१० कात्तिक, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले देशको नेतृत्व गरेको कतिपयलार्इ मन नपरेको बताएका छन् । उनले नेपाल, भारत र चीनबीचको सम्बन्ध निकै सकारात्मक दिशामा अगाडि बढेको दाबी गरे ।
बुधबार नेकपा माओवादी केन्द्र पर्वतको प्रतिनिधि मण्डलसँग भएको भेटमा प्रधानमन्त्री प्रचण्डले भने, उनीहरुलाई प्रचण्ड रहुञ्जेल हाम्रो भविष्य छैन भन्ने डर पनि होला । त्यसैले उनीहरु देशकै हितमा गरिएका काम र महत्वपूर्ण उपलब्धिहरुको पनि गलत प्रचार गरिरहेका छन् ।’
उनले अघि भने, मेरो नेतृत्वको सरकारले नेपाल, भारत र चीनबीच मैत्रीपूर्ण एवं नेपालको विकासका लागि डाइनामिक पुल बन्ने गरी सम्बन्ध सुदृढ गर्दैछ । यो कुरा सामान्य होइन, नेपालकै सन्दर्भमा युगान्तकारी र ऐतिहासिक उपलब्धि हो ।’
प्रधानमन्त्रीले सरकार निर्वाचनमार्फत् देशमा संविधान कार्यान्वयन गर्ने गृहकार्यमा लागिरहेको जानकारी दिए । उनले भने, ‘स्थानीय तह पूनर्संरचना आयोगले छिट्टै प्रतिवेदन दिँदैछ । हामी संविधान संशोधनको अन्तिम तयारीमा छौं । विवादहरु घटेका छन्, राजनीतिक समझदारीको वातावरण सकारात्मक बन्दैछ ।’
उनले अघि भने, संविधान संशोधनपछि सरकारले चुनावको मिति घोषणा गर्नेछ । संविधान कार्यान्वयनको दायित्वप्रति सरकार पूर्ण इमान्दार र क्रियाशील छ ।’
प्रधानमन्त्री प्रचण्डले पर्वत जिल्लाको विकास र स्थानीय समस्यालाई सरकारले ओझेलमा पर्न नदिने बताएको उनको निजी सचिवालयले जनाएको छ ।
प्रतिक्रिया 4