Comments Add Comment

कांग्रेस नेता सिटौलालाई जनआन्दोलन स्वर्ण पदक

कांग्रेस नेता कृष्णप्रसाद सिटौला । तस्वीर: रासस
कांग्रेस नेता कृष्णप्रसाद सिटौला । तस्वीर: रासस

२४ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई जनआन्दोलन स्वर्ण पदकले सम्मान गरिएको छ ।

सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०२ औं जन्मजयन्तीको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा सिटौलालाई सम्मान गरिएको हो ।

गणेशमान सिंह तथा जनआन्दोलन सहिद स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेसका पूर्वमहामन्त्री एवम् संविधान मस्यौदा समितिका पूर्वसभापति सिटौलालाई जनआन्दोलन स्वर्ण पदक र प्रमाणपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिन् ।

१२ बुँदे शान्ति सम्झौतादेखि संविधान निर्माणसम्म महत्वपूर्ण भूमिका खेलेकाले सिटौलालाई सम्मान गरिएको प्रतिष्ठानले जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले २०४६ सालका जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको आदर्शबाट सबैले पाठ सिक्नुपर्ने बताइन् । राजकीय पद र प्रतिष्ठालाई अस्वीकार गर्दै लोकतन्त्रको स्थापना र सुदृढीकरणका निम्ति अनुकरणीय योगदान गर्ने गणेशमानको भूमिकाले नै नेपाली राजनीतिमा सहकार्यको व्यावहारिक थालनी भएको उनले बताइन् ।

कार्यक्रममा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले संविधानको प्रभावकारी कार्यान्वयनका लागि निरंकुशताविरुद्ध उभिएका राजनीतिक दलहरु संविधान कार्यान्वयनको क्रममा पनि एक ठाउँमा उभिनु जरुरी रहेको बताए ।

कार्यक्रममा सम्मानित नेता सिटौलाले संविधान कार्यान्वयन गरेर तीन तहको निर्वाचन गराएमामात्रै गणेशमानप्रति सच्चा श्रद्धाञ्जलि हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment