Comments Add Comment

भारतीय राष्ट्रपतिलाई तीन भाषामा अभिनन्दन पत्र

india-president-nep-visit-16

१७ कात्तिक, जनकपुरधाम । भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा शुक्रबार नागरिक अभिनन्दन गरिने भएको छ । जनकपुरधामवासीद्वारा राष्ट्रपति मुखर्जीलाई प्रदान गरिने नागरिक अभिनन्दन पत्र तीन भाषामा तयार गरिएको छ ।

नेपाली, अङ्ग्रेजी र मैथिली भाषामा अभिनन्दन पत्र तयार गरिएको अभिनन्दन समारोह समितिका संयोजक एवम् जनकपुर उपमहानगरपालिकाका प्रमुख पुन्यप्रसाद लुइँटेलले बताए ।

अभिनन्दन पत्रमा जनकपुर र अयोध्याको सम्बन्ध, जानकी र रामको वैवाहिक सम्बन्ध, मिथिला र अवधको सम्बन्ध, दुबै देशको भाषा र संस्कृतिलगायत नेपाल र भारतका सम्बन्धबारे वर्णन गरिएको छ ।

भारतीय राष्ट्रपति मुखर्जीको यही कात्तिक १९ गते जानकी मन्दिरमा पूजाअर्चना र तिरहुतिया गाछीमा नागरिक अभिनन्दनको कार्यक्रम रहेको छ ।

जानकी मन्दिरका सहायक महन्त रामरोशन दासका अनुसार भारतीय राष्ट्रपति मुखर्जीलाई जानकी मन्दिरमा वैद्धिक र मिथिलाको संस्कृति अनुसार स्वागत, जानकी मन्दिरमा विशेष पूजा, मन्दिर परिसरका अन्य विभिन्न मूर्तिको पूजा र जानकी मन्दिरको परिक्रमा गरिने कार्यक्रम रहेको छ ।

सोका लागि मन्दिरलाई फूलले सजाउने कार्य तीव्र रूपमा भइरहेका छन् । त्यस्तै राष्ट्रपति मुखर्जीको नागरिक अभिनन्दन हुने स्थल तिरहुतिया गाछीमा मञ्चको व्यवस्थापन र सजाउने कार्य पनि उच्चसुरक्षासहित भइरहेको छ ।

प्रमुख जिल्ला अधिकारी दिलीपकुमार चापागाईँले भारतीय राष्ट्रपति मुखर्जीको जनकपुरधाममा ५५ मिनेटको कार्यक्रम रहेको बताउँदै विमानस्थलमा उपप्रधान र गृहमन्त्री विमलेन्द्र निधिले स्वागत गर्ने कार्यक्रम रहेको जानकारी दिए ।

भारतीय राष्ट्रपति मुखर्जीको स्वागतका लागि जनकपुर विमानस्थलदेखि जानकी मन्दिर परिसर एवम् अभिनन्दनस्थल (तीन किलोमिटर) सम्म स्वागतद्वारको निर्माण गरिएको छ भने बिजुलीका पोलमा नेपाल र भारतका झन्डा र तुल राखिएको छ ।

मुखर्जीको स्वागतका लागि विमानस्थलदेखि अभिनन्दन स्थलसम्मका सडक, चोकलाई सफा र चिटिक्क बनाउने कार्य पनि तीव्र रूपमा भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment