्यत्रो बाहिरबाट आउनुपर्ने समयको चाप, हैन ? उता अफि्रकाको राष्ट्रपति आउनै ढीलो भयो । प्लेन नै ढीलो भयो । यस्ता यस्ता कारणले समय त्यहाँ भने अनुसार भएको थिएन । हामी ६ः१० मा राष्ट्रपतिसँग कुरा गर्ने भनेर गएर बसेका छौं, तर ७ः१० सम्म त्यहाँ वातावरण मिलेन ।

किनभने राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री मोदीजीको कुराकानी नै ढीलो सुरु भयो । र, हामी पर्खेर बसेका छौं । हाम्रै यहाँको स्थापित पत्रिकाले प्रधानमन्त्री दाहालले सी जिनपिङलाई पाँच मीनेट कुराए भनेर लेख्दिने भनेको त, म त यो के भयो नेपाल भन्ने पर्‍या छ पत्रकार साथीहरु ।

यस्तो यो नकारात्मक दिमाग हाम्रो भयो । र, यसरी नै चैं नकारात्मकै कुरा भन्नमा हामीलाई आनन्द आउने भयो भने देशलाई हामीले कहिले विकास गरम्ला ? मचाँहि ठानेको छु, योपटक नेपाल र नेपालीको शीर ठाडो हुने गरी मैले अन्तरराष्ट्रिय मञ्चहरुमा चाहिँ राम्रो भूमिका हाम्रो टीमले, हाम्रो प्रतिनिधि मण्डलले खेल्यो । मैले सकेको मेहनत गरें भन्ने मलाई लागिराखेको छ र हो पनि त्यै ।

तपाईहरुले देख्नु भो नि । सी जिनपिङ, प्रधानमन्त्री मोदी र म बसेर कुराकानी गरेको त चित्र पनि तपाईहरुले देख्नु भो । यसलाई पनि सकारात्मक भन्न नसक्ने त्रिदेशीय साझेदारीको कुरा, शान्ति संविधानको कुरा, नेपालले गर्दै गरेको र सहयोग दुबै देशको चाहियो भनेर एकै ठाउँमा राखेर भनेको कुरालाई गर्व गर्न नसक्ने नेपाली हामी कसरी प्रगति गरौंला भन्ने मलाई चिन्ता लागेको छ र मैले अस्ति त्यो सुनेदेखि नै यहाँ तपाईहरुसँग म अलिकति त भन्छु भन्ने ठानेको हुनाले यति कुरा भनें ।

हामीले चाहिँ सकारात्मक कुरालाई सकारात्मक, नकारात्मकलाई नकारात्मक र कम्तिमा पनि यति त हामीले गर्न सक्नुपर्‍यो भन्ने मेरो अनुरोध छ ।

अन्तिमतिर प्रधानमन्त्रीलाई प्रश्न आयो- नेपालको संविधानलाई भारतले स्वागत गर्‍यो त ?

प्रधानमन्त्रीको छोटो जवाफ आयो-संविधानलाई त अब कार्यान्वयनलाई समर्थन भइसकेपछि संविधानलाई समर्थन भइ नै सक्यो । त्यहाँ केही समस्या छैनन् ।

द्वीपक्षीय वार्ताका क्रममा पनि प्रधानमन्त्री मोदीसँग हामीले हामी संविधानको कार्यान्वयनको प्रक्रियामा छौं भन्दा हाम्रो फूल सहयोग, तपाईहरुलाई शुभकामना भन्ने कुरा नै गरेको हुनाले योपटकको भ्रमणमा हामीले औपचारिक सम्मेलनमा हिजो जे विषय राख्यौं, बिमस्टेक र बि्रक्सको आउटरिच समिट जुन हो, त्यसमा पनि हामीले स्ट्रोङ्ली नेपालको पक्षमा नेपालको धारणा राखिएको छ ।

अन्तिममा प्रधानमन्त्रीले पत्रकारलाई सुझाव दिँदै पत्रकार सम्मेलन टुंगिएको घोषणा गरे र विमानस्थलबाट बालुवाटारतिर लागे ।पत्रकारलाई प्रधानमन्त्रीको सुझाव यस्तो थियो- ‘पत्रकार साथीहरु, त्यसमा (गोवा भ्रमणमा) हामी सबैले गर्व गर्नै पर्दछ । र, यसलाई आम नेपाली जनतालाई पनि यो सकारात्मक सन्देश हामीले दिनुपर्दछ । साह्रै नकारात्मक दिमाग नबनाऔं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment