Comments Add Comment

प्रतिमा पाठकको कविता: प्रेममा डुबेका मान्छेहरु

यो धर्तीको कुना-कुनामा
प्रेममा डुबेका मान्छेहरु
कति होलान् कति….
तिमी जस्तै l

pratima-pathak
प्रतिमा पाठक

आशामा संघर्षरत प्रेमीले
घाम डुबेको देखेर
प्रेमलाई जून बनाइदिन्छ
जून डुबेको देखेर
तारा बनाइदिन्छ
आफू आकाश भइदिन्छ
अनि प्रेमलाई सारा बनाइदिन्छ l

 

 

सब बदलेर पनि
जब बदलिँदैन सम्बन्धको सत्य
र धड्किँदैन आफ्नो लागि कुनै धड्कन,
हृदयहरुलाई कठघरा बनाइदिन्छ l

साथी !
तिमी दु:खेको देखेर
मैले पनि सम्झिएँ
मेरो रित्तिएको आकाश
जून-तारा बनेर पोखिएको आँसु,
सङ्गीत चुँडिएको ढुकढुकीका तारहरु…
अनुत्तरित प्रश्नका काँडेतारहरु l

यो धर्तीको कुना-कुनामा
प्रेममा डुबेका मान्छेहरु
कति होलान् कति….
म जस्तै l

 

हाम्रो कहानीमा फरक यत्ति छ
तिमी बीउ रोप्दै छौ
म फल खाँदै छु,
यो सनातन पीडाको l

प्रेमको यातना शिविरमा साथी
एकाध कविताहरु घाइते भए
तर सत्यको मुक्ति पाएदेखि
म आजकल घाम डुबेको देखेर
घाममै डुब्छु
जूनलाई जून नै पाउँछु,
तारा खसेको देख्दा
माग्दिनँ उसलाई प्रार्थनामा
अब थाहा हुँदै छ
बल्ल भएको छ प्रेमको सुरुवात l
होलान् घाम, जून-ताराहरुमा
उसका पनि सपनाहरु
मैले उसकै लागि छोडिदिएको छु
स्वतन्त्र आकाश l
भाग्न छोडेको छु बादल जस्तो भ्रमको पछाडि
अडिएको छु भोगाइको पहाड भएर
उसका रहरहरुलाई सुम्सुम्याएर बगिदिन्छु
कहिल्यै नफर्कने नदी भएर l
बरु भिजाऊँ
उसका दु:खका बगरहरु
छोएर उसको मनको किनारा…
अरे साथी !
सुनिरहँदा तिम्रा प्रयासहरुका अधैर्य
टोलाएछु जाँदाजाँदै उसले दिएको प्रतीक्षामा
मैले त कहिल्यै पनि उसलाई
फर्कने बाटो सोधिनँ l
अहँ, हुँदै होइन यो मेरो असफलता
तिमी हारमा तड्पिए जस्तो l
प्रेमले त यसरी जित्दो रहेछ…
यसरी जित्दो रहेछ
कि प्रेम गर्छु म उसको प्रेमीलाई पनि l

तिम्रो यो कथा लेखिरहँदा
प्रेमको पुनर्लेखन गर्दै छु म l

 

यो धर्तीको कुना-कुनामा
प्रेममा डुबेका मान्छेहरु
कति होलान् कति….
हामी जस्तै ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment